मिथिला परिक्रमामा पाइला–पाइलामा पुण्य
भोगेंद्रलाल कर्ण/धनुषा, फाल्गुण २६,
मुलुकमा एउटा हातमा पाल बनाउने बाँसका खम्बा, अर्को हातमा लुगाफाटोको झोला । शिरमा खानेकुराको पोको । ओठमा मुस्कानसहित जय सियारामको स्तुति गर्देै नेपाल र भारतका लाखौं भक्तजन मिथिला परिक्रमामा सहभागी छन् । नेपाल–भारतको सांस्कृतिक सेतु हो, माध्यमिकी मिथिला परिक्रमा । धनुषा, महोत्तरी तथा भारतको उत्तरी बिहारका धार्मिक, ऐतिहासिक स्थानहरू समेट्ने ‘मिथिला परिक्रमा’ एउटा महत्त्वपूर्ण धार्मिक तीर्थस्थलको रूपमा स्थापित छ । मिथिला परिक्रमामा नेपालको १ सय ८ र भारतको २७ गरी करिब १ सय ३५ किलोमिटरको पैदलयात्रा गर्नुपर्छ । साधु सन्त, गृहिणी तथा हजारौं श्रद्धालु भक्तजनहरूको सहभागिता रहन्छ । तर ठाउँमा कच्ची बाटो, भत्केका पुलपुलेसा र खाल्डाखुल्डीका कारण परिक्रमामा सहभागी हुनेहरूले दुःख कष्ट व्यहोर्ने गरेका छन् । मिथिलाको सांस्कृतिक धरोहरको रूपमा रहेको १५ दिने माध्यमिकी परिक्रमाले यस क्षेत्रको माहोल नै उत्सवमय छ । सन्त महन्थको सहर जनकपुर र यस वरिपरिको क्षेत्रमा अर्कै रौनक छ । यसैकारण परिक्रमामा लाखौं श्रद्धालु सहभागी हुने गरे पनि पर्यटकीय क्षेत्रको रूपमा विकास हुन सकेको छैन । सन् १८१६ मा भएको सुगौली सन्धिले प्राचीन मिथिलालाई नेपाल र भारतमा छुट्ट्यायो । तर, पनि मिथिला परिक्रमाको आस्थामा भने दुवै देशका नागरिकको उत्तिकै श्रद्धा, सम्मान र सहभागिता रहने गरेको छ । २०४९ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला भारत भ्रमणमा जाँदा परिक्रमा सडक निर्माण गर्ने दुई देशबीच सहमति भएको थियो । तर, अझै पक्की सडक निर्माण हुन सकेको छैन । परिक्रमा सडकको निर्माण नहुँदा आन्तरिक पर्यटन व्यवसायसमेत फस्टाउन सकेको छैन । परिक्रमामा सडक निर्माण भए धनुषा र महोत्तरीका साथै भारतीय मधुवनी जिल्ला पनि जोडिनेछ । यसले दुवै देशको सांस्कृतिक र आर्थिक विकासमा टेवा पुग्नेछ । मिथिला परिक्रमाको आध्यात्मिक पक्ष हो– सुखको क्षणिकता प्रदर्शन । परिक्रमा आफैंमा एउटा गन्तव्य हो भन्ने स्वीकार गर्नु पनि हो ।मिथिला–परिक्रमा तीन प्रकारका छन् । बृहद्, मध्य र अन्तरगृह । ‘बृहद् परिक्रमा’ तत्कालीन मिथिला राज्य अर्थात् उत्तरमा हिमालय पर्वतको फेदीबाट सुरु भएर पूर्व कोशी, दक्षिण गंगा, पश्चिम गण्डकी हुँदै सुरु भएकै ठाउँमा आएर टुंगिन्छ । यसरी मिथिला महात्ममा हरिहर क्षेत्रबाट प्रारम्भ भई गण्डकी नदीको किनारा हुँदै हिमालय क्षेत्र, कोशी नदी भएर पुनः हरिहर क्षेत्रमा समापन हुने बृहद् परिक्रमाको चर्चा भएको पाइन्छ । हिजोआज साधु–सन्तबाहेक सर्वसाधारणले बृहद् परिक्रमामा सहभागी हुन छोडेका छन् । माध्यमिकी परिक्रमा करिब ६० वर्ष अघिदेखि मिथिला महात्मको कथावाचन मुख्य पण्डित रामदुलारी शरणले गरे । उनको निधनपछि मिथिला महात्मको कथावाचन उनका शिष्य शिया राघव शरणले गरिरहे । आम मानिस ‘मध्य–परिक्रमा’प्रति बढी आकर्षित छन् । सर्वप्रथम ‘मिथिला महात्म्य’ मा वर्णन गरिएको मध्य–परिक्रमाको सुरुआत १८औँ शताब्दीभन्दा केहीपहिले भएको हुनुपर्दछ भन्ने इतिहासविद्हरूको कथन छ । आधुनिक जनकपुरलाई पुनः चिनाउने महात्मा सुरकिशोरले परिक्रमा मार्ग पत्ता लगाएपछि सीतामढी मठका सीताप्रसाद र बराही मठका सुरदास साधुले मध्य–परिक्रमा आरम्भ गरेको बताइन्छ । २०औं शताब्दीको प्रारम्भतिर जनकपुरधामका रामानन्दी वैष्णव साधुहरूले पाँच दिनमा पूरा हुने परिक्रमालाई पन्ध्रदिने बनाए । यस कार्यमा साधु प्रेमलता, सीतामढीका साधु सिद्धबाबा र जनकपुरधामका सन्त वैदेही शरणको भूमिका उल्लेखनीय मानिन्छ । पहिला–पहिला साधुसन्तहरूको मात्र सहभागिता रहने परिक्रमाले विस्तारै जनसाधारणको ध्यान पनि आकृष्ट गर्यो । जसकारण यसमा गृहस्थहरू समेत सहभागी हुन थालेका छन् । माध्यमिकी परिक्रमा धनुषाको मिथिला बिहारी नगरपालिकाको ठेरा कचुरीबाट मिथिला बिहारीको डोला तथा जनकपुरधामको अग्निकुण्डस्थित सुन्दर सदनबाट किशोरीजीको डोला नै परिक्रमाको मुख्य आकर्षण हो । डोलामा सीतारामको प्रतिमा राखिएको हुन्छ । जनकपुरस्थित रत्नसागर स्थानका स्वर्गीय महन्थ बाबा नारायण दासले करिब डेढ सय वर्ष पूर्वदेखि साधुसन्तलाई लिएर वनजंगलको बाटो भएर माध्यमिकी परिक्रमालाई मिथिला महात्मको निर्देशानुसार फेरि सुरुवात गरेको बताइन्छ । त्यसलाई करिब ५० वर्षपछि सीताकुण्डका महन्थ परमहंश सियालाल शरणले साधुसन्तसहित बाजागाजाका साथ परिक्रमा गरेका थिए । परिक्रमाको महत्त्व बढाउने तथा वैष्णव सम्प्रदायको प्रवद्र्धनमा महन्थ परमहंसको उल्लेखनीय योगदान मानिन्छ । यो महोत्सवमा धनुषा, कचुरी गाउँको मिथिलाबिहारी मठबाट राम–जानकीको डोली जनकपुरधामको रत्नसागर हुँदै जानकी मन्दिर पुर्याइन्छ । त्यहाँबाट जानकीको डोला र जनकपुरका अरू मन्दिरहरूबाट ल्याइएका डोलाहरू समेत समावेश गरेर परिक्रमा–यात्रा आरम्भ हुन्छ । डोलीका पछि–पछि ढोल, पिपही आदिको वादन, नरनारीहरूको सहभागिता, भजन–कीर्तन आदिले मिथिलाका मौलिक सांस्कृतिक भक्तिमय छँटाले जो कोही पनि सहजै मोहित हुन् सक्छन् । यस्तै झाँकीका साथ भक्तजनहरूको विशाल समूहले १५ दिनसम्म मिथिलाको तत्कालीन राजधानी क्षेत्रको चारैतिर रहेका धार्मिक स्थलहरूको परिक्रमा गर्छन् । नेपाल र भारत दुवै मुलुकका धार्मिक, सांस्कृतिक एवं आपसी सद्भावको प्रतीक बनेको परिक्रमा यात्राको नेपालमा ११ तथा भारतमा ४ गरी जम्मा १५ वटा प्रमुख स्थान छन् । परिक्रमा प्रारम्भको दुई स्थान कल्याणनेश्वर र गिरिजास्थान भारतमा र नेपालमा महोत्तरीको मठिहानी, जलेश्वर, धुव्रकुण्ड, कञ्चनवन, क्षीरेश्वरनाथ तथा धनुषाको पर्वता, धनुषाधाम, औरहीमा वि श्राम गर्दै अन्त्यमा भारतीय क्षेत्रको करुणा र विशौल हुँदै जनकपुरधाममा अन्तगृह घुम्ने गरिन्छ । यो धर्मयात्राबाट सत्कर्म, पाप तथा अन्य कष्टबाट मुक्ति पाउनुको साथै मनोवाञ्छित फल प्राप्त हुने जनविश्वास रहँदै आएको छ । परिक्रमा गर्नाले हरेक पाइला–पाइलामा पुण्य कमाइने विश्वास छ । मिथिला परिक्रममा र फागुको सम्बन्ध मिथिला–परिक्रमाको फागु पर्वसँग पनि गहिरो सम्बन्ध छ । प्रेम र भाइचारा अभिवृद्धि गर्ने सांस्कृतिक पर्व फागु यहाँ मज्जाले मनाइन्छ । यस्तै कर्णप्रिय फागु गीत र जोगिराले परिक्रमा यात्रा मनोरम हुन्छ । तर कञ्चनवनमा फागुको बेग्लै आनन्द हुन्छ । यहाँ फागुको रौनक उत्कर्षमा हुन्छ । लामा लामा दाह्री जुँगा भएका बाबाजी, साधुसन्त, नरनारी, गृहिणी, परिक्रमावासी तथा स्थानीय रंगबिरंगी रंग अबिरमा रंगिएका हुन्छन् । यसरी हर्षोल्लासमय वातावरणमा फागुको रंग चढ्दै जान्छ । पर्वता, कञ्चनवनबाट नवौं दिनको यात्रा सुरु गर्ने भक्तजनहरू बीचमा पर्ने क्षीरेश्वरनाथ महादेवको दर्शन एवं जलाइद नदीमा स्नान गरेर बास बस्न पर्वता आइपुग्छन् । ढल्केबरबाट जनकपुर जाने कच्ची बाटोमा पर्ने पर्वतामा हनुमानको मन्दिर छ ।
हो हो किनकाके हाथ अबिर झोरी
किनकाके हाथ कनक पिचकारी
रामजीकेँ हाथ कनक पिचकारी
सियाजीकेँ हाथ अबिर झोरी
रामजानकीको मन्दिर रहेको यस ठाउँमा करुणा नामकै पोखरी छ । भारतकै विशाल परिक्रमा यात्रीहरूको चौधौं दिनको गन्तव्य हो । यहाँ विश्वामित्रको मन्दिर छ र कमला नदी यहीँबाट बग्दछ । परिक्रमा यात्राको अन्तिम पन्ध्रौं दिनमा (फागुन पूर्णिमा) सहभागी भक्तजनहरू जनकपुरधाम आइपुग्छन् र यहाँका विभिन्न तीर्थस्थलहरूको दर्शन गर्दै अन्तरगृही परिक्रमामा सामेल हुन्छन् । यहीँबाट मिथिला–मध्य परिक्रमाको विसर्जन हुन्छ । जसमा राजा जनकले आफ्नो राजधानीको चार कुनामा स्थापना गरेका चारवटा महादेव–पीठ पूर्वको कल्यानेश्वर (हाल भारतमा), दक्षिणको जलेश्वरनाथ (जलेश्वर, महोत्तरी), पश्चिमको क्षीरेश्वरनाथ (महेन्द्रनगर, धनुषा) र उत्तरको सतोखर (धनुषा) पर्छन् । अन्तिम अर्थात् पन्ध्रौं दिन फेरि जनकपुर आइपुगेर जनकपुरको पाँच कोश दूरीको परिक्रमा गरेपछि यात्रा सम्पन्न हुन्छ, जसलाई अन्तरगृही अथवा पञ्चकोशी परिक्रमा भनिन्छ । अन्तरगृह परिक्रमाको सीमाक्षेत्र जनकपुर नगरपालिकाभित्र पर्दछ । यहाँ चोकचोकमा समेत जलाएको हुन्छ । त्यही धुलोलाई स्पर्श र प्रणाम गर्दै परिक्रमा प्रारम्भ गरिन्छ । दसौं दिन यात्री धनुषाधाम पुग्छन् । सीताजीसँग स्वयम्बर हुनुअघि भगवान् रामले भाँचेको धनुको एउटा टुक्रो खसेको विश्वास गरिएको यो ठाउँ धनुष दर्शनको लागि प्रख्यात छ । विवाहपञ्चमी र रामनवमीका बेला पनि ठूलो मेला लाग्ने धनुषाधाममा बाणगंगा नदी र उत्तरपट्टि करिब पाँच सय बिघामा फैलिएको नयाँ वन क्षेत्रले यो ठाउँलाई रमणीय बनाएको छ । एघारौं दिन यात्रीहरू सतोखर पुग्छन् । राममन्दिर र पोखरी भएको ठाउँमा असार–साउनतिर हुने बोलबम र झुला पर्व पनि राम्रोसँग मनाइन्छ । बाह्रौं दिन यात्रुहरू औरही पुग्छन् । जनकपुर–जयनगर रेल्वेको तेस्रो बिसौनी वैदेही नजिकै रहेको औरहीमा भक्तजनहरू विमला खोलामा स्नान गरी रामजानकी मन्दिरमा दर्शन गर्छन् । तेह्रौं दिन परिक्रमा यात्रा फेरि भारत भूमि प्रवेश गर्दछ र यात्रीहरू करुणामा पुगेर वि श्राम गर्दछन् । मिथिला परिक्रमाको बेग्लै आर्थिक महत्त्व पनि छ, जसले कृषि, पेसा र बजारलाई पनि एकीकृत गर्दछ । तर, त्योभन्दा माथि छ, जनकले जोतेको दृष्टान्तको महात्म्य । मिथिला परिक्रमाको क्रममा डोला उठ्दा वा बस्दा हरेक पटक गुञ्जिने गर्छ, ‘जय जय हो किशोरीजी ! मोटा पर मोटरी जय सियाराम ।’ किशोरीजी भन्नले मिथिलाकी छोरी सीता जनाउँछ । यसैक्रममा रंगअबिर खेलिसकेपछि मिथिलामा ‘धुरखेल’ अर्थात् ‘जे जीए से खेले फागु जे मरए से लेखा लए’ भन्दै धुलो छ्यापेर रमाइलो गर्ने चलन छ । जनकपुरमा परिक्रमा सकिएपछि फागु खेलिने प्रचलन छ । सर्वाधिक मानिसले १५ दिनमा, त्यसभन्दा कम ५ दिनमा र २४ घण्टामा समेत परिक्रमा घुम्ने गर्छन् । परिक्रमाका सहभागीहरूका लागि गाउँगाउँमा श्रद्धालुहरूले खानपिनका साथै सेवा–सत्कारको व्यवस्था गरेका हुन्छन् । यसमा सहभागी भक्तजनहरूले निर्वाह गर्ने धार्मिक मूल्यमान्यता पनि हुन्छ । मिथिलावासीका साथै नेपालका र भारतका विभिन्न प्रान्तबाट पनि भक्तजनहरू आउँछन् । यो उत्सवलाई मिथिलावासीहरू खेतीपाती धान भित्र्याउने काम सकेर रमाइलो, धर्म–कर्म तथा भ्रमण गर्ने मौकाको रूपमा पनि लिन्छन् ।