एमाले महाधिवेशन लम्बियो, आज उम्मेदवारी भोलि मतदान

Share to:

रासंसा/काठमाण्डौ, मार्ग २९,

मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औं महाधिवेशन लम्बिने भएको छ । निर्धारित समयअनुसार निर्वाचन कार्यतालिका नभएपछि महाधिवेशन लम्बिने भएको हो । यसअघि २७ मंसिरमा उद्घाटनसहित २९ मंसिरमा महाधिवेशन सम्पन्न गर्ने तालिका सार्वजनिक भएको थियो । निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाले आइतबार सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाअनुसार मंगलबार (भोलि) बिहान ११ बजेदेखि ५ बजेसम्म मतदान कार्यक्रम रहेको छ । एमालेको निर्वाचन आयोगले सार्वजनिक गरेको महाधिवेशनसम्बन्धी कार्यतालिकाअनुसार मंगलबार (१ पुस)मा मतदान गर्ने कार्यक्रम रहेको छ । यस्तै आइतबार (२८ मंसिर) मतदाता नामावली प्रकाशन भए पनि अन्य बाँकी महत्वपूर्ण कार्य सोमबार (२९ मंसिर)मा हुने निर्वाचन आयोगका अध्यक्ष डा. बिजय सुब्बाले जनाएका छन् । सोमबार (आज) बिहान ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध, सुधारको समय तोकिएको छ । १० बजेसम्म कुनै पनि पदमा दाबी गरेको नाममा आएका विरोधमाथि छानबिन गरी निर्णय गर्ने समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन सोमबार (आज) बेलुका ६ बजे हुने निर्वाचन कार्यतालिका रहेको आयोगका अध्यक्ष डा. सुब्बाले जनाएका छन् । मंगलबार (भोलि) मतदान भएपछि मतगणना, निर्वाचनको परिणाम घोषणा, प्रमाणपत्र प्रदान, शपथ ग्रहणलगायतका कार्यक्रम तालिकामा समावेश गरिएको छ । सोमबार (आज) नै मतदाता नामावलीउपर दाबी विरोध, मतदाता नामावलीउपर परेको दाबी विरोधको सूचना प्रकाशन, दाबी विरोधउपर छानबिन र निर्णय, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेदवारको दरखास्त फाराम वितरण, उम्मेदवारको दरखास्त फाराम दर्ता, उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, उम्मेदवारको विरोधमा उजुरी दिने, उजुरीउपर छानबिन र निर्णय, उम्मेदवारको नाम फिर्ता गर्ने कार्यतालिका रहेको छ । एमाले अध्यक्षका उम्मेदवार रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावक भएर पार्टीलाई सहयोग, सल्लाह दिन सुझाव दिएका छन् । आइतबार जारी महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले ओलीलाई अब नेतृत्वको जिम्मा आफूहरूलाई दिन बन्दसत्रमा आग्रह गरे । उनले अहिले आमपरिस्थितिलाई बुझेर ओलीले अभिभावक भएर बस्दा राम्रो हुने बताए । पोखरेलले ओलीलाई आफ्नो अवधारणा पढ्न सुझाउँदै साथ र समर्थनको अपेक्षा रहेको बताए । ११औं महाधिवेशनमा ओली र पोखरेलले अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।वरिष्ठ उपाध्यक्ष पोखरेलले ओली दुईपटक गरेर ११ वर्ष पार्टीको अध्यक्ष भइसकेको र पटक–पटक गरेर ६ वर्ष प्रधानमन्त्री बनिसकेको भन्दै अब गर्न बाँकी केही पनि नरहेको बताए । ‘११ वर्ष पार्टी अध्यक्ष हुनुभयो, ६ वर्ष प्रधानमन्त्री हुनुभयो, अब उहाँले गर्नुपर्ने नयाँ काम केही बाँकी छ जस्तो लाग्दैन,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भने । एमालेको जारी ११औं महाधिवेशनका बीचमै उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले कुनै पदमा उम्मेदवारी नदिई सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् । ज्ञवाली र शाक्यको घोषणासँगै नैतिक संकटमा केपी शर्मा ओली परेका छन् । तर, उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले भने आफूहरू ७० वर्ष उमेर पुगिसकेकाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । यद्यपि, पार्टीमै रहेर पार्टीलाई निरन्तर सहयोग, साथ, समर्थन जारी नै रहने उनीहरूले जनाएका छन् । ७० वर्षे उमेरहद र कार्यकारी पदमा दुई कार्यकाल बस्न नहुने आवाज विगतमा ओलीले उठाउँदै आएका थिए । सोहीअनुसार ओली नवौं र १०औं महाधिवेशनबाट अध्यक्ष भए । तेस्रो कार्यकालका लागिसमेत अध्यक्ष हुन ओलीले आफूअनुकूल विधान संशोधन गराए । ७० वर्षे उमेर हदका कारण ज्ञवाली र शाक्यले बिदा लिए पनि ७४ वर्ष उमेर पुगिसकेका ओलीले भने सक्रिय राजनीतिबाट बिदा नलिई तेस्रो कार्यकालका लागि अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी थालेका छन् । उनले विधि र विधानसम्मत चलेर नेताले फराकिलो मन बनाउँदै पार्टीलाई नीतिप्रधान बनाउन लाग्नुपर्ने बताइन् । ‘मुख्य कुरा विधि हो, मैले अध्यक्ष कमरेडसँग भएको कुरा स्मरण गर्न चाहन्छु, ७० वर्ष पुगेपछि मैले काम गर्दिनँ भनेकी थिएँ,’ शाक्यले भनिन्, ‘उहाँले सँगै बिदा लिऔंला भन्नुभएको थियो ।’ ज्ञवाली र शाक्य दुवै जना ईश्वर पोखरेल समूहमा खुलेर लाग्दै आएका नेता हुन् । एमाले उपाध्यक्ष शाक्यले पार्टीभित्र निर्वाचन नलड्ने घोषणा गर्दै भनिन्, ‘म अब निर्वाचनमा उठ्दिनँ, मलाई भोट हाल्नुपर्दैन, तर मैले जे गर्दा पार्टी बलियो बन्छ, त्यही गर्ने प्रयत्न जारी रहन्छ ।’ आफू नभई पार्टी चल्दैन भन्ने कुराबाट मुक्त हुनुपर्ने शाक्यको भनाइ थियो । आमजनताको चासो र चाहनालाई ख्याल गर्दै विधान संशोधनतिर लाग्न नहुने उनको भनाइ छ । ज्ञवाली, शाक्यसँगै एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य चूडामणि जंगली र अनुशासन आयोग अध्यक्ष केशव बडालले पनि अब सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने चर्चा चल्दैगर्दा अष्टलक्ष्मी शाक्यले निर्वाचन नलड्ने घोषणा गरेसँगै अब एमालेमा महिला उपाध्यक्षका लागि बिन्दा पाण्डे र पद्मा अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ । कुनै राजनीतिक परिवर्तन नभएको खण्डमा अब पाण्डे र अर्यालका बीचमा महिला उपाध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ । अर्याल हाल सचिव र पाण्डे स्थायी कमिटी सदस्य छन् । अर्यालभन्दा पाण्डे पार्टीमा लामो समय महिला सहभागिताको विषयमा काम गरेकी व्यक्ति हुन् । विगतमा वामदेव गौतम समूहमा रहेकी अर्याल भूमि व्यवस्था तथा सहकारीमन्त्री हुँदा चुच्चेनक्सा जारी गरेर चर्चामा आइन् । तर, गिरिबन्धु टी–इस्टेटको पक्षमा कानुन बनाएको भन्दै उनी अहिले पनि आलोचनामा परिरहन्छिन् ।

Like