यी हुन् आज अवरुद्ध भएका मुख्य राजमार्गहरू
रासंसा/काठमाण्डौ, श्रावण १५,
मुलुकमा अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू प्रभावित भएका छन्। आज शुक्रबार ८ बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार विभिन्न प्रदेशका एक दर्जनभन्दा बढी सडक खण्डमा आवागमन रोकिएको छ। केही राजमार्गहरू पूर्ण रूपमा ठप्प भएका छन् भने केहीमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। यसैगरी सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै कान्ति लोकपथअन्तर्गत नै मकवानपुरको हेटौंडा-ठिंगन-बागमती-ललितपुर खण्डमा अर्को सूचना नभएसम्मका लागि बेलुकी ५ बजेदेखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाइएको छ। काठमाडौँ उपत्यका र बागमती प्रदेशलाई जोड्ने कान्ति लोकपथ पहिरोका कारण नराम्ररी प्रभावित भएको छ। ललितपुरको बागमती गाउँपालिका-३ स्थित पांग्डुरमा साउन १४ गते साँझदेखि खसेको पहिरोले यो सडक ‘पूर्ण रूपमा अवरुद्ध’ भएको छ। उता बीपी राजमार्गअन्तर्गत काभ्रेको खुर्कोट-नेपालथोक-कटुञ्जेबेंसी खण्डमा पनि राति ६ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन निषेध गरिएको छ। दिउँसोको समयमा भने परिस्थितिको विचार गरी सवारी साधन चलाउन दिइएको छ। दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटरमा बाढीले लामासाँघु-रामेछाप राजमार्ग अवरुद्ध बनाएको छ। त्यहाँ खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक बाटो भने खुलाइएको छ। रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेमा बाढीका कारण त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड पूर्ण रूपमा बन्द अवस्थामा छ। बागमती प्रदेशकै अन्य मुख्य सडकहरू पनि बाढी र पहिरोको चपेटामा परेका छन्। अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित चारकिलो र कोदारीमा पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द छ। गण्डकी र कर्णाली प्रदेशमा पनि सडक सञ्जाल टुटेको छ। म्याग्दीको बेनी-जोमसोम सडक खण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको सुकेबगर र रघुगंगा गाउँपालिकाको बैसरीमा साउन १५ गते बिहान खसेको पहिरोले बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। बागलुङको जैमिनी नगरपालिकास्थित बेलबगरमा भने कालीगण्डकी करिडोर एकतर्फी रूपमा सञ्चालनमा आएको छ। कोशी प्रदेशमा मेची राजमार्ग र मध्यपहाडी लोकमार्ग प्रभावित भएका छन्। अविरल वर्षाका कारण इलाम नगरपालिका-९ राजदुवालीमा सडक पूर्ण रूपमा अवरुद्ध छ। झापादेखि ताप्लेजुङ जोड्ने यो सडक बन्द भए पनि अर्को वैकल्पिक बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ। कर्णाली प्रदेशतर्फ रुकुम पश्चिमको आठबीसकोटस्थित रिजेगार्ड खोलामा आएको बाढीले जाजरकोट-डोल्पा जोड्ने भेरी करिडोर पूर्ण रूपमा बन्द छ। कालिकोटको शुभकालिका गाउँपालिकास्थित गगने खोलामा साउन १५ गते बिहानै खसेको पहिरोले कर्णाली राजमार्ग ठप्प बनाएको छ। भोजपुर नगरपालिका-४ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग प्रभावित भए पनि हाल एकतर्फी रूपमा गाडी चलिरहेका छन् र त्यहाँ पनि अर्को वैकल्पिक बाटो उपलब्ध छ।
