राजाको भान्जा हुँ भन्दै ठग्दै गर्ने अनुप सिंह पक्राउ

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २९,

मुलुकमा अनुप सिंह उर्फ मनोज कुमार ठगीका पर्यायवाचीजस्तै बनेका छन् । खेल क्षेत्रका अधिकारीहरूले बेलायतमा नर्स पठाउने कुरालाई अवसरका रूपमा लिए । अनुपले भने, ‘तपाईंहरूलाई केही कोटा दिन्छु ।’ गत वर्ष खेलाडीलाई सहयोग गर्ने ‘प्याकेज’ लिएर हेलिकप्टर चढी पोखरा पुगेका सिंह असनमा घर भए पनि हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोलमा बस्ने गरेका छन् । उनले खेलाडीहरूलाई कपडा वितरण गरेपछि भने, ‘म पूर्वराजाको भान्जा हुँ, यूकेमा हिमानी ट्रस्टले अस्पताल बनाउँदै छ, त्यहाँ केही नर्सहरू पठाउनुपर्ने छ ।’ त्यसपछि सबैले आफ्ना नजिकका नर्सहरूलाई पठाउन भन्दै अग्रिम ५ देखि ७ लाख रुपैयाँ बुझाए । रकम लिएपछि सिंह सम्पर्कमा आएनन् । प्रहरीमा उजुरी परेपछि २०८१ मा अनुप पक्राउ परे । नर्स पठाउँछु भनेर लिएको रकम उनले फिर्ता गरे । तर उनीविरुद्ध त्यसअघि नै जिल्ला प्रहरी परिसर ललितपुरमा अर्को मुद्दा दर्ता भइसकेको थियो । पश्चिम रुकुमको बाफिकोट घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–४ मा बस्दै आएका शुभद्रा दाहाल र नम्रता केसीलाई ‘अमेरिकाको सपना’ देखाएर ठगी गरेको मुद्दामा २०८१ चैतमा अनुप जेल परे । सिन्धुलीको घ्याङलेक गाउँपालिकाका–३ वटा वडाका पीडितहरूलाई सिंहले बेलायतमा निर्माण सम्पन्न भएको ड्रिमल्यान्ड होटलमा काम गर्न पठाउँछु भनेर रकम ठगेका हुन् । उक्त होटलमा नेपालका पूर्वराजपरिवारको लगानी रहेको सिंहले बताएपछि पीडितहरूले उनलाई रकम बुझाएको अनुसन्धानमा संलग्न उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । जेलबाट छुटेपछि फेरि ठगीधन्दा सुरु गरेका सिंहविरुद्ध प्रहरी युनिटहरूमा ७ वटा कसुर दर्ता भएको भेटिएको छ । यसपटक बेलायतमा पूर्व राजपरिवारको लगानीमा सञ्चालनमा आउन लागेको ड्रिमल्यान्ड होटलका लागि कामदार पठाउने भन्दै ठगीधन्दा चलाएपछि उनी पक्राउ परेका हुन् । सिंहलाई मंसिर २५ मा भारत भाग्दै गरेको अवस्थामा झापाको धुलाबारीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताएका छन् । बेलायतको म्यानचेस्टर सिटीमा अवस्थित होटल ड्रिमल्यान्डमा काम गर्ने सपना बेचेर उनले ठगीधन्दा चलाएका हुन् । काठमाडौँको ज्ञानेश्वरमा उनले भव्य कार्यालय सञ्चालन गरेका छन् । कार्यालयमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाहको फोटो राखिएको भेटिएको छ । महाबज्रयोगिनी इम्पोर्ट एक्सपोर्टको बोर्ड राखिएको सो कार्यालय पुगेपछि पीडितहरूले अनुपलाई विश्वास गर्ने गरेको एसपी आचार्यले बताए । उनले भने, ‘आकर्षक कार्यालयलाई पनि उनले ठग्ने माध्यम बनाएको देखिन्छ ।’ योजनाबद्ध रूपमा ठगीधन्दा चलाएका अनुपले आफूले रकम लिँदा नगदमा लिन्छन् । बैंकिङ कारोबार गर्नुपरे उनले दोलखा घर भएका लड्डु श्रेष्ठको खाता प्रयोग गर्ने गरेका थिए । उनको सहयोगीका रूपमा काम गर्ने श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । अनुपविरुद्ध अहिलेसम्म ६९ जना पीडितहरूले उजुरी दिएका छन् । पीडितहरूले दाबी गरेअनुसार अहिलेसम्म उनले ६ करोडभन्दा धेरै ठगेको देखिएको छ । बेलायत र अमेरिका पठाउने सपना देखाएर उनले पीडितहरूसँग ६ लाखदेखि १८ लाखसम्म रकम असुलेको प्रहरी अनुसन्धानको निष्कर्ष छ । ज्ञानेश्वरको कार्यालयलाई उनले रोयल बिजनेस टिमको नेपालको शाखा कार्यालय भनेर भन्ने गरेको एसपी आचार्यले बताए । ५१ वर्षीय सिंह अहिले दोस्रो पटक पक्राउ परेका हुन् । पीडितहरूलाई विश्वासमा पार्न अनुपले बेलायतको होटल ड्रिमल्यान्ड र रोयल बिजनेस टिमबिच भएको सम्झौता देखाउँथे । अनुपले रोयल बिजनेस टिम पूर्वराजाको भएको पीडितहरूसँग दाबी गर्ने गरेका छन् । सो कम्पनीबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।आरोपीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँले अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ । ज्ञानेश्वरमा सञ्चालन गरेको कार्यालयबाट प्रहरीले सरकारी छाप र बेलायतको नक्कली भिसा पनि बरामद गरेको छ ।

Like