आज मत्स्य जयन्ती व्रत, ईद उल फितर, मत्स्यनारायण मेला

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १८,

मुलुकमा चैत्र शुक्ल पक्षको तृतीयामा मत्स्य जयन्ती मनाइने गरिन्छ । एक दिन अगावैबाट शुद्ध भोजन गर्ने, भगवान् विष्णुको भजन कीर्तन गर्ने र जाग्राम बस्ने चलन पनि छ । यसरी मत्स्य जयन्तीकै दिनमा चाहिँ विष्णु सहस्त्रानाम, विष्णु पुराण लगायतका ग्रन्थहरू\पाठ गर्ने र श्रोता र वक्ता सबैले चित्त लगाएर मनन गर्ने चलन छ । सत्ययुगको सुरुवात भन्दा अगावै कलियुगको अन्तका क्रममा सबै कुराहरूलाई विनाश गर्ने क्रम चलिरहेको थियो । हामी सबैलाई थाहै छ कि चार युगका आधारमा सनातन दर्शनमा समग्र मानव अवस्थितिलाई बाँडिएको छ । यसरी एउटा पूर्ण चक्र, सत्य, त्रेता, द्वापर र कलिको वृत्तपछि विनाशको सँघार मा भगवान् ब्रह्मा नयाँ सत्ययुगको सृजना गरेर निदाएको अवस्था थियो । यसै क्रममा धर्म–दर्शनका बहु उपयोगी ग्रन्थहरू वेद, उपनिषद् लगायतका अन्य थुप्रै श्रोतहरू बोकेर हायागृभ नामका दैत्य समुन्द्र मुनी लुक्न गए । यिनै हायागृभलाई खोजी गर्न र सबै ग्रन्थहरू फिर्ता ल्याउन भगवान् विष्णुले मत्स्य अवतार लिएको उल्लेख छ । महाप्रलयका समयमा एउटा सिङ भएको माछा उत्पन्न भएको कुरा ग्रन्थहरूमा पाइन्छ । विभिन्न आधुनिक लेख, चलचित्र र कथाहरूमा एपोक्लेप्टीक कथाहरू हुन्छन्, अर्थात् महाप्रलय र त्यसपश्चात्का कुराहरू । प्रलय पनि सृजनाको एउटा अंश हो, मत्स्यनारायण अवतार पनि एउटा पोष्टएपोक्लेप्टीक यर्थाथका रूपमा लिइन सकिन्छ । एक कोशको जीवबाट सुरु भएको मानव बिकासक्रमको पहिलो रूप अर्थात् विष्णुको पहिलो अवतार माछा अवतारका रूपमा आज पुजिन्छ । ‘इभोल्यूशन थ्यौरी’ अर्थात् अनुकूलताको सिद्धान्तमा एकल कोष भएका जीवहरू पानीबाट क्रमशः अनुकूलताका आधारमा विकास हुँदै गएको बताइएको छ । यता सनातन दर्शनमा पनि सृष्टिको व्याख्या गर्दा कमलको फूल, माछा अवतार अनि कछुवाका सन्दर्भहरू आउँछन् । यसर्थमा मानव विकासको प्रथम आधार चाहिँ जलचर भएको कुरामा सनातन दर्शन र विज्ञान दुवैमा कुनै दुई मत छैन । भगवान् विष्णुको पनि प्रथम अवतारका रूपमा मत्स्य अवतारलाई लिइन्छ ।
मत्स्यनारायण मेला
विष्णुले दस अवतार लिंदा सबभन्दा पहिले मत्स्य शरीर धारण गरी प्रलयकालमा समुद्रमा डुंगाको काम गरी वेदलाई सुरक्षा गरेको पुराणमा उल्लेख छ। चार नारायणको दर्शन गर्ने उद्देश्य बोकेका भक्तजनले मत्स्यनारायण मन्दिरको दर्शन गर्न छुटाउँदैनन् । मलमासबाहेक नववर्षलगायत जनैपूर्णिमाको दिनमा पनि मत्स्यनारायणको दर्शन गर्ने भक्तजनको घुइँचो लाग्दछ। काठमाडौवाट झन्डै ८ किमी दक्षिणपश्चिम भेगमा पर्ने मत्स्यनारायणको प्रस्तर मन्दिरमा मलमासमा एक महिना लामो मेला लाग्ने गर्दछ भने साबिकका वर्षहरुमा आजका दिनमा मात्र मेला लाग्दछ । यस मेलामा परपर वाट हजारौं लाखौं भक्तजनहरु दर्शनार्थ आउने गर्दछन् । मलमास अवधिभर कीर्तिपुरबाट चार किमी दक्षिणमा पर्ने मच्छेनारायण मन्दिरमा नारायणको पूजा / पुरुषोत्तम महात्म्य वाचन गर्ने परम्परा छ। भगवान् नारायणको पूजा आराधना गर्नाले सम्पूर्ण पाप नष्ट हुन्छन् भन्ने धर्मग्रन्थमा समेत उल्लेख छ। सुनको जलप लगाएको गरुडको कलात्मक प्रवेशद्वार भएको मन्दिरमा माछाको मुखबाट प्रकट भएको एक फिट अग्लो चार हातमा शंख, चक्र, गधा र पद्म लिएको मूर्ति छ।
इद उल फितर
इदको शाब्दिक अर्थ अरबीमा (चाड वा भोज) हो। इस्लामिक क्यालेन्डरमा प्रति वर्ष दुई वटा प्रमुख इदहरू छन् ( इद उल फितर वर्षको सुरुमा र वर्षको मध्यतर्फ इद अल अधा।) इद उल फितर या फित्र तीन दिन लामो चाड हो र यसलाई (कम वा सानो इद ) भनेर चिनिन्छ जब इद अल अधा चार दिन लामो हुन्छ र (बृहत्तर इद) भनेर चिनिन्छ। कूल जनसख्याँको ५ दशमलव ९ प्रतिशत रहेका नेपाली इस्लाम धर्मावलम्बीहरू लगायत सबै नेपाली जनमा इदको शुभकामना । इदको दिन इस्लाम धर्मावलम्बीहरू स्नान गरेर सकेसम्म नयाँ कपडा लगाएर नत्र आफूसँग भएका कपडाहरूमध्ये सबैभन्दा राम्रो कपडा लगाएर इद विशेष प्रार्थनाका लागि नजिकैको मस्जिदमा भेला हुने गरिन्छ । प्रार्थना गर्दै अल्लाहलाई धन्यवाद दिइन्छ । यसरी मस्जिद या प्रार्थना भेलामा जाँदा घरबाटै तक्विर अर्थात् अल्लाहको महिमा उच्चारण गर्दै उक्त स्थानसम्म पुग्ने गरिन्छ । बाटोमा भेट हुने सम्पूर्णसँग शुभकामना आदान–प्रदान गर्दै जाने चलन छ । प्रार्थनामा जाँदा र फर्कँदा सकेसम्म फरक–फरक बाटो प्रयोग गर्नुपर्ने चलन छ । आजको दिन प्रार्थना पश्चात् एकै ठाउँमा परिवारहरू सामूहिक भेला हुन्छन् । सामूहिक रूपमा भोज गर्दै इद उल फितरलाई हर्ष र उल्लासपूर्ण वातावरणमा स्वागत गरिन्छ । रोचक कुरा त के छ भने इदका सम्पूर्ण खुसीयाली र शुभेच्छाहरूको साटासाट खुल्ला आकाशमुनि गरिन्छ । दुवै इदहरूले इस्लामको कथाको लागि महत्त्वपूर्ण दुई फरक घटनाहरूलाई चिन्छन्, मनाउँछन् र सम्झाउँछन्। इद उल फितर इस्लामिक क्यालेन्डरमा १० औँ महिनाको पहिलो दिन मनाइन्छ। इद अलअधा इस्लामिक पात्रोमा अन्तिम महिनाको १० औँ दिनमा मनाइन्छ। इस्लाम धर्मावलम्बीहरूको एक महान् चाड ‘इद उल फितर’ पवित्र रमजान महिनाको अन्तिम दिनमा पर्छ । चन्द्रमाको आकार यो पर्वको निर्धारणमा एकदमै महत्त्वपूर्ण हुन्छ, त्यस कारण पनि इस्लामिक रीति अनुसार रमजानको अन्तिम दिन साँझमा सबै जनाले चन्द्रमा हेर्ने गरिन्छ । जब ‘हिजाल’ अर्थात् अर्धचन्द्राकार चन्द्रमा आकाशमा देखिन्छ, तब मात्र रमजान महिनाको कठिन व्रतको समापन र इद उल फितर पर्वको प्रारम्भ हुने गर्छ । इस्लाम धर्मका प्रवर्तक मुहम्मद सल्लल्लाहु अलैही वसल्लममा यही रमजान महिनामै पवित्र ग्रन्थ कुरानका विचारहरू प्रकट भएको जनविश्वास रहिआएको पाइन्छ । यस महिनाभरि जहन्नुम अर्थात् नर्कको सम्पूर्ण ढोकाहरू बन्द हुने र जन्नत अर्थात् स्वर्गका सम्पूर्ण ढोकाहरू खुल्ला रहने विश्वास गरिन्छ, त्यस कारण यस महिनालाई अल्लाहको महिना पनि भनिन्छ ।
यदि यो दिन कहिले हो भनी दुबिधामा हुनुहुन्छ भने कृपया नजिकैको मस्जिद या मुस्लिम सामाजिक सामुदायिक केन्द्रमा सम्पर्क गर्न सक्नुहुनेछ । इदका दिनबाट रमजान सकिनेछ । एक दिन अगाडि नै यो वर्षको अन्तिम ईफ्तार ग्रहण गरिसकिएको हुन्छ । चन्द्रमाको सौन्दर्य र आकारमा आधारित ‘इद उल फितर’ चाडको अनुग्रह वास्तवमै प्रकृतिको हातमा छ । तपाई हुनुभएको देश या विश्व भू–भागमा पनि इद मनाउने दिन फरक हुनसक्छ ।
इदको दिनमा गरिने विशेष प्रकारका भजनलाई सलत भनिन्छ जसका दुई सकतहरू अर्थात् भागहरू हुन्छन् । यी भजनहरू खुल्ला भजन गृह या ठाउँमा सामूहिक रूपमा गरिन्छ । यसो गर्दा ६ विशेष तक्बीरहरू पनि अल्लाह हु अक्बर भन्दै हातलाई कानसम्म ल्याएर अल्लाहलाई समर्पण गरिने भाव हो । अल्लाह हु अक्बर भन्नाले अल्लाह सबैभन्दा महत्पूर्ण छन् भन्ने बुझिन्छ । बालबालिकाका लागि भने यो उत्सव अझै विशेष हुने गर्छ, किनभने उनीहरूलाई आफूभन्दा ठुलाले विभिन्न खानेकुरा, कपडा खेलौना र मिठाई कोसेली दिने गर्छन् । जसलाई इदको ईदि भनिन्छ जसमा ठुलाले आफूभन्दा साना जोसुकै र जुनसुकै उमेरकालाई पनि एउटा सानाको हक भनौँ अथवा अधिकार नै मानेर प्रदान गरिन्छ । रमाइलोलाई अझै रङ्गिन बनाउन कतिपय ठाउँमा त बालबालिकाहरूले विभिन्न रङ्गहरू र झिलिमिली कपडा र कागजबाट बनेका ध्वजा पताका र तोरणहरूले घरको साज–सज्जा गर्ने गर्दछन् । यस चाडले भ्रातृत्व, शान्ति र शुभेच्छाहरूको आदान–प्रदानलाई प्रोत्साहन गर्ने गर्दछ । गरिब परिवारहरूले पनि सम्मानका साथ इद मनाउन पाउन भनेर विभिन्न प्रकारका भोजहरू आयोजना गर्ने गरिन्छ । भ्रातृत्व र उत्साहको यो पर्वमा तपाईँ हामी सबैलाई इद उल फितरको शुभकामना । राम रहिम सबैको कृपा बनिरहोस् । नेपालमा पनि आज सरकार, विभिन्न संघ, संस्था अनि राजनीतिक दलहरूले औपचारिक सन्देश जारी गर्दै मुसलमान दाजुभाइ दिदी–बहिनीहरूलाई इदको शुभकामना दिइन्छ । समाज र समानतासँग इस्लाम धर्मको विशेष निकटता छ, धनी र गरिब सबैले समान रूपले चाड मनाउँदै अल्लाहलाई सम्झन सकून् भन्ने कुरामा इस्लामिक रीतिहरू विशेष तवरले बनाइएको पाइन्छ ।

Like