झडप नरोकिएपछि गौरमा कर्फ्यू आदेश जारी
रासंसा/रौतहट, फाल्गुण १०,
मुलुकमा रौतहटमा कर्फ्यू आदेश जारी गरिएको छ । दुई समुदायबीच भएको झडपका कारण गौर नगरपालिका–६ स्थित सनगढा गाउँमा कर्फ्यू आदेश जारी गरिएको हो । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै शनिबार दिउँसो १ बजेबाट कर्फ्यू आदेश जारी गरिएको जानकारी दिएको छ । मस्जिदमा प्राथना भइरहेको बेलामा हिन्दू समुदायले बाजा बजाएको भन्दै शुक्रबार बिहानैबाट रौतहटका गौर क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । अहिले पनि अवस्था असामान्य बन्दै गएपछि कर्फ्यू जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूसालका अनुसार पूर्वतर्फ मुडबलवा गेट, पश्चिमतर्फ लालबकैया बाँध, उत्तरतर्फ बम नहर, दक्षिणतर्फ गौर भन्सार कार्यालयमा कर्फ्यू जारी गरिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्यासका सेलहरू प्रहार गरिरहेको छ भने कर्फ्यू अवधिमा कुनै पनि व्यक्ति घरबाहिर निस्कन, भेला जुलुस गर्न, सभा प्रदर्शन गर्न तथा आवतजावत गर्न पूर्ण रूपमा निषेध गरिएको छ । झडपका क्रममा प्रदर्शनकारीहरुले केही सवारी साधनमा आगजनी र केहि घरमा तोडफोड गरेका छन् । अवस्था बिग्रन नदिन प्रशासनले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना परिचालन गरेको छ ।