महाशिवरात्रिमा पर्व २०८२ मा आठ लाखले दर्शनार्थिहरुले सहज रुपमा गरे दर्शन
रासंसा/काठमाण्डौ, फाल्गुण ४,
मुलुकमा महाशिवरात्रि २०८२ का पावन अवसरमा आइतबार लाममा बसेको छोटो समयमै पशुपतिनाथको दर्शन गर्न पाउँदा काठमाडौं चक्रपथकी शान्ति अधिकारी निकै खुसी देखिइन्। लाममा बसेको एक घण्टामै पशुपतिनाथ मन्दिरमा पुगरे दर्शन गर्न पाएको उनले बताइन्। उनको साथमा ७० वर्षकी आमा पनि थिइन्। उनले बर्सेनि महाशिवरात्रिका दिन आमालाई लिएर पशुपतिनाथको दर्शन गर्न आउने गरेको बताइन्। मन्दिर प्रांगणमा भिडभाड देखिए पनि स्वयंसेवक र सुरक्षाकर्मीले निकै संयमतापूर्वक व्यवस्थापन गरिरहेका थिए। पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशी, कोषाध्यक्ष श्रीधर सापकोटा, परिषद् सदस्य बाबुशरण सुवेदीलगायत मन्दिर परिसरमा पुगेर लाम व्यवस्थापन, स्वयंसेवक र प्रहरीले भक्तजनसँग गर्ने व्यवहार, साधुसन्तको व्यवस्थापनबारे अनुगमन र जानकारी लिइरहेका थिए। अघिल्लो वर्ष पशुपतिनाथको दर्शन गर्दा भोग्नुपरेको सास्तीले यस पटक पनि त्यस्तै हुने हो कि भन्ने चिन्ता उनलाई थियो। ‘यस पटक लाममा बसेको एक घण्टाभित्रै सहज दर्शन भयो,’ अधिकारीले नागरिकसँगको भेटमा भनिन्, ‘हामी भक्तजनहरू व्रत बसेका हुन्छौं। सक्दो छिटो दर्शनको आशा त हुन्छ नि। लाम पनि निकै व्यवस्थित रहेकाले छिटो भयो। यस पटक निकै सहज लाग्यो पशुपति दर्शन।’ ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मीले सहज रुपमा दर्शन गराइरहेका थिए। चावहिलकी सिन्दु गिरी पनि लाममा बसेको एक घण्टाभित्रै मन्दिर परिसरमा छिरिन्। ‘मन्दिरभित्र पनि निकै सहज रुपमा भगवान् पशुपतिनाथको दर्शन गर्न पाएँ,’ दर्शनपछि पछि उनले भनिन्, ‘मन्दिरभित्रको व्यवस्थापन पनि राम्रो लाग्यो। विगतमा भिडभाड हुँदा सास्ती खेप्नुपरेको थियो। यो पटक मज्जाले दर्शन गरे।’ कोषका कार्यकारि निर्देशक जोशीले कोषको अथक प्रयासले यस पटक पशुपतिनाथको दर्शन सहज बनेको दाबी गरे। यस पटक सबै मन्त्रीहरूले पशुपतिनाथ पुगेर दर्शन गरेका छन्। ‘राष्ट्रप्रमुखदेखि सबैमन्त्रीले यस पटक आराध्यदेव भगवान् पशुपतिनाथको दर्शन गर्नु भयो। मेला भर्न आएका भक्तजनले पनि शान्त र सहज रुपमा दर्शन गर्नु भएको छ’, मन्दिर प्रांणमा रहेका जोशीले भने, ‘यस पटक कोषले बिहान २ बजेदेखि नै दर्शनको व्यवस्था मिलाएको थियो। यसले पनि दिउँसोसम्म भिड कम भएको र दर्शन सहज बनेको हो। अनुमानित आठ लाख भक्तजनको उपस्थितिमा हर्षोल्लाससाथ शिवरात्रि सम्पन्न भएको छ। विगतका कमीकमजोरीबाट पाठ सिक्दै सुधार गर्दै जाने हो।’ टोखाकी सुरेखा खड्कालाई पनि विगतमा भन्दा सहज दर्शनले खुसी लागेको छ। साथै नागाबाबाहरूको गतिविधि पनि उनलाई सभ्य लाग्यो। ‘ओहो ! विगतमा त मन्दिरभित्र पनि नागाबाबाहरूले पैसा मागेर, कुचोले हानेर निकै हैरान पो बनाउँथे’, उनले नागरिकसँग भनिन्। ‘पछिलो समय देश नै परिवर्तन भएजस्तो पो लाग्दै छ। सबै व्यवस्थित हुँदै गएको महसुस भएको छ। आज शिवरात्रिमा पनि लाम बसेको एक घन्टामै मन्दिरभित्र प्रवेश पाएँ। दर्शन पनि सहज भयो। नागाबाबाहरू पनि यस पटक निकै सरल र सभ्य देखिए।’ साधुसन्तले पनि खाने, बस्ने, शौचालय र धुनीको राम्रो व्यवस्थापन भएकाले भन्दै कोष र गुठी संस्थानको प्रशंसा गरेका छन्। गुठी संस्थान कार्यालय प्रमुख सुशीला शर्माले बिहान २ बजेदेखि पशुपतिनाथको दर्शनका लागि ढोका खोलिएको बताइन्। उन भक्तजन र साधुसन्तको व्यवस्थापनमा पनि कुनै कमजोरी हुन नदिएको दाबी गरिन्। कोषले पशुपति मन्दिरवरिपरि बनाइदिएको सेल्फी प्लाइन्टमा भक्तजनले निकै रमाइलो मानेर तस्बिरहरू खिचिरहेका थिए। साधुसन्तहरूले भजनकीर्तन गरिरहेका थिए। केही साधु मोबाइल चलाइरहेको र केही धूमपान गरिरहेको अवस्थामा देखिए। सुरक्षा व्यवस्थापन पनि चुस्त देखियो। फुल तथा बिजुली बत्तीले सिंगारिएको पाशुपत क्षेत्र आकर्षक देखिन्थ्यो। यसैबिच नेपाली सेनाले पनि सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी महाशिवरात्रि एवं सेना दिवस मनाएको छ। महाशिवरात्रिका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी पूजाआराधना गरेकी छन्। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा र काठमाडौं महानगरपालिकाका कार्यबाहक नगर प्रमुख सुनिता डङ्गोलले पनि शिवरात्रि पर्वको दिन आज पशुपतिनाथको दर्शन तथा पूजाआराधना गरेका छन्।