लक्ष्य विश्वकप छनोटमा महिला टोलीको फितलो प्रदर्शन

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १८,

मुलुकमा नेपाली महिला क्रिकेटले हालसम्म कुनै पनि ठूला प्रतियोगितामा नतिजा निकाल्न सकेको छैन। नतिजा दिन नसक्दा यो टिममाथि नै प्रश्न उठ्न थालेको छ। यस टिममा कविता कुँवर र सीता राना मगरको पनि कमब्याक भएको छ। चोटका कारण बाहिर रहेका यी दुई खेलाडी नेपाली टिमको नतिजामा प्रभाव पार्न सक्ने क्षमता राख्छन्। हाल: नेपाली महिला टिमले आइसीसी महिला टी-२० विश्वकप छनोट एसिया क्वालिफार्यसका लागि २८ जनाको टोलीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको छ। जसमा नेपाली टिमबाट खेलिसकेका खेलाडी र यु-१९ तथा घरेलु प्रतियोगितामा राम्रो खेलेका खेलाडीहरूको मिश्रित टिम रहेको छ। पछिल्लो युगान्डा सिरिजपछि कप्तान इन्दु बर्मामाथि पनि निकै प्रश्नहरू उठेका छन्। टिम छनोटदेखि फिल्ड म्यानेजमेन्टमा उनी कमजोर भन्ने प्रश्नले सामाजिक सञ्जालमा उनले निकै आलोचना बेहोरिन्। युगान्डा सिरिजमा पूजा महतोले ६ खेलमा ९० रन बनाइन्। यो नेपाली खेलाडीको लागि सर्वाधिक रन थियो। ईश्वरी विष्टले ८ विकेट लिइन्। कप्तान इन्दुले पनि बलिङमा ८ विकेट लिइन्। उनको ब्याटले रनमा भने खासै राम्रो प्रभाव बनाउन सकेन। युगान्डा सिरिज अगाडि महिला क्रिकेटले घरेलु मैदानमा थाइल्यान्ड र नेदरल्यान्डसँग त्रिदेशीय सिरिज खेलेको थियो। नतिजाबाट विमुख भइ रहँदा नेपाल क्रिकेट संघ(क्यान)ले यो वर्ष महिला क्रिकेटलाई विशेष प्राथमिकतामा राख्दै क्यालेन्डर सार्वजनिक गरेको छ। सिनियर खेलाडीको रूपमा नेपाली ब्याटिङको खम्बाको रूपमा चिनिने रुबिना क्षेत्रीको पनि युगान्डा सिरिजमा ब्याट चलेन। उनी एक खेलमा त प्लेइङ सेटमा नै परिनन्। नेपाली महिला क्रिकेटले फिटनेस प्रशिक्षकको रूपमा भारतीय स्ट्रेन्थ र फिटनेस प्रशिक्षक मोनिकालाई ल्याएको छ। क्यानले महिला क्रिकेटलाई प्राथमिकतामा राख्ने भन्दै गर्दा मैदानमा भने महिला टिमले नतिजा दिन सकेको छैन। नेपाली सिनियर महिला क्रिकेट यसपटक भने सिनियर महिला क्रिकेट टिमले यु-१९ टिमको बाटो पछ्याउन चाहन्छ। पहिलो पटक यु-१९ टिमले विश्वकप खेल्दा सिनियर टिमको पनि मुख्य लक्ष्य विश्वकप छनोट नै हुनेछ। हालः क्यानले महिला टिमको विश्वकप छनोटलाई लक्षित गरी कन्सल्टेन्ट कोचको रूपमा भारतीय प्रशिक्षक मनिष कुमार झालाई नियुक्त गरेको छ। उनी मंगलबार नेपाल आउँछन्। महिला टिममा न्युट्रिसन तथा स्ट्रेन्थ प्रशिक्षक मोनिका पनि रहेकी छन्। ‘हाम्रो यो पाली विशेष केही पक्षहरू छन्। जसमा स्ट्रेन्थ, पावर हिटिङ, फिटनेस मुख्य पाटो हुनेछ,’ प्रशिक्षक मनोज कटुवालले अन्नपूर्णसँग भने। एक वर्षयता महिला टिमलाई नजिकबाट नियालेका कटुवाल भन्छन्, ‘अहिले हाम्रो टिममा कन्सल्टेन्ट कोच पनि आउनु भएको छ। उहाँसँग आफ्नो अनुभव छ। मोनिका हुनुहुन्छ। हामी सबैले सुधार गर्नुपर्ने पक्षबारे छलफल गरेर टिमलाई प्रशिक्षण दिनेछौं।’ नेपाली टिमसहित ७ टिमले एसिया क्षेत्र छनोटमा प्रतिस्पर्धा गर्नेछन्। जसमा बहराइन, भुटान, हङकङ, कुवेत, मलेसिया, नेपाल, कतार, थाइल्यान्ड र युएई छन्। शीर्ष २ टिम ग्लोबल क्वालिफार्यसमा जानेछन्। नेपाली टिमका लागि मलेसिया, थाइल्याण्ड र युएई मुख्य चुनौती हुनेछन्। यसपटक नेपाली महिला टिमले १ महिना लामो प्रशिक्षण समय पाएको छ। प्रशिक्षक मनोजले यसअघि टिम तयार गर्न यति लामो समय पाएका थिएनन्। उनी भन्छन्, ‘यसपटक केही लामो प्रशिक्षण समय पाएको छु। सधैं एक हप्ता, १० दिन या त्योभन्दा पनि छोटो समयमा टिम तयार गरेर खेलिन्थ्यो। यसपटक अलि लामो समय छ। हामी हाम्रो कमजोरीमा काम गर्ने समय छ,’ उनले भने। नेपाली महिला क्रिकेटले हालसम्म कुनै पनि नतिजा किन दिन सकेन भन्ने प्रश्नको उत्तरमा पूर्व प्रशिक्षक सामसङजंग थापा भन्छन्, ‘नेपाली महिला क्रिकेटमा ‘क्रिकेटिङ कल्चर’ छैन। पुरुष खेलाडीहरू प्रदेशको टिममा पर्न भारतमा प्रशिक्षण लिन गइरहेका हुन्छन्। नेपाली महिला खेलाडीले आफ्नै प्रयासमा स्किल डेभलपमेन्टको पक्षमा जोड नदिनु नै नतिजा नआउनुको प्रमुख कारण हो।’ खेलाडी आफैंले म खेलाडी हुँ भनेर स्किल सुधारको पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ छ।थापा मुख्य प्रशिक्षक रहँदा क्यानले डब्ल्यूपीएल टिम, मुम्बई इन्डियन्सकी ब्याटिङ प्रशिक्षक देबिका पाल्शिकरलाई नेपाली महिला क्रिकेटको ब्याटिङ प्रशिक्षकको रूपमा ल्याएको थियो। जसमा उनले नेपाली ब्याटरले स्किलमा काम गर्नुपर्ने बताएकी थिइन्। ‘हालः नेपाली महिला टिममा सानो सानो स्किलमा ध्यान दिनुपर्छ,’ उनले भनिन्। उनले नेपाली टिमको ब्याटिङ स्किल सुर्धान केही समय लाग्ने बताइन्। प्रशिक्षक कटुवाल भन्छन्, ‘फिटनेस, डाइट र स्किलमा खेलाडी आफैंले ध्यान दिने हो। राष्ट्रिय टिममा खेलिसकेका र क्यानको सेन्ट्रल कन्ट्रयाक्टमा रहेर तलब पाइरहेका खेलाडीको काम नै खेल्ने हो। यो भुल्नु हुँदैन।’ प्रशिक्षक कटुवाल पनि देविकाको कुरामा सहमति जनाए। नेपाली महिला खेलाडीमा ‘क्रिकेटिङ कल्चर’ विकसित भएमा मात्र बन्द प्रशिक्षणबाट खेलाडी छनोट गर्दा नतिजा निस्कने उनले बताए। ‘खेलाडी आफैंले पनि डाइट र फिटनेसमा ध्यान दिनुपर्छ। बन्द प्रशिक्षणमा टिमको कमजोरीमा काम गर्न पाइयो भने मात्रै नतिजा दिन सकिन्छ,’ उनले भने। अघिल्लो सिजन नेपाली टिमले वर्षायामका कारण मैदानमा भन्दा बढी इन्डोर प्रशिक्षणमा आधारित भएर क्वालिफर्यस खेलेको थियो। कटुवालको प्रशिक्षणमा नेपाली महिला टिमले मे ७ देखि २१ सम्म थाइल्याण्डमा हुने एसिया छनोटको लागि तयारी गर्नेछ। नेपाली महिला क्रिकेट टिममा खेलाडीले आफूलाई समस्या हुँदा पनि लुकाउने गरेको प्रशिक्षक कटुवालले बताए। प्रशिक्षक कटुवाल भन्छन्, ‘खेलाडीले आफूले नसक्दा पनि खेलिरहेको हुन्छ। जसले गर्दा इन्जुरी बढ्ने र मुख्य प्रतियोगितामा नतिजा सोचे अनुरुप आउँदैन।’खेलाडीलाई राष्ट्रिय टिम र क्यानको वरीयता खस्किने डरले पनि चोट लुकाउने मनोजले बुझेका छन्। ‘उनीहरूलाई डर हुने रहेछ। तर, फिट नभएको खेलाडीले खेल्न नसक्दा उनीहरूको क्षमतामाथि नै प्रश्न उठ्ने, आलोचना हुने गरेको छ,’ उनले थपे। उनले खेलाडीलाई सोध्दा ‘होइन गाह्रो भएको छैन’ भन्दै खेल्ने गरेको बताउँछन्। ‘खेलाडी कसले कस्तो खेल्छ मलाई थाहा भइसकेको हुन्छ। उसले खेल्न नसक्दा इन्जुरी भएको थाहा हुन्छ। तर उनी लुकाउँछन्,’ उनी भन्छन्।

Like