‘मेरो उत्तराधिकारी चीनबाहिर जन्मिन्छ’, चीनले भन्यो ‘स्वीकार्य छैन’ दलाई लामाको उद्घोष
एजेन्सी/काठमाण्डौ, फाल्गुण २८,
विश्वमा तिब्बती आध्यात्मिक गुरु दलाई लामाले आफ्नो नयाँ पुस्तक ‘भ्वाइस फर दि भ्वाइसलेस्’ मा आफ्नो उत्तराधिकारी चीनबाहिर जन्मिने घोषणा गरेका छन्। यो घोषणाले तिब्बतको धार्मिक नेतृत्वमा बेइजिङको नियन्त्रणलाई चुनौती दिएको छ। ‘पुनर्जन्मको उद्देश्य अघिल्लो नेतृत्वको कार्यलाई निरन्तरता दिनु हो। त्यसैले नयाँ दलाई लामाको जन्म स्वतन्त्र विश्वमा हुनेछ, जसले तिब्बती बौद्ध धर्मको आध्यात्मिक नेतृत्व, विश्वव्यापी करुणाको आवाज, र तिब्बती जनताको आकांक्षाको प्रतीकका रूपमा आफ्नो परम्परागत भूमिका निर्वाह गर्नेछ,’ दलाई लामाले लेखेका छन्। मंगलबार सार्वजनिक पुस्तकमा उनले चिनियाँ नेताहरूसँगको अनुभव र तिब्बतको भविष्यबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका छन्। समाचार संस्था रोयटर्सका अनुसार, ८९ वर्षीय दलाई लामाले पहिलोपटक आफ्नो उत्तराधिकारी ‘स्वतन्त्र विश्व’ मा जन्मिने घोषणा गरेका हुन्। यसअघि उनले पुनर्जन्म नहुन सक्ने वा चीनबाहिर, सम्भवतः भारतमा जन्मिने संकेत गरेका थिए। उनी सन् १९५९ देखि निर्वासनमा भारतमा बस्दै आएका छन्। समाचार संस्था एएफपीका अनुसार, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले मंगलबार दलाई लामालाई ‘धर्मको आवरणमा चीनविरोधी अलगाववादी गतिविधिमा संलग्न राजनीतिक शरणार्थी’ भएको बताएकी थिइन्। दलाई लामाको घोषणाप्रति बेइजिङले आपत्ति जनाएको छ। चीनले तिब्बती धार्मिक नेतृत्वबारे निर्णय गर्ने अधिकार आफूलाई मात्र रहेको दाबी गरेको छ। ‘जिउँदो बुद्धहरूको पुनर्जन्म, दलाई लामासहित, चिनियाँ कानुन र ऐतिहासिक परम्पराअनुसार हुनुपर्छ… यसमा केन्द्रीय सरकारको अनुमोदन आवश्यक छ,’ माओको भनाइ उद्धृत गर्दै एएफपीले जनाएको छ। दलाई लामाले आफ्नो पुस्तकमा तिब्बतको स्वतन्त्रताको प्रयासमा दशकौं लगाएको संघर्ष उल्लेख गरेका छन्। उनले माओ जेडोङदेखि राष्ट्रपति सी जिनपिङसम्मका चिनियाँ नेताहरूसँगको भेटघाट र संवादको अनुभव प्रस्तुत गरेका छन्। चीनले तिब्बतलाई आफ्नो अभिन्न हिस्सा दाबी गर्दै आएको छ भने १९५० मा गरेको नियन्त्रणलाई ‘शान्तिपूर्ण मुक्तिगमन’ बताउँदै आएको छ। तर, बेइजिङ र तिब्बती नेताहरूबीच सन् २०१० यता कुनै औपचारिक वार्ता भएको छैन। ‘कुनै पनि अधिनायकवादी शासन – चाहे त्यो व्यक्ति होस् वा पार्टी – सधैं टिक्न सक्दैन, किनकि तिनीहरू आफ्नै जनताको अधिकार कुण्ठित गर्छन्,’ उनले लेखेका छन्। भारतमा रहेको तिब्बती प्रशासन पूर्ण स्वतन्त्रता होइन, तर ‘मध्यम मार्ग’ रणनीतिअन्तर्गत अधिक स्वायत्तताको माग गरिरहेको छ। दलाई लामाले सन् २०११ मा निर्वासन सरकारको राजनीतिक नेतृत्व त्यागेर लोकतान्त्रिक रूपमा निर्वाचित नेता पेन्पा सेरिङलाई जिम्मेवारी हस्तान्तरण गरेका थिए। चीनले भने तिब्बती निर्वासन सरकारलाई ‘कठपुतली प्रशासन’ बताउँदै आएको छ। बेइजिङले दलाई लामाले तिब्बत र ताइवानलाई चीनको अविभाज्य अंग मानेर मात्रै वार्ता सम्भव हुने अडान लिएको छ, जुन तिब्बती संसदले अस्वीकार गरेको थियो। ‘तिब्बती जनताको आफ्नो मातृभूमिमाथिको अधिकार अनन्तसम्म अस्वीकार गर्न सकिँदैन, न त उनीहरूको स्वतन्त्रताको चाहनालाई दमन गरेर सधैंभरि दबाउन सकिन्छ,’ उनले लेखेका छन्। ८९ वर्षीय दलाई लामाले अब तिब्बत फर्कन ‘अत्यन्त कठिन’ रहेको स्वीकारेका छन्। तर, उनले तिब्बती आन्दोलनलाई भविष्यमा पनि रोक्न नसकिने दाबी गरे। विश्वभरका तिब्बतीहरूले दलाई लामा परम्पराको निरन्तरता सुनिश्चित गर्न उनलाई आग्रह गरिरहेका छन्। तिब्बती परम्पराअनुसार, एक वरिष्ठ बौद्ध गुरुको आत्मा बालकको रूपमा पुनर्जन्म हुने विश्वास गरिन्छ। दलाई लामा आफैंलाई दुई वर्षको उमेरमा पुनर्जन्मका रूपमा पहिचान गरिएको थियो। तर, बेइजिङले नयाँ दलाई लामा छनोट गर्ने अडान राखेकाले दलाई लामाको यो घोषणाले तिब्बतको भविष्यबारे विवाद अझै लम्बिने देखिन्छ। स्वास्थ्यका केही समस्याहरूका बाबजुद, दलाई लामाले गत डिसेम्बरमा रोयटर्सलाई आफू ११० वर्षसम्म बाँच्छु भन्ने विश्वास व्यक्त गरेका थिए। उनले आगामी जुलाईमा ९० औं जन्मदिन मनाउने क्रममा आफ्ना उत्तराधिकारीबारे थप जानकारी सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।