भारतमा पाकिस्तानी विदेशमन्त्रीको टिप्पणीविरुद्ध देशव्यापी प्रदर्शन

Share to:

एजेन्सी,

विश्वमा भारतीय जनता पार्टी (भाजपा) ले पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टो जर्दारीले प्रधानमन्त्री नरेन्द्र मोदीबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै देशव्यापी विरोध प्रदर्शन गरेको छ । शनिबार बिहान महाराष्ट्रको मुम्बई र पुणेमा एकैसाथ सयौं भाजपा कार्यकर्ता र नेताहरू हातमा प्लेकार्ड लिएर प्रमुख स्थानमा भेला भएर पाकिस्तानका विदेशमन्त्रीले प्रधानमन्त्री मोदीविरूद्ध गरेको अपमानजनक टिप्पणीको विरोध गरे । उनीहरूले पाकिस्तान र पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनीहरु विरुद्ध नाराबाजीसमेत गरेका थिए । संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्युयोर्कमा आयोजित पत्रकार सम्मेलनमा पाकिस्तानी मन्त्रीले गरेको अपमानजनक टिप्पणीपछि भारतभर आक्रोश छाएको छ । भाजपाले बिलावल भुट्टोको टिप्पणीलाई अति अपमानजनक र कायरताले भरिएको भन्दै पाकिस्तानको ध्वस्त अर्थव्यवस्था, अराजकता तथा त्यहाँ व्याप्त अराजकताबाट विश्वव्यापी ध्यान अन्यत्र मोड्न गरिएको बताएको छ । भाजपाले एक वक्तव्य निकालेर पाकिस्तानी विदेशमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको प्रतिष्ठा घटाएको जनाएको छ । भाजपा राज्य अध्यक्ष चन्द्रशेखर बावनकुलेले पुणेमा विरोध प्रदर्शनको नेतृत्व गरे भने मुम्बईका विभिन्न भागमा एकत्र भएका सयौं भाजपा कार्यकर्ता र नेताले प्रदर्शन गरे। उनीहरूले पाकिस्तान सरकार र विदेशमन्त्रीको आलोचना गर्ने गीत पनि बजाएका थिए । बिलावल भुट्टो जरदारीले मोदीविरुद्ध गरेको अपमानजनक टिप्पणीले देशभर आक्रोश सृजना गरेको छ । भाजपाले देशभरका सबै राज्यको राजधानीहरूमा विरोध प्रदर्शन गरिरहेको छ । गत बुधबार सुरक्षा परिषदमा बोल्दै भारतका विदेशमन्त्री एस जयशङ्करले परिषद्मा कश्मीर मुद्दा उठाएकोमा पाकिस्तानको आलोचना गरेका थिए । भारतका विदेशमन्त्रीको अभिव्यक्तिप्रति असहमति जनाउँदै बिहीबार पाकिस्तानी विदेशमन्त्रीले प्रधानमन्त्री मोदीलाई ‘कसाई’ भनेर सम्बोधन गरे । “(म भारतलाई भन्न चाहन्छु) कि ओसामा बिन लादेन जीवित छैनन्, तर गुजरातको कसाई जीवित छ र उनी भारतको प्रधानमन्त्री हुन्,” भुट्टोले भने । उनले “उहाँ (पीएम मोदी) प्रधानमन्त्री नहुँदासम्म उहाँलाई यो देशमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो । यी हुन् आरएसएसका प्रधानमन्त्री र आरएसएसका विदेशमन्त्री । आरएसएस भनेको के हो ? आरएसएसले हिटलरको ‘एसएस’बाट प्रेरणा लिएको छ,” पाकिस्तानी विदेशमन्त्रीले भनेका छन् । अहिंसाका अभियन्ता महात्मा गान्धीका हत्यारालाई भारतले नायक बनाएको पनि उनले बताए । भारतका विदेशमन्त्रीले सन् २००१ को नोभेम्बर ११ मा अमेरिकामा भएको आतङ्कवादी हमलाका मुख्य योजनाकार ओसामा बिन लादेनलाई शरण दिएको, छिमेकी देशको संसद्मा पाकिस्तानले हमला गरेको पाकिस्तानलाई राष्ट्रसंघको शक्तिशाली अङ्ग सुरक्षा परिषदमा उपदेश दिने नैतिक अधिकार नभएको टिप्पणी गरेका थिए । पाकिस्तानका विदेशमन्त्रीले आफू स्वयम् आतङ्कवादको शिकार बनेको, आफ्नो देश पनि त्यसबाट प्रताडित रहेको बताउँदै पाकिस्तानले कहिल्यै पनि आतङ्कवाद प्रश्रय नदिएको दाबी गरेका थिए ।

Like