काठमाडौं–तराई–मधेस द्रुतमार्गकाे काम ‘ससपेन्ड’ गरेर गुणस्तर जाँच हुँदै

Share to:

रासंसा/काठमाण्डौ, ज्येष्ठ २६,

मुलुकमा नेपाली सेनाले काठमाडौं–तराई–मधेस द्रुतमार्गको सुरुङमार्ग र त्यससँग जोडिने पुलको निर्माणको काम रोकेर हालसम्म भएका कामको गुणस्तर जाँच गर्दै छ । सेनाले निर्माण कम्पनीहरूले गरेको कामको पुनारावलोकन र समीक्षा गर्न भन्दै द्रुत मार्गमा पर्ने सुरुङमार्गको दुवै प्याकेजको काम रोक्न गत साता निर्देशन दिएको थियो । ‘अहिले काम ससपेन्ड गरेर फिल्ड भिजिट भइरहेको छ, कुनै पनि प्रोजेक्टमा भइरहेको कामको रिभ्यु गर्ने प्रक्रियाअन्तर्गत भइरहेका कामलाई ससपेन्ड गरेर रिभ्यु गरिन्छ, यो त्यही प्रक्रिया हो, निर्माण कम्पनीलाई नै कामबाट हटाएको होइन,’ सैनिक प्रवक्ता सिलवालले भने । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवाललले निर्माणको जिम्मा पाएको कम्पनीलाई निलम्बन गरिएको नभई द्रुतमार्गमा भइरहेको कामको रिभ्यु गर्न निर्माण कम्पनीले गरिरहेको काम मात्रै रोकिएको जानकारी दिए । उनका अनुसार फिल्ड भिजिटका क्रममा हालसम्म भएका कामका सन्दर्भमा केही त्रुटि भएको पाइए तोकिएको मापदण्डअनुसार निर्माण कम्पनीलाई रिभ्यु गर्न लगाइनेछ । यस्तै, फिल्ड रिपोर्ट ठिक आए काम अघि बढ्नेछ । सुरुङमार्ग बनाउन दुईवटा प्याकेजमा ठेक्का भइसकेको छ । यी दुई प्याकेजको लागत नेपाली मूल्यअनुसार ४४ अर्ब रुपैयाँ छ । सो आयोजनामा काठमाडौंदेखि निजगढ जोड्ने सडकका लागि तीनवटा सुरुङ हुनेछन् । ‘अहिले हामीसँग भएका केही प्रश्नको जवाफ लिएर आउनुस् भनेर निर्माणकम्पनीसहितको टोलीलाई हामीले फिल्डमा पठाएका हौं, फिल्डमा गएको टोली फर्किएपछि परामर्शदाता कम्पनी (कन्सल्टेन्ट)ले दिएको सुझावअनुसार काम अघि बढ्छ,’ सैनिक प्रवक्ता सिलवालले अघि भने । यसैगरी, मकवानपुरकै महादेवडाँडामा अर्को ३ दशमलव ३३५ किलोमिटरको प्याकेजको काम १८ अर्ब ७८ करोड ७० लाख ६५ हजार ६ सय रुपैयाँमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पाएको छ । यी तीनवटा सुरुङ ६ दशमलव ४ सय १५ किलोमिटर लामो हुनेछ । द्रुत मार्गअन्तर्गत मकवानपुरको धेद्रेमा (सिम्पानीदेखि चालिसे खोल्सी १ दशमलव ६३० किमि) र लेनडाँडामा (घट्टेपाखादेखि बाँदरेखोल्सी १ दशमलव ४३० किमि) गरी दुईवटा सुरुङमार्ग र पुल निर्माण अघि बढेको छ । यो कामका लागि पोली च्याङ्दा कर्पोरेसनले २५ अर्ब ९ करोड ५९ लाख ७६ हजार ३ सय ३७ रुपैयाँमा ठेक्का पाएको थियो । निर्माण कार्य सुरु भएदेखि हालसम्म फास्ट ट्र्याकको भौतिक प्रगति १९ प्रतिशत भएको सेनाले जनाएको छ । आर्थिक वर्ष २०७३÷७४ बाट सुरु भएको सो आयोजनाको कुल अनुमानित लागत १ खर्ब ७५ अर्ब छ । २०८१ पुससम्म सो आयोजनाको काम सक्ने लक्ष्य सेनाको छ । ईपीसी मोडलको ठेक्काअनुसार द्रुत मार्गको काम अघि बढाइए पनि निर्माणको काम भने सुस्त छ । द्रुत मार्गको निर्माणको व्यवस्थापनको काम नेपाली सेनाले गर्दै आइरहेको छ । चार लेनको सो सडक बनेपछि निजगढबाट खोकनासम्म लगभग १ घण्टामा पुगिने अनुमान छ । सो सडक मार्गमा ८७ वटा पुल, प्यासेन्जर अन्डरपास १२, ओभरपास एक तथा सवारी अन्डरपास पाँच र ओभरपास चारवटा हुनेछन् ।

Like