ज्ञानेन्द्रले अर्को मुर्खता गरे अस्तित्व नै समाप्त हुन्छ – अक्षय प्रचण्ड

Share to:

रासंसा/रौतहट,फाल्गुण २४,

मुलुकमा पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा ठूला-ठूला गलती गरेका पूर्वराजा ज्ञानेन्द्र शाहले अब फेरि अर्को मुर्खता गरे अस्तित्व नै समाप्त हुने चेतावनी दिएका छन्। हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका क्रममा आज बिहार मर्निङ वाकपछि गरुडामा पत्रकारसँग संक्षिप्त कुरा गर्दै उनले यदि ज्ञानेन्द्रलाई राजनीति नै गर्नुछ भने पार्टी खोलेर चुनावमा आउन सुझाव दिएका छन्।
पहिले एकपटक मुर्खता गर्दा नेपाली जनताले कारबाहीको सट्टा उदारतापूर्वक आरामले बस्न दिएको भन्दै त्यसलाई कमजोरी ठानेर अर्को मुर्खता गरे उनको अस्तित्व नै समाप्त हुने प्रचण्डले चेतावनी दिएका हुन्। एक प्रश्नको जवाफमा उनले ‘अब राजसंस्था फर्किन असम्भव छ, हल्लाखल्ला गरिएको छ तर इतिहाँसको जग पछाडि फर्काउन नसकिने’ बताए। यअघि गएराति स्थानीय गढिमाई नगरपालिका-९ मलाही टोलमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरी ३०० जना नेता कार्यकर्ता माओवादी पार्टीमा प्रवेश गरेका छन्। नवप्रवेशीहरुलाई अध्यक्ष प्रचण्डले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका थिए। प्रचण्डले अर्को प्रश्नको जवाफमा कुलमान घिसिङले सँधैं घाटामा रहेको संस्था विद्युत प्राधिकरणलाई नाफामा ल्याएर देशमा लोडसेडिङको अन्त्य गरेको बताए। त्यस्ता मानिसलाई सरकारले हटाउन खोजे नेपाली जनता चुप लागेर नबस्ने प्रतिक्रिया उनले दिएका छन्। प्रवेश गर्नेहरूमा एमाले चन्द्रपुर नगर उपाध्यक्ष एवम् तामाङ लोकतान्त्रिक मोर्चाका जिल्ला अध्यक्ष लालबहादुर दोङ, आमजनता पार्टीका केन्द्रीय सदस्य अरुण पासवान, काङ्ग्रेसका बली सहनीलगायत रहेका छन्। तराई मधेस जागरण अभियानअन्तर्गत आज रौतहटको दक्षिणी भेग परोहा नगरपालिका लौकाहमा आयोजना भइरहेको सभालाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

Like