आज गुरु गोबिन्द सिंह जयन्ती मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, पौष २१,

देह शिवा वर मोहे, शरण गुरु के पास।
धरम जुद्ध में जाएं, तो ये सहस्र बरस।
यो भजन प्रायः सिख धर्मका अनुयायीहरूले पूजा र ध्यानका समयमा गाउने गर्दछन्। यस भजनमा गुरु गोविन्द सिंह जी को प्रार्थना के छ भने आत्मालाई त्यस्तो शक्ति प्रदान गरियोस्, जसले धर्मको रक्षा गर्नको लागि साँचो वीरता र साहसका साथ संघर्ष गर्न सकोस् । साथै, गुरुको शरणमा जानु, धर्मको मार्गमा हिड्नु र साहसपूर्ण जीवन यापन गर्ने आव्हान नै यस भजनको मुख्य सन्देश हो। सिखहरूको दसौँ गुरु “गुरु गोविन्द सिंह”को आज ५ जनवरीको दिन जन्म जयन्ती हो। एक महान् योद्धा, कवि, भक्त र आध्यात्मिक नेता गुरु गोविन्द सिंह, ११ नोभेम्बर १६७५ मा आफ्नो बुबा गुरु तेघबहादुरको मृत्यु पछि सिखहरूको दसौँ गुरु हुनुभयो। आफ्नो जीवनभर सबैलाई प्रेम, एकता र भ्रातृत्वको सन्देश दिनुभएको गुरु गोविन्द सिंह निक्कै शान्त व्यक्तित्व हुनुहुन्थ्यो। आफ्नो अहित सोच्ने दुस्मनहरूसँग पनि गुरुले सहनशीलता, मधुरता र सौम्यताको साथ सामना गर्नुहुन्थ्यो । गुरु गोविन्द सिंहको मान्यता थियो कि “मनुष्यले न कसैसँग डराउन हुन्छ न कसैलाई डराउनु हुन्छ”। गोविन्द सिंह र उनका पिताको पहलमा उहाहरु बस्नुभएको ठाउँ पूर्णतया कुनै पनि किसिमको भेदभावबाट मुक्त हुदै गयो। त्यहाँका मानिसहरूमा समानताको लहर फैलाउन गोविन्द सिंहका पिता निरन्तर लागिरहे। तर, केही कस्मिरी पण्डितहरूले गोविन्दका पिता तेघबहादुरलाई जबरजस्त धर्म परिवर्तन गरेर मुसलमान बन्न दबाब दिएपछि तेघबहादुरले इस्लाम स्विकारेनन् र त्यसै कारण दिल्ली को चाँदनी चौकमा उनको पिता गुरु तेघ बहादुरको शिर काटी हत्या गरियो। यही निर्मम घटना पछि गुरु गोविन्द सिंह सिखहरूको नयाँ गुरुको रूपमा स्थापित हुनु भएको हो । गुरु गोविन्दलाई उनको बाल्यकालमा गोविन्द राय भनिन्थ्यो। उनका पिता गुरु तेघबहादुर नवौं सिख गुरु हुनुहुन्थ्यो। गुरु गोविन्दको जन्म हुँदा पिता गुरु तेघबहादुर असममा धर्मको शिक्षा बाट्न जानुभएको थियो। गोविन्द सिंहको बाल्यकालको ४ वर्ष पटनामा बितेको थियो। पटनामा उहाँ त्यस बेला बस्ने घरलाई अहिले “तखत श्री पटना साहिब” नामको गुरुद्वारा स्थापना गरिएको छ। ४ वर्ष पटनामा बिताएपछि उहाँ आफ्नो परिवार सँग पन्जाब आउनु भएको हो। त्यसको दुई वर्ष पछि फेरी गुरु गोविन्द सिंह आफ्नो बुवा आमासँग हिमालयको शिवालिक पहाडमा बसाइ सर्नुभयो र त्यहाँ बाट उनको प्रारम्भिक शिक्षा सुरु भयो।
, गुरु गोविन्द सिंहको नेतृत्वले सिख समुदायको इतिहासमा धेरै नयाँ परिवर्तन ल्यायो। सन् १६९९ मा उहाँले “खाल्सा”को निर्माण गर्नुभयो। “खाल्सा” सिख धर्मावलम्बीका अनुयायीहरूको सामूहिक रूप हो। गुरु गोविन्द आफ्नो भक्तहरूलाई दिने उदाहरणको लागि नि निक्कै चर्चित हुनुहुन्थ्यो। त्यसबाहेक गुरु गोविन्द एक साहसी योद्धा हुनुको साथै एक उत्कृष्ट कवि पनि हुनुहुन्थ्यो। गुरु गोविन्द सिंहले गुरुको पदलाई समाप्त गर्न ‘गुरु ग्रन्थ साहिब’लाई सिखहरूको गुरु बनाउनुभयो र व्यक्तिहरू गुरु हुने प्रचलनको अन्त्य गर्नुभयो। यस हिसाबले पनि उहाँ सिखहरूको अन्तिम गुरु हुनुहुन्थ्यो। आज उहाँको जन्म जयन्तीको अवसरमा सिख धर्मावलम्बीहरूले मात्र नभई सबैले एक पटक उहाँको सम्झना गरौँ।

Like