ओमान मानव तस्करीको ट्रान्जिट प्वाइन्ट बन्दै
रासंसा/काठमाण्डौ, फाल्गुण २६,
मुलुकमा भिजिट भिसाको आवरणमा सुरक्षाकर्मी, अध्यागमन र नेपाल एयरलाइन्सका कर्मचारीको मिलेमतोमा खुलमखुला मानव तस्करी हुने गरेको छ । नेपालबाट विशेषगरी खाडी मुलुकतर्फ नेपाली महिलाहरूको अवैध तस्करी भइरहेको प्रहरी स्रोतको दाबी छ । तर, पछि अनुसन्धानमा खटिएको प्रहरीले अध्यागमनकै कर्मचारीको मिलेमतोमा भिजिट भिसामा मानव तस्करी हुने गरेको फेला पारेपछि पुनः ब्युरोको टोली परिचालन भएको थियो । भिजिट भिसामा हुने मानव तस्करी नरोकिएपछि प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो नै खटाएको भए पनि त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्न नसकेको बताइएको छ । विमानस्थलबाट भिजिट भिसामा दुबईमा मात्रै दैनिक २ सय ५० जनाभन्दा धेरै मानव तस्करी हुन थालेपछि ब्युरोले डेढ वर्षअघिबाटै टोली परिचालन गरे पनि अध्यागमन कर्मचारीको विरोधपछि फिर्ता भएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओमन हुँदै कुवेत, दुबई, साउदी अरेबिया, कतार, सिरिया, इराक, बहराइनमा नेपाली महिलाको तस्करीको क्रम निरन्तर बढिरहेको छ । दुबई सरकारले भिजिट भिसामा कडाइ गरेपछि विभिन्न ट्राभल एजेन्सीहरूले ओमनलाई ट्रान्जिट प्वाइन्ट बनाएर मानव तस्करी गर्ने गरेको प्रहरीले बताएको छ । २०७३ सालबाट खाडी मुलुकमा महिलालाई घरेलु कामदारका रूपमा जान सरकारले रोके पनि खाडी मुलुकमा दैनिकजसो विभिन्न माध्यमबाट गैरकानुनी रूपमा महिलाहरू तस्करीको सिकार भइरहेका छन् । विशेष गरेर ग्रामीण क्षेत्रका महिला एवं किशोरीहरूलाई रोजगारीको प्रलोभनमा तस्करी गर्ने गरिएको छ । सरकारले भिजिट भिसामा जानका लागि ६ बुँदे मापदण्डलाई आधार बनाए पनि काठमाडौंका विभिन्न ट्राभल एजेन्सीले महिलाहरूलाई खाडी मुलुकमा पु¥याइरहेका छन् । नेपालका विभिन्न एयरलाइन्स कम्पनीहरूको संलग्नतामा मानव तस्करी गर्ने गरिएको छ । कुवेत एयरवेज र जजिरा एयरवेजमा विशेषगरी मानव तस्करी हुने गरेको पाइएको छ । काठमाडौंबाट कुवेत र कुवेतबाट कतारको टिकट जारी भए पनि बीचमा कुवेत ट्रान्जिट भएकाले ती महिला कुवेतमै झर्ने गरेका छन् । सरकारले जारी गरेको ६ बुँदे मापदण्ड १० माघ २०८० देखि लागू भएको थियो । जसअनुसार भिजिट भिसा तथा पर्यटक भिसाका लागि आवश्यक कागजपत्रहरूको विवरण तोकेको भए पनि त्यसलाई नै नक्कली बनाउने गरिएको छ । तस्कर समूहले यस्ता कागजात नक्कली बनाएर पठाउने गरेका थिए । जसमा अध्यागमनका कर्मचारीसँग पनि सेटिङ मिलाउनुपथ्र्यो । अहिले भिजिट भिसामा जान चाहनेका लागि होटेल बुकिङ, जहाजको टिकट र भिसा भए पुग्छ । जसमा विगतमा जस्तो धेरै खर्च पनि नलाग्ने भएकाले तस्करलाई थप सहज भएको छ । तस्करले सहजतामा खेलेर मानव तस्करी गरिरहेका छन् । प्रहरीका अनुसार दुबईमा मात्रै कम्तीमा दैनिक २ सय ५० महिलाको तस्करी हुन्छ । जसका लागि प्रयोग हुने भिजिट भिसा हो । पहिला भिजिट भिसामा दुबई जानका लागि प्रहरी रिपोर्ट, १२ कक्षा पास गरेको शैक्षिक प्रमाणपत्र र बैंक स्टेटमेन्ट अनिवार्य गरिएको थियो । उनीहरू एकतर्फी मात्र हवाई टिकटमा बोर्डिङ पास जारी गरी महिलाहरू पठाउन संलग्न हुने गरेका छन् भने विभिन्न ट्राभल एजेन्सीका सञ्चालकसँग एक जना महिला पठाउन एयरलाइन्सका कर्मचारीले १० हजार रुपैयाँसम्म रकम असुल्ने गरेको, दुईतर्फी टिकटमध्ये एकतर्फीमा बोर्डिङ पास जारी गरिने र रिटर्न टिकट नक्कली बनाउने गरिएको पाइएको छ । यी सबै मापदण्डलाई टेकेर भिजिट भिसामा दैनिकजसो २ सय जना महिलाको मानव तस्कर हुने गरेको छ । यसमा अध्यागमन विभाग, गृह मन्त्रालय, विभिन्न एयरलाइन्सका कर्मचारीको संलग्नता भएको आशंका गर्ने ठाउँ प्रशस्तै छ । मापदण्डमा अनिवार्य रूपमा ५ सय डलर हुने भनिएता पनि ५ सय अमेरिकी डलरबिना नै एयरलाइन्सका कर्मचारीले बोर्डिङ पास जारी गर्ने गरेको, बिनाडलर महिलाहरूलाई बोर्डिङ पास जारी गरिने गरिएको छ । खाडी मुलुकमा २०७३ सालदेखि हालसम्म २ लाख नेपाली महिला अवैधानिक रूपमा घरेलु कामदारमा गएका पाइएको छ । अवैधानिक रूपमा ती महिला जाँदा सरकारसँग यकिन तथ्यांकसमेत नहुने र ती महिलाले विभिन्न तरिकाले शारीरिक र यौन शोषणसमेत भोग्नुपरेको छ ।