वैशाखसम्म निर्माण सम्पन्नको लक्ष्य

Share to:

रासंसा/काठमाण्डौ, चैत्र ११,

मुलुकमा निर्माणाधीन ग्वार्को फ्लाइओभरको एक हिस्सा पुनर्निर्माण भइरहेको छ। फ्लाइओभरको पुलसँग जोडिएको सातदोबाटोतर्फको रिंगरोडभित्रतिरको पर्खाल बनाउन लगाइएको एउटा स्ल्यापमा ग्याप देखिएपछि पुनर्निर्माण सुरु गरिएको सडक विभाग, गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले जानकारी दिए। ‘र्‍याम्पलाई अडाउन स्ल्याप राखेर त्यसमा माटो हालेर पुरिएको छ। सातदोबाटोको एउटा स्ल्यापमा माटो हालेर पुर्दा पनि ग्याप देखिएपछि पुनर्निर्माण गर्नुपरेको हो। गएको वर्षादेखि नै अब्जरभेसनमा थियो। माथिबाट लोड थप्दा मिल्छ कि भनेर हेरेर बसेका थियौं। तर ग्याप बढ्दै गएपछि भत्काएर नै बनाउनुपर्ने अवस्था सिर्जना भयो,’ उनले अन्नपूर्णसँग भने। करिब ४० मिटर भाग मात्र भत्काएर पुनर्निर्माण गर्न लागिएको भन्दै भण्डारीले ८२ प्रतिशत भौतिक निर्माण सम्पन्न भएको फ्लाइओभरलाई पूरै भत्काउन लागिएको भन्ने नभएको उनले स्पष्ट पारे। अत्याधुनिक प्रविधि प्रयोग गरी बालकुमारीतर्फ ३२० मिटर लम्बाइको र सातदोबाटोतर्फ १८५ मि. लम्बाइको र्‍याम्प निर्माण भइरहेको हो। चैत्रभित्रमा भत्काएको ४० मिटर पुनर्निर्माण सम्पन्न हुने र बाँकी पेभमेन्ट (सडक कालोपिच) को काम सम्पन्न गर्नुपर्ने भण्डारीले जानकारी दिए। सरकार तथा निर्माण कम्पनीको हेलचेक्र्याइँले फ्लाइओभर निर्माण ढिला भइरहेको यातायातविज्ञ इन्जिनियर आशिष गजुरेलले बताए। ‘सम्बन्धित सरोकारवाला सरकारी निकायले अनुगमन गर्दा नै समस्या देखेपछि त्यतिबेलामा नै पुनर्निर्माणका भन्नुपर्ने हो,’ भन्दै गजुरेलले निर्माण कम्पनीले पनि नयाँ प्रविधि भन्दै गुणस्तरसँग सम्झौता गर्न नहुने बताए। २०७८ साल फागुन १२ गते राष्ट्रियस्तरको प्रतिस्पर्धामार्फत आशिष–समानान्तर रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजारमा फ्लाइओभरको ठेक्का पाएको हो। २०८० फागुन १२ गते सम्पन्न गर्ने सुरुको म्यादमा सम्पन्न नभएपछि २०८१ पुस ८ गतेसम्मको म्याद थप भएको थियो। ठेकेदार कम्पनीले पुस ८ गतेसम्म सम्पन्न नगरेपछि चैत मसान्तसम्मको भाका मागेको थियो। उक्त भाकाअनुसार काम भइरहेकोमा ४० मिटरको पुनर्निर्माणले थप एक महिना म्याद पर सरेको केन्द्रका सिनियर डिभिजनल इन्जिनियर भण्डारीले बताए। अब वैशाखभित्र ग्वार्कोको फ्लाइओभर निर्माण सम्पन्न हुने उनले बताए। आयोजनाको भौतिक प्रगति ८२ प्रतिशत र आर्थिक प्रगति ४५ प्रतिशत रहेको छ।काठमाडौं उपत्यकाको चक्रपथमा विद्यमान सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारको नीति तथा कार्यक्रमबमोजिम ललितपुरको ग्वार्को चोकमा फ्लाइओभर निर्माणकार्यको सुरुवात गरिएको हो। ललितपुरको ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभर इन्जिनियरिङ–खरिद र निर्माण (ईपीसी) मोडलमा अघि बढिरहेको छ। यो मोडलअन्तर्गत ठेकेदार कम्पनीले तोकिएको अवधिमा निर्माण सम्पन्न नगरे हर्जना तिर्नुपर्ने व्यवस्थाबमोजिम कम्पनीले हर्जना तिरिरहेको भण्डारी बताउँछन्। यसमा सरकारलाई कुनै पनि भार नपर्ने उनको भनाइ छ।ग्वार्को फ्लाइओभर निर्माणबाट चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबजार–इमाडोल–लुभू सडक खण्डमा सवारी आवागमन सहज हुने अपेक्षा हो। ‘म्याद थपपछि ठेकेदार कम्पनीले काम सक्काउनुपर्ने म्याद २०८१ पुस ८ गतेसम्म थियो। त्योभन्दा पछिको हरेक दिनको ०.०५ प्रतिशत ठेक्का लागतबराबरको हर्जना तिर्नुपर्छ। जति ढिला हुन्छ हर्जना रकम बढ्दै जान्छ र अधिकतम १० प्रतिशतसम्म (२०० सय दिन कटेपछि) पुग्छ,’ इन्जिनियर भण्डारीले बताए।

Like