शनि प्रदोष व्रत
शनि प्रदोष व्रत

डा. के. बि. सम्राट
ॐ नमः शिवाय।
“मानिसको वास्तविक सम्पत्ति धन होइन, असल चरित्र, सत्कर्म र सेवा भावना हो।”
सनातन वैदिक दर्शनले सिकाउँछ कि जीवनको उद्देश्य केवल भौतिक सुख प्राप्त गर्नु होइन, धर्म, ज्ञान, करुणा र सेवामार्फत समाज तथा राष्ट्रको कल्याण गर्नु पनि हो।
श्रीमद्भगवद्गीता (३.१९) मा भगवान् श्रीकृष्णले भन्नुभएको छ—
“तस्मादसक्तः सततं कार्यं कर्म समाचर।”
अर्थ: फलको आसक्ति त्यागेर आफ्नो कर्तव्य निरन्तर इमानदारीपूर्वक गर। यही कर्मयोग नै जीवनको उत्कृष्ट मार्ग हो।
• सत्यको मार्गमा अडिग रहनेछु।
• सबैप्रति सम्मान र करुणा राख्नेछु।
• समाज र राष्ट्रको हितमा सक्दो योगदान दिनेछु।
• आफ्नो समय, ज्ञान र क्षमताको सदुपयोग गर्नेछु।
भगवान् पशुपतिनाथ, माता अन्नपूर्णा तथा सम्पूर्ण देवी–देवताहरूको कृपा तपाईं र तपाईंको सम्पूर्ण परिवारमाथि सधैं रहिरहोस्।
भगवान् शिवको कृपा प्राप्त गर्ने परम पवित्र व्रत
ॐ नमः शिवाय।
त्रयोदशीलाई प्रदोष भनिन्छ । एकादशीमा विष्णुलाई स्मरण गरिन्छ भने प्रदोषमा शिवको स्मरण गरिन्छ । प्रदोष काल सूर्यास्त हुनुभन्दा ४५ मिनेट अगाडि सुरु हुन्छ र सूर्यास्तको ४५ मिनेटपछि समाप्त हुन्छ। प्रदोष कथा चन्द्रमाको क्षय हुने रोग अर्थात् चन्द्रमाको प्रभाव कम हुँदै जाने अवस्थामा भगवान् शिवले त्रयोदशीका दिन चन्द्रमाको रोग निवारण गरिदिनुभएको शास्त्रमा उल्लेख छ । यस कारणले हरेक महिनाको त्रयोदशीमा भगवान् शिवको स्मरण गर्दै प्रदोष व्रत लिइन्छ।
प्रदोष व्रत हिन्दू धर्मका अत्यन्त पवित्र व्रतहरूमध्ये एक हो। प्रत्येक महिनाको शुक्ल र कृष्ण पक्षको त्रयोदशी तिथिको साँझ पर्ने प्रदोषकालमा भगवान् शिवको विशेष पूजा–आराधना गरिन्छ। जब प्रदोष शनिबार पर्छ, त्यसलाई शनि प्रदोष व्रत भनिन्छ। यो दिन भगवान् शिव र शनिदेव दुवैको विशेष कृपा प्राप्त हुने विश्वास गरिन्छ।
शनि प्रदोषको आध्यात्मिक अर्थ
‘प्रदोष’ शब्दको अर्थ हो—दोषहरूको क्षय हुने समय। यो केवल बाह्य पूजा गर्ने दिन मात्र होइन, मनभित्रका काम, क्रोध, लोभ, मोह, मद र मात्सर्यजस्ता दोषहरू हटाउने अवसर पनि हो।
भगवान् शिव करुणा, क्षमा, त्याग र कल्याणका प्रतीक हुनुहुन्छ। शनिदेव न्याय, कर्मफल र अनुशासनका अधिष्ठाता देवता हुन्। त्यसैले शनि प्रदोषले हामीलाई भक्ति र कर्मको सन्तुलन सिकाउँछ।
पुराणहरूमा वर्णन भएअनुसार, प्रदोषकालमा भगवान् शिव कैलाशमा आनन्दताण्डव गर्नुहुन्छ र देवगण उहाँको स्तुति गर्छन्। यस समयमा श्रद्धापूर्वक शिवपूजा, रुद्राभिषेक, दीपदान तथा “ॐ नमः शिवाय” मन्त्रको जप गर्ने भक्तमाथि भगवान् शिव विशेष प्रसन्न हुनुहुन्छ।
शनि प्रदोषको व्रतले—
• पापकर्मको क्षय हुन मद्दत गर्छ।
• ग्रहजन्य कष्ट शान्त हुन्छ भन्ने धार्मिक विश्वास छ।
• मानसिक शान्ति, आत्मबल र धैर्य प्राप्त हुन्छ।
• परिवारमा सुख, समृद्धि र सद्भाव बढ्छ।
• शिवकृपाद्वारा आध्यात्मिक उन्नति हुन्छ।
धेरै मानिस शनिदेवसँग डराउँछन्। तर वास्तवमा शनिदेव दण्ड दिने देवता मात्र होइन, न्याय गर्ने देवता हुनुहुन्छ। जसले सत्य, परिश्रम, इमानदारी र धर्मको मार्ग अपनाउँछ, शनिदेवले उसलाई उन्नति र सम्मान प्रदान गर्नुहुन्छ।
शनिदेवले सिकाउनुहुन्छ—
• कर्म नै भाग्यको निर्माता हो।
• अन्याय, छल, भ्रष्टाचार र अहंकारबाट टाढा रहनुपर्छ।
• धैर्य, अनुशासन र सत्यनिष्ठा नै सफल जीवनका आधार हुन्।
शनि प्रदोषका दिन श्रद्धालुहरूले प्रातः स्नान गरी उपवास वा सात्त्विक आहार ग्रहण गर्छन्। साँझ प्रदोषकालमा शिवलिङ्गमा जल, दूध, दही, मह, घ्यू, गङ्गाजल, बेलपत्र, धतूरो, अक्षता र पुष्प अर्पण गरी पूजा गरिन्छ। “महामृत्युञ्जय मन्त्र”, “रुद्राष्टाध्यायी”, “शिव चालीसा” वा “शिवमहिम्न स्तोत्र” को पाठ गर्नु अत्यन्त शुभ मानिन्छ।
यस दिन गरीब, असहाय, वृद्ध तथा आवश्यकतामा रहेका व्यक्तिहरूलाई दान, सेवा र सहयोग गर्नु पनि शिवपूजाकै एक श्रेष्ठ स्वरूप हो।
यदि हामीले केवल मन्दिरमा पूजा गरेर बाहिर अन्याय, असत्य र अधर्मलाई अँगाल्यौँ भने त्यो पूजा अपूर्ण रहन्छ। भगवान् शिवलाई प्रसन्न पार्ने सबैभन्दा ठूलो साधना भनेको सत्य बोल्नु, इमानदार बन्नु, दयालु हुनु, सेवा गर्नु र आफ्नो कर्तव्य निष्ठापूर्वक पालन गर्नु हो।
आजको शनि प्रदोष व्रतमा हामी सबैले यस्तो संकल्प गरौँ—
“म सत्य, धर्म, सेवा, करुणा र सदाचारको मार्गमा हिँड्नेछु। भगवान् शिवको कृपाले आफ्नो मनका दोषहरू हटाई समाज र राष्ट्रको हितमा जीवन समर्पित गर्नेछु।”
हर हर महादेव!
ॐ नमः शिवाय।
ॐ तत्पुरुषाय विद्महे महादेवाय धीमहि तन्नो रुद्रः प्रचोदयात्!
शिव गायत्री मंत्र
शनि प्रदोष व्रत मन्त्र
शनि प्रदोष व्रत भगवान् शिव र शनिदेवलाई समर्पित एक पवित्र दिन हो। यस दिन शिवजी र शनिदेवको पूजा र मन्त्र जपले शुभ फल प्रदान गर्दछ।
शिवजीको प्रदोष व्रत मन्त्र
ॐ त्र्यंबकम् यजामहे सुगन्धिं पुष्टिवर्धनम्।
उर्वारुकमिव बन्धनान् मृत्योर्मुक्षीय मामृतात्॥
यो मन्त्र प्रदोष व्रतका बेला जप गर्न विशेष फलदायी मानिन्छ।
प्रदोष व्रतको पूजा आफ्नो नगरको सूर्यास्तको समय अनुसार प्रदोष कालमा गर्नुपर्छ।
प्रदोषको समयमा भगवान् शिवको पूजा नगरी भोजन नगर्नुहोस्। व्रत बस्दा खाना, नुन, खुर्सानी आदिको सेवन नगर्ने ।
पूजा थालीमा अबीर, चन्दन, कालो तिल, फूल, धतुरा, बिल्व पत्र, शमी पत्र, जनै, दीप, कपूर, अगरबत्ती र फलफूल राखेर पूजा गर्ने । अस्तु
