आज पापमोचनी एकादशी व्रत, मीन संक्रान्ति, विश्व उपभोक्ता अधिकार दिवस मनाइदै
रासंसा/काठमाण्डौ, चैत्र ०१,
पापमोचनी एकादशी व्रत
चन्द्र मासमा दुई पक्षहरू हुन्छन् । हरेक पक्षमा एउटा एकादशी पर्छन् । यसरी कृष्णपक्ष र शुक्ल पक्षमा पर्ने एकादशीहरूमा सनातन भक्तजनले हरिको आराधना गर्छन् । श्रीहरिलाई जगतका पालन हार, सृष्टिका सर्जक अनि सिर्जनाका अवयवहरूका रूपमा सर्वव्यापी शक्तिका रूपमा बुझ्न सकिन्छ । चैत्र कृष्णपक्षको एकादशीको महत्त्व अलिक विशेष छ । यस एकादशीलाई पापमोचनी एकादशीका रूपमा चिनिन्छ । यो एकादशीको महत्त्व अधर्म चिर्नमा अनि पापबाट मुक्ति पाउन विशेष रहेको पाइन्छ । यो एकादशीमा व्रत बसेर हरिको आराधना गरेमा यो लोकमा अनि अर्को लोकमा पनि मुक्ति पाइने विश्वास गरिन्छ । यी सर्व शक्तिलाई धर्म या दर्शनभन्दा पर राखेर सृष्टिको साना–साना अवयवदेखि ठुला–ठुला खटन सम्मका तत्त्वका रूपमा चिन्न जरुरी रहन्छ । पृथ्वीमा जीवहरूको अस्तित्व अनि आत्मा तत्त्वको परमात्मा तत्त्वद्वारा संरक्षण यिनै हरि रुपी शक्तिले गरिएको मानिन्छ ।
गीताको ११ को ८, ३८, ४८, ५३ र ५५ मा विश्वरुपमा स्वरूपको व्याख्या गरिएको छ । दिव्य चक्षु अर्थात् दिव्य र ध्यान लीन नजरले यस स्वरूपको दर्शन गर्न सकिन्छ । श्रीकृष्णले देवकी मातालाई बालापनमा नै मुख खोलेर यसै स्वरूपको प्रतिबिम्बका रूपमा मुखभित्र रहेको सकल ब्रह्माण्डको नजर देखाएका थिए । त्यस बखत श्रीकृष्णले देवकी मातालाई आमा, म नै समग्र ब्रह्माण्ड हुँ भनेका थिए भन्ने विश्वास गरिन्छ । यसै विराट स्वरूपको पापमोचनी एकादशीमा विशेष अनुग्रह अनि आराधना गरिन्छ । पुराण लगायतका धार्मिक ग्रन्थहरूमा उल्लेख भए अनुसार, पापमोचनीको अर्थ पापबाट मोचन नष्ट गर्ने सामर्थ्य राखेको हुन्छ । हिन्दु धर्म अनुसार संसारमा उत्पन्न भएका कुनै यस्ता मानव भेटिँदैनन् कि उनीहरूले कुनै न कुनै पाप जानाजान वा अनजानमा गरेका नहुन् । तसर्थ सबैका लागि यस पापमोचनी एकादशी व्रतको महत्त्व र आवश्यकता बुझ्नु र बुझाउनु जरुरी देखिन्छ । चर्तुभुजमा शङ्ख, चक्र, गधा र कमलको पुष्प रहेको हुन्छ । शङ्खले ज्ञान, चक्रले बन्धन र स्वतन्त्रता, गधाले सामर्थ्य अनि कमलको पुष्पले सृष्टिको कारकलाई उद्घोष गर्छ । पापमोचनी एकादशीमा यिनै चतुर्भुज स्वरूपका श्रीहरिको कृपा र अनुग्रहको अपेक्षा गरिन्छ ।
ईश्वरीय विधान अनुसार, पापका कारण प्राप्त हुने दण्डबाट बच्न र बचाउन पापमोचिनी एकादशीको ठूलो महत्त्व रहेको हुन्छ । यसबारे महाभारत युद्धमा अर्जुनलाई श्रीकृष्ण भगवानले सम्झाउने क्रममा पापमोचिनी एकादशी व्रतको प्रसङ्ग उल्लेख गरिएको छ । कथा प्रसङ्ग अनुसार, राजा मान्धाताले लोमश नाम गरेका ऋषिसित मनुष्यले जानी नजानी गरेका पाप कर्महरूबाट कसरी मुक्त हुन सकिएला भनी प्रश्न राखेका थिए । त्यसको जवाफ दिने क्रममा पापमोचिनी एकादशी व्रतको महत्त्वबारे उल्लेख गर्नुभएको छ ।
कथा अनुसार चैत्र रथ वनमा च्यवन नाम गरेका ऋषि मुनी पुत्र मेधावी शिवको तपस्यामा लीन रहेका थिए । मेधावी ऋषि तपस्यामै रहेका बेला मञ्जुघोषा नाम गरेकी अप्सरा आकर्षित हुन पुगिन् । अप्सरा मोहित भएर मेधावी ऋषिलाई आकर्षित गर्ने प्रयत्न गर्न थालिन् । त्यही बाटो हुँदै कतै जाँदै गरेका कामदेव ऋषिको नजर त्यही बेला ती अप्सरा र मेधावी ऋषिमाथि पर्न गयो । कामदेवले पनि दुवैको मनोभावना बुझेर उनीहरूलाई मिलन निम्ति सहयोग गर्न थाले ।
कामदेवको प्रभावले मेधावी ऋषि कामपीडित हुन थाले । ती अप्सरा पनि ऋषिसँग झन्झन् नजिकै पर्न थालिन् । समय बित्दै जाँदा ऋषिलाई चेतना भयो कि उनी शिवको तपस्याबाट पहिल्यै विमुख भए । आफ्नो तपस्या भङ्ग गरिदिएको भन्दै ऋषि ती अप्सरासित क्रोधित बने र श्राप दिए, ‘तिमी पिशाचिनी बन्नू ।’
अप्सरा मेधावीका शरणमा परिन् । गल्तीको प्रायश्चित गर्दै श्रापबाट मुक्त गरिदिन अनुनय विनय गरिन् । फलस्वरूप मेधावी ऋषि आफैँले मञ्जुघोषालाई सम्झाई–बुझाई गरी चैत्र कृष्ण एकादशीको व्रत अर्थात् पापमोचनी एकादशीको व्रतको विधि सविस्तार बताइदिए ।
काम योग निमग्न भएर तेज लोप भइसकेका ऋषि आफैँ पनि पापमोचिनी एकादशीको व्रत बसे । व्रतको प्रभावले अप्सरा पिशाच योनीबाट मुक्त भइन् । उनी अझ सुन्दर भई स्वर्गतिर लागिन् । यसरी दुवैको पाप मोचन भएको कथा प्रसङ्ग अनुसार पापमोचिनी एकादशी व्रतको महत्त्व अझ पनि उत्तिकै छ ।
मीन संक्रान्ति
११ महिना बाँचेर आई सकियो
महिनाको प्रथम दिनलाई सङ्क्रान्तिका रूपमा मनाउने कुरा त हामी सबैलाई थाहा नै छ, आज पनि विभिन्न तीर्थस्थल अनि देवालय लगायत पवित्र नदी तलाउ आदिमा स्नान गरेर आउँदो महिना शुभ रहोस् भनी याचना गरिन्छ । विशुद्ध संस्कृत अर्थ हेर्ने हो भने सङ्क्रान्ति भन्नाले परिवर्तन या परिवर्तनकारी समय भन्ने जनाउँदछ, उपसर्ग र प्रत्यय विभाजन गरेर हेर्ने हो भने सम र क्रान्ती मिलेर यो सङ्क्रान्ति शब्द बनेको छ जसको अर्थ पवित्र या धार्मिक परिवर्तन हो । यस अर्थमा हरेक महिनालाई परिवर्तनको घोतकका रूपमा लिइन्छ र वर्षभरिका हरेक सङ्क्रान्ति मा परिवर्तन हुन्छ । महिना सँगै मौसम, पहिरन, सोच अनि आहार विहारमा पनि परिवर्तन आउने पक्का छ । यसपाला पनि क्रमशः परिवर्तन भयो, जाडो अब सकिन थाल्यो अनि न्यानो र गर्मीको प्रवेश भयो । चैतको हुरीमा बतासमा पातहरू उडी उडी आँगन अनि बलेँसीमा दगुर्छन्, त्यसै गरी यो महिनामा मन पनि चलबल हुन्छ । सग्लै एउटा वर्षका ११ महिना बाँचेर आई सकियो, सुक्ख दुक्ख त जीवनका पाटा न भए, साथ सहयोग, सद्भाव, विर्सना अनि तिर्सना सँगाल्दै हामी आज यो मीन सङ्क्रान्ति को सँघारमा आई पुग्यौ है ।
त्यसै कारणले त अब जाडोका लुगाहरूलाई धोई धाई गरेर थन्काउने दिन पनि आए त , कि कसो ?
आजको दिन सूर्य कुम्भ या त मेष राशिबाट मीन राशिमा प्रवेश गर्दछ । हरेक महिनाको सुरुवात सूर्यलाई पूजन गरेर मात्र गर्ने चलनले यो संसारमा सूर्यको महत्त्व माथि प्रकाश पार्दछ । आखिर यस ग्रहका सम्पूर्ण तत्त्वहरूका श्रोत सूर्य नै त हुन् । तसर्थ सूर्यबाट जीवनमा सकारात्मक प्रभाव अनि आशा सञ्चारका लागी आज सबै जनाले आशिष् अनि सद्भावको अपेक्षा राख्दछन् । चैतलाई मेला को महिनाका रूपमा पनि लिइन्छ, चैत वाट सुरु भएको मेला लाग्ने लहर वैशाख ज्येष्ठ हुँदै लगभग वर्षै भरि लाग्दछ । भर्खर काटिएका गहुँका खेतमा बाँकी गहुँका छ्वालीहरू माथि मेला लाग्दछन् । दिन दुखीलाई सहयोग अनि दान दक्षिणा गर्ने चलन पनि आज छ ।
विश्व उपभोक्ता अधिकार दिवस
आजभन्दा लगभग ६१ वर्ष अघि सन् १९६२ मार्च १५ का दिन तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले सुरक्षा, सूचना, छनोट र सुनुवाइलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरेका थिए। यसै एतिहासिक दिवसको सम्झनामा विश्वभर मार्च १५ तारिखमा यो दिवस मनाइन्छ। केनेडीले उपभोक्ताका अधिकारहरूलाई सम्बोधन नगर्दासम्म विश्वमा उपभोक्ताका हक र अधिकारका कुराहरू खासै थिएनन् र पछि यी चार अधिकारका आधारमा संयुक्त राष्ट्रसङ्घको साधारण सभाबाट सन् १९८५ मा थप आठ अधिकारसहितको अनुबन्ध पारित भएको हो। संयुक्त राष्ट्रसङ्घबाट पारित उपभोक्ता संरक्षण अनुबन्ध १९८५ र उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ६ बमोजिम वस्तु वा सेवा खरिद तथा उपभोग गर्ने प्रत्येक उपभोक्तालाई विभिन्न अधिकार प्रत्याभूति गरिएको छ। त्यसमा उपभोक्ताका आठ अधिकारमा सुरक्षा, सूचित, छनोट, सुनुवाइ, उपभोक्ता शिक्षा, क्षतिपूर्ति, आधारभूत आवश्यकतामा पहुँच र स्वच्छ तथा स्वस्थ वातावरणको अधिकार छन्।
सोही आधारमा प्रत्येक राष्ट्रले उपभोक्ता कानुन पनि जारी गरेका छन् । राष्ट्रहरूले कानुन जारी गरे पनि उपभोक्ता अधिकारका अन्तर्निहित आधारभूत चार सिद्धान्तमा हामी प्रत्येक उपभोक्ता आफैँ सचेत हुनुपर्दछ । उपभोक्तालाई सचेत र जागरूक गर्ने दायित्व सरकार तथा वस्तु वा सेवा उत्पादन, आयात, सञ्चय वा बिक्री गर्ने प्रदायकहरूको हो।वस्तु वा सेवाका उत्पादक, प्रदायक वा बिक्रेताहरू उपभोक्ताप्रति जिम्मेवार हुनुपर्दछ किनभने समस्त माग र पूर्तिको श्रृखला अनि बजार संयन्त्र नै उपभोक्ताको रुचि र क्रय शक्तिमा नै निर्भर रहन्छ । उपभोक्ता नभई बजार सञ्चालन नहुने हुँदा उपभोक्ता बजारका सार्वभौम हुन् । त्यसैले उपभोक्तालाई अधिकार निक्षेपण गरिनुपर्छ र बजारमा उपभोक्तालाई सम्मान गरिनुपर्छ भन्ने आजको दिनले पैरवी गर्दछ ।
उपभोक्ता जागरूकता र अधिकार सँगै जोडेर यस वर्ष वा विश्व समुदायले स्वच्छ ऊर्जाको पनि पैरवी गर्न थालेको छ । दीर्घकालीन विकास योजना सँग रणनीतिक रूपमा जोडेर उपभोक्ता अधिकार र स्वच्छ ऊर्जा ट्रान्जिसनहरू मार्फत उपभोक्ताहरूलाई सशक्त बनाउँदै लैजाने कदमप्रति समर्थन अनि शुभकामना ।