वैशाख २१ देखि कक्षा १२ को परीक्षा सुरु हुने

Share to:

रासंसा/काठमाण्डौ, बैशाख १०,

मुलुकमा राष्ट्रिय परीक्षा बोर्डले आउँदो ११ वैशाखदेखि तय भएको कक्षा १२ को परीक्षा स्थगित भएको जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा रोक्न निर्देशन दिएपछि बोर्डले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ । परीक्षा नरोक्ने निर्णय भएपछि बोर्डका पदाधिकारीहरू आउँदो बिहीबारबाट कसरी परीक्षा गर्ने भन्ने विषयमा सरकारका विभिन्न प्रतिनिधिसँग छलफलमा थिए । मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग बोर्ड अध्यक्ष शर्मासहितको टोलीले भेटेपछि परीक्षा सार्ने निष्कर्षमा पुगेको हो । परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने बुधबार मात्रै सार्वजनिक हुनेछ । ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘बोर्डको बैठक बसेर मात्रै तालिका तय हुन्छ ।’ परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार आउँदो बिहीबारबाट हुने परीक्षा अब २१ वैशाखबाट हुने भएको छ । शिक्षकको आन्दोलनका कारण परीक्षा हुने कि नहुने अन्योल रहेका बेला मंगलबार बिहान परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने जनाएको थियो । परीक्षा सञ्चालनका लागि बोर्डले जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीसमेतलाई परिचालन गर्ने तयारी गरेको थियो । चौतर्फी आलोचना भएपछि बोर्डले सो निर्णयको औपचारिक सूचनासमेत जारी गर्न सकेको थिएन । शिक्षकको आन्दोलनका कारण परीक्षा के हुने भन्ने अन्योल भइरहेका बेला परीक्षा बोर्डले मंगलबार बिहान मात्रै निर्धारित कार्यतालिकामा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । त्यसका लागि जिल्लास्थित सरकारी कार्यालयका कर्मचारीसमेत परिचालन गर्नेसम्मको तयारी थियो । शिक्षकको सडक प्रदर्शनले निकास नपाउँदै २०औं दिनमा सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि परीक्षा हुने–नहुने अन्योल थियो । कक्षा १२ को परीक्षामा कुल ५ लाख ११ हजार विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि १ हजार ५ सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परीक्षामा संलग्न हुने योजना बनाइएको थियो । परीक्षामा १८ सयदेखि २ हजार कर्मचारी, हरेक केन्द्रमा कम्तीमा एक जना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन हुने परीक्षा बोर्डको तयारी थियो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर परीक्षा गर्ने निर्णय भएको नियन्त्रक कृष्ण शर्माले जानकारी दिएका थिए । स्थानीय तहहरूमातहतका समेत शिक्षक नियुक्त गरिएका र उनीहरूलाई समेत परिचालन गरिने तयारी थियो । त्यस्तै, क्याम्पसका शिक्षकले समेत परीक्षामा सहयोग गर्नेसम्मको तयारी थियो । बोर्डले स्थानीय पालिका र जिल्लास्थित परीक्षा समन्वय समितिलाई परीक्षासम्बन्धी आवश्यक व्यवस्था मिलाउनू भनेर पत्राचार गरिसकेको थियो । शिक्षक महासंघले वृत्ति विकास र पेसागत मागसहित २० चैतदेखि सडक प्रदर्शन गर्दै आएको छ । त्यसको पाँच दिनपछि शैक्षिक हडताल आह्वान गरेपछि सामुदायिक विद्यालयमा भर्ना अभियानलगायतका नयाँ शैक्षिक गतिविधि ठप्प छन् । जसका कारण देशभरको सामुदायिक विद्यालयमा पठनपाठन हुन सकेको छैन ।

Like