हमासले बन्धक बनाएका विपिन जोशी जिवित रहेकोमा इजरायलको आशंका
एजेन्सी, बैशाख २६,
हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका छन् । उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायलले खबर प्रकाशित गरेको हो । जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ । बुधबार मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए । युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त नभएको उसले जनाएको छ । तिमध्ये दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली रहेको बताइएको छ । जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने नगरिएको द टाईम्स अफ इजरायलले जनाएको छ । यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ । हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ । यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना विदेशी नागरिक रहेको खबरमा उल्लेख छ ।