राजा ज्ञानेन्द्र शाहसँगको भेटपछि प्रसाईं ‘कमान्डर’

Share to:

रासंसा/काठमाण्डौ, चैत्र १६,

मुलुकमा राजावादी आन्दोलनको अगुवाइ गरिरहेका दुर्गा प्रसाईंले बिहीबार पूर्वराजा ज्ञानेन्द्र शाहसँग दुई घण्टा भेटेर फर्किएपछि एकाएक आन्दोलनका निम्ति नयाँ समीकरण बनेको थियो । प्रसाइँले नै शुक्रबार सुरक्षाकर्मीलाई पेलेर गाडी हुइँक्याउँदै निषेधित क्षेत्र तोडेर उत्तेजित बनाएपछि राजावादी उग्र र हिंसात्मक बने । पूर्वपञ्च नवराज सुवेदी नेतृत्वको चैत ४ मा गठित राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले पनि उक्त भेटपछि बिहीबारै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर घोषणा गर्‍यो । प्रसाईंले आह्वान गरेको आन्दोलनको अपनत्वसमेत लिएको घोषणा समितिले गर्‍यो । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले पनि समर्थन जनाउँदै कार्यकर्तालाई सहभागी हुन आह्वान गरे । चैत १५ मा निर्णायक आन्दोलन गर्ने घोषणा प्रसाईंले चैत २ मै गरेका थिए । अन्य राजावादीले भने उनीसँगै अघि बढ्न नसकिने बताउँदै आएका थिए । तर प्रसाईं र शाहबीच बिहीबारको भेटवार्तालगत्तै उक्त आन्दोलनलाई सघाउने भन्दै अन्य राजावादीले पनि साथ दिने घोषणा गरे । पूर्वराजाले आन्दोलनको कमान्डर बनाएका प्रसाईं साइबर अपराध, गाली बेइज्जती, संगठित अपराध जस्ता कसुरमा यो वर्ष नै दुई पटक पक्राउ परिसकेका व्यक्ति हुन् । साइबर अपराध र गाली बेइज्जतीसम्बन्धी कसुरमा गत ६ असोजमा समातिएका उनी जिल्ला अदालत काठमाडौंको आदेशबमोजिम १५ असोजमा धरौटी बुझाएर छुटेका थिए । मुद्दा अदालतमा विचाराधीन रहेकै बेला प्रसाईं संगठित अपराध, किर्ते, मानहानि लगायतका कसुरमा ४ मंसिरमा फेरि पक्राउ परे । त्यति बेला उनी बन्दी प्रत्यक्षीकरणको निवेदन दिएर सर्वोच्च अदालतको आदेशबाट करिब एक महिनापछि छुटेका थिए । त्यसपछि आन्दोलन हिंस्रक हुन पुगेको थियो । उत्तेजित राजावादीले आक्रमण गर्न थालेपछि प्रतिरक्षाका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । तीनकुनेको मैदानभित्र आयोजित सभाको मञ्चमा जमघट हुँदै गर्दा प्रसाईं र समर्थक प्रहरीसँग भिडिसकेका थिए ।शान्तिपूर्ण आन्दोलन गर्ने भनिएकाले सरकारले राजावादीलाई तीनकुने क्षेत्र छुट्टयाइदिएको थियो । प्रसाईंकै गतिविधिले शुक्रबारको आन्दोलन हिंसात्मक बन्न पुग्यो । तीनकुनेमा बनाइएको मञ्चको ब्यानरमा पूर्वराजा र प्रसाईंका तस्बिर थिए । प्रसाईं मञ्चमा जानुको साटो आन्दोलनलाई हिंस्रक बनाउन केन्द्रित देखिए । आफैं गाडी चलाउँदै निषेधित क्षेत्र घोषणा गरिएको बानेश्वरतर्फ अघि बढे । सडकमा बार लगाएर उभिएका प्रहरीलाई गाडीले पेल्दै उनी हुँकिए । गाडीभित्रै लाइभ गर्ने टोली लिएर हिँडेका उनले प्रहरीसँग मुठभेड चाहेको देखिन्थ्यो । प्रसाईंले आह्वान गरेको आन्दोलनमा सहभागिता जनाएको राप्रपाले साताअघि मात्र प्रसाईंसँग जोडिएर जान नसकिने निर्णय पार्टी बैठकबाटै गरेर सार्वजनिक समेत गरेको थियो । राप्रपा अध्यक्ष लिङ्देनले आन्दोलनका क्रममा भएका हिंसात्मक क्रियाकलापमा राप्रपाको संलग्नता नरहेको दाबी गरे । ‘हामी शान्तिपूर्ण प्रदर्शनका पक्षधर हौं, हाम्रा मान्छे हिंसात्मक प्रदर्शनमा संलग्न छैनन्,’ उनले कान्तिपुरसँग भने, ‘घटनाको छानबिन हुनुपर्छ, छानबिनपछि त्यो प्रस्ट हुने नै छ ।’ प्रसाईं नेतृत्वको नागरिक बचाउ अभियानले आह्वान गरेको आन्दोलनलाई नैतिक समर्थन जनाएर सहभागिताको आह्वान गर्ने राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि तोडफोड र आगजनीलाई निन्दनीय भनेका छन् । सामाजिक सञ्जालमा उनले सरकारी दमनका कारण त्यो परिस्थिति उत्पन्न भएको दाबी गरेका छन् । थापाले बिहीबार सामाजिक सञ्जालमार्फत ‘चैत १५ मा तीनकुने जाऔं’ भन्ने आह्वान गरेका थिए । पूर्वपञ्च राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टदेखि कैयौं राजावादीले प्रसाईंलाई साथ दिन आह्वान गरेका थिए ।प्रसाईंले प्रतिरक्षा बल बनाएर पहिल्यै आन्दोलनलाई हिंस्रक बनाउने तयारी गरेको देखिन्छ । उनले बौद्ध नयाँबस्तीमा केन्द्रीय कार्यालय रहने गरी बुधबार ‘नागरिक प्रतिरक्षा बल’ (पीडीएफ) नै गठन गरेका थिए । प्रसाईंकै अगुवाइमा ४ चैतमा गठित सुवेदी नेतृत्वको समिति गठन हुँदा त्यसमा बस्नसमेत अस्वीकार गरेका लिङ्देन, थापा र बिष्टसहितका नेता आन्दोलनको अघिल्लो दिन आएर प्रसाईंलाई साथ दिन अघि सर्नुमा पूर्वराजा शाह र प्रसाईंबीच बिहीबार भएको ‘अर्थपूर्ण भेटघाट’ कारण भएको ठानिएको छ । शाहसँगको भेटपछि प्रसाईंले भनेका थिए, ‘यो लडाइँ राजा र दुर्गा प्रसाईंले जित्नैपर्छ, हामी एक भएर लड्छौं, अब हामी अघि बढ्ने हो, सँगै लड्ने हो, सँगै मर्ने हो ।’ उनको त्यस्तो अभिव्यक्तिका कारण पनि उनका कार्यकर्ता हौसिएर सडकमा हिंसात्मक बनेका थिए । गृह मन्त्रालयले भने आन्दोलन हिंसात्मक एवं आपराधिक बनाउन प्रदर्शनका आयोजक जिम्मेवार रहेको बताएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै अमानवीय र गैरकानुनी गतिविधिमा संलग्नलाई कानुनको दायरामा ल्याइने जनाएको छ ।समितिका सदस्य सचिव राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र कार्यक्रम सुरु हुनै लाग्दा प्रहरीद्वारा मञ्चमा गरिएको अश्रुग्यास प्रहारले उत्तेजना बढाएको दाबी गर्छन् । ‘नवराजजी र म एउटै गाडीमा थियौं, गाडीबाट ओर्लिएर स्टेजमा जानेबित्तिकै ८७ वर्षका नवराज सुवेदी बसेको मञ्चमा टियर ग्यास प्रहार भयो,’ उनले भने, ‘टियर ग्यास प्रहार भएपछि त्यहाँ उत्तेजना बढ्यो । हामी केही प्रमुख मान्छे तीनकुनेमै सीमित थियौं । आन्दोलनमा घुसपैठ भयो, जति पनि धनजनको क्षति भयो त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’ आफूहरूले शान्तिपूर्ण आन्दोलन गरेको उल्लेख गर्दै उनले घटनाको जिम्मेवारी आन्दोलनकारीको नहुने भन्दै पन्छिए । समिति संयोजक सुवेदीले पनि प्रहरी हस्तक्षेपका कारण आन्दोलन भड्किन पुगेर स्थिति बिग्रिएको बताए ।

Like