आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पार्टी र गठबन्धनका माओवादीका नेता निष्कासन
रासंसा/काठमाण्डौ, कार्तिक १२,
मुलुकमा नेकपा माओवादी केन्द्रले पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने नेताहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । शनिवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिपत्र जारी गर्दै पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने पाँच जना केन्द्रीय नेताहरूलाई पार्टीबाट निष्कासन गरेको जनाएका हुन् । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीसहितको गठबन्धनका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने पार्टी केन्द्रीय समिति तथा केन्द्रीय निकायका सदस्यहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको जानकारी गराइन्छ,’ परिपत्रमा भनिएको छ । यस्तै माओवादीले पार्टीका प्रदेश कमिटी सदस्यले गठबन्धनका उम्मेदावरविरुद्ध उम्मेदवारी दिएमा सम्बन्धित प्रदेश कमिटीले केन्द्रीय कमिटीमा सिफारिस गर्नुपर्ने जनाएको छ । यस्तै जिल्ला तथा स्थानीय स्तरका नेताहरुले पार्टी र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएको भए सम्बन्धित जिल्लाले कारबाही गनुपर्ने छ । यस्तै माओवादी केन्द्रले गठबन्धनका आधिकारीक उम्मेदवारलाई जिताउन निर्देशन दिएको छ ।