पत्रकारमाथि दुर्व्यवहार गर्ने र अनावश्यक दबाब दिनु खेदजनक – महासंघ
रासंसा/काठमाण्डौ, फाल्गुण १०,
ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार परियोजना र नो केबलकार समूहबीच भइरहेको पछिल्लो घटनाक्रमको समाचार संप्रेषण सम्बन्धमा भइरहेको टीकाटिप्पणीप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। यस किसिमका घटना दोहोरिन नदिनेतर्फ गम्भीर हुन, प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारलाई सहज रूपमा समाचार संकलन तथा संप्रेषणको वातावरण मिलाउन महासंघले सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ। संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको निर्वाध उपभोग गर्न पाउने पत्रकारको अधिकारको सम्मान गर्नु हरेक पक्षको दायित्व भएको बताउँदै महासंघले कुनै पनि पक्षबाट यो या त्यो बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्ने र अनावश्यक दबाब दिनेजस्ता हर्कत हुनु स्वतन्त्रता र व्यावसायिक पत्रकारितामाथिको हस्तक्षेप खेदजनक भएको उल्लेख गरेको छ। महासंघले भनेको छ, ‘व्यावसायिक पत्रकारिताका लागि पत्रकार आचारसंहिता महत्वपूर्ण आधार हो। यो घटनाका सन्दर्भमा पत्रकार आचारसंहिताको दायरामा रहेर पत्रकारिताको पेशागत मर्यादा कायम राख्दै तथ्यपरक, निष्पक्ष एवं मर्यादित भई समाचार एवं सूचना प्रवाहका लागि महासंघ सम्बन्धित सबै सञ्चारकर्मी र सञ्चार माध्यमहरूलाई आग्रह गर्दछ।’साथै, महासंघ केबलकार परियोजना र नो केबलकार समूहबीच उत्पन्न विवादलाई वार्ता, छलफल र समझदारीका माध्यमबाट समाधान खोज्न सकिने प्रचलित अभ्यासको स्मरण गराउँदै यसतर्फ पहल गर्न सम्बद्ध पक्ष समक्ष आग्रह गर्दै यसतर्फ प्रेरित गराउन सञ्चारकर्मीहरूलाई अपिल समेत गरेको महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ। समाचार बनाउँदा विषयवस्तुलाई अतिरञ्जित नगरी पत्रकारिताको मूल्यमान्यता पालना गर्न र महासंघ सुरक्षाको ख्याल गर्दै आफ्नो पेशागत धर्म निर्वाह गर्न सम्पूर्ण सञ्चारकर्मीहरूलाई आग्रह पनि महासंघले गरेको छ।