१२ मतदानस्थल उपत्यकामा अति संवेदनशील
रासंसा/काठमाण्डौ, माघ १३,
मूलुकमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० हजार ९६७ मतदान स्थल निर्धारण गरिएको छ । सुरक्षाको दृष्टिकोणले मतदान स्थललाई तीन भागमा वर्गीकरण गरिएको छ । सुरक्षा चुनौती नभएको ठाउँको मतदान स्थललाई सामान्यमा वर्गीकरण गरिएको छ । देशभर दुई हजार ८४५ मतदान स्थललाई सामान्य श्रेणीमा राखिएको छ । काठमाडौं उपत्यकामा १२ वटा मतदान स्थललाई मात्रै अति संवेदनशील वर्गीकरण गरिएको छ । ललितपुरका १२ वटा मतदान स्थललाई अति संवेदनशील मतदानस्थल निर्धारण गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ‘काठमाडौं र भक्तपुरमा अति संवेदनशील मतदान स्थल छैन,’ उनले भने । जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा गृह मन्त्रालयले ४ हजार ४४२ मतदान स्थललाई संवेदनशील वर्गीकरण गरेको छ । कुल मतदान स्थलमध्ये ३ हजार ६८० वटालाई चाहिँ अति संवेदनशील वर्गीकरण गरिएको प्रहरी प्रवक्ता (डीआईजी) अबिनारायण काफ्लेले रातोपाटीलाई बताए । मधेस प्रदेशमा सवैभन्दा धेरै अति संवेदनशील मतदान स्थल छन् । मधेसका ८ जिल्लाका १२ सय ४६ मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । लुम्बिनी प्रदेशमा ४६२ र सुदूरपश्चिममा ४८१ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । ललितपुरमा भौगोलिक रुपमा विकट ठाउँका मतदान स्थललाई अति संवेदनशील वर्गीकरण गरिएको हो । संवेदनशील र अति संवेदनशील वर्गीकरण गर्दा भौगोलिक विकटता र विगतमा भएका घटनालाई पनि विश्लेषण गरिएको छ । अति संवेदनशील मतदान स्थल सुरक्षाको दृष्टिले चुनौतीपूर्ण मानिन्छ । त्यस्ता स्थलमा अन्यत्रभन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिन्छ । अति संवेदनशील स्थलमा ३ जना प्रहरी र १० जना निर्वाचन प्रहरी परिचालन गरिने प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृतले भने, ‘थप मतदान केन्द्र भएमा २ जना प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप गरिन्छ ।’ कोशी प्रदेशमा ४३९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा छन् । बागमती प्रदेशका १० जिल्लामा ३५४ मतदान स्थल अति संवेदनशील सूचीमा छन् । गण्डकी प्रदेशमा ३२८ वटा मतदान स्थल अति संवेदनशीलमा छन् । कर्णाली प्रदेशमा ३५८ मतदान स्थल अति संवेदनशील सूचीमा राखिएका छन् । एकीकृत सुरक्षा योजना अनुसार अति संवेदनशील स्थलमा एउटा मात्र केन्द्र रहेमा ३ प्रहरी र १० निर्वाचन प्रहरी खटिनेछन् । त्यही स्थलमा थप केन्द्र भएमा प्रतिकेन्द्र २ जना नेपाल प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप खटाउने गरी एकीकृत सुरक्षा योजना लागु गरिएको छ । सामान्य मतदान स्थलमा ३ प्रहरी र ५ निर्वाचन प्रहरी परिचालन गरिने डीआईजी काफ्लेले बताए । उनले भने, ‘थप केन्द्र अनुसार सुरक्षाकर्मीको संख्या पनि बढ्छ ।’ संवेदनशील मतदान स्थलमा ३ जना प्रहरी र ६ जना निर्वाचन प्रहरी परिचालित हुनेछन् । त्यसमा पनि केन्द्र थप भएको ठाउँमा प्रति थप केन्द्रमा २ जना नेपाल प्रहरी र ४ जनाका दरले निर्वाचन प्रहरी थप परिचालित हुनेछन् । केन्द्र थपिएको ठाउँमा प्रतिकेन्द्रमा २ जना प्रहरी र ४ जना निर्वाचन प्रहरीले मतदान अवधिभरको सुरक्षा गर्नेछन् । एकीकृत सुरक्षा योजना अुनसार सामान्य मतदान स्थलमा दुईवटा मात्र मतदान केन्द्र भएमा ४ नेपाल प्रहरी र ९ निर्वाचन प्रहरीलाई परिचालन गरिनेछ । निर्वाचन सुरक्षामा ७३ हजार प्रहरी परिचालन गरिने छ । सशस्त्र प्रहरीका ३१ हजार सुरक्षाकर्मी दोस्रो घेरामा खटिनेछन् । एकीकृत निर्वाचन सुरक्षा योजना अनुसार चुनावमा ७९ हजार सेना खटिँदैछन् । निर्वाचनमा सूचना संकलनको जिम्मेवारी सहित राष्ट्रिय अनुसन्धान विभागका २ हजार सुरक्षाकर्मी परिचालन गरिने राष्ट्रिय अनुसन्धान विभागका एकजना उच्च अधिकृतले बताए । मतदान स्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिनेछन् । एकीकृत सुरक्षा योजना अनुसार मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षा घेरा तीन तहको हुनेछ । दोस्रो घेरामा सशस्त्र र तेस्रो घेरामा सेना खटिनेछ ।