तनहुँका सामुदायिक विद्यालयका व्यवस्थापन समिति स्वतः पदमुक्त, नयाँ समिति गठनको निर्देशन

अन्जन राज न्यौपाने
गण्डकी प्रदेश तनहुँ दमौली
– शिक्षा विकास तथा समन्वय इकाइ, तनहुँले जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयका व्यवस्थापन समितिहरू स्वतः पदमुक्त भएको जानकारी गराएको छ। इकाइले नयाँ व्यवस्थापन समिति गठनका लागि सबै स्थानीय तह र सामुदायिक विद्यालयहरूलाई पत्राचार गर्दै निर्देशन दिएको हो।
इकाइले जारी गरेको पत्रमा पुराना समितिहरूको कार्यकाल समाप्त भएकाले नयाँ समिति गठन प्रक्रिया अघि बढाउन भनिएको छ। पत्रमा स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्रका विद्यालयहरूसँग समन्वय गरी शिक्षा ऐन र नियमावलीअनुसार पारदर्शी रूपमा नयाँ व्यवस्थापन समिति गठन गर्न आग्रह गरिएको छ।
यस निर्णयसँगै तनहुँका सयौं सामुदायिक विद्यालयहरूमा नयाँ व्यवस्थापन समिति चयनको प्रक्रिया सुरु हुने भएको छ। नयाँ समिति गठनपछि विद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनमा सुधार आउने अपेक्षा गरिएको छ।
शिक्षा विकास तथा समन्वय इकाइले तोकिएको समयसीमाभित्र प्रक्रिया पूरा गरी प्रतिवेदन पठाउन सबै विद्यालय र स्थानीय तहलाई अनुरोध गरेको छ।