आज गोरखकाली पूजा, सामाजिक न्याय दिवस
रासंसा/काठमाण्डौ, फाल्गुन ८,
ॐ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी।
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोऽस्तुते॥
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
गोरखकाली पूजा
विजयी (जयन्ती), शुभ (मंगला), काली (उग्र), भद्रकाली (कपालिनी) र कपाल धारण गर्ने देवीलाई नमस्कार छ। उनी दुर्गा (अपराजेय), शिव (शुभ), क्षमा (क्षमाको अवतार), धात्री (समर्थक), र पवित्र उपहार (स्वाह र स्वाधा) हुन्।
बाबा गोरख र गोरखकाली को नेपाली इतिहासमा असाध्यै धेरै महत्त्व छ । पृथ्वी नारायण शाह र बाबा गोरख बिचको भेट, पृथ्वी नारायण शाहको गोडामा पर्न गएको बान्ता र बाबा गोरखले पृथ्वी नारायण शाहलाई दिएको जहाँ जहाँ टेकिन्छ त्यहाँ त्यहाँ विजय हुनु भन्ने आर्सीवाद नै नेपाल एकीकरणको एउटा असाध्य बलको ऊर्जा र सामर्थ्यको कारण पनि मानिन्छ । यिनै बाबा गोरखको नामसँग आसन्न शाहवंश राजाहरूको उद्गम जिल्ला गोर्खा अनि गोरखकाली मन्दिरको नेपालको पूर्व राजपरिवारमा विशेष महत्त्व छ । स्मरण रहोस्, बाबा गोरखको इतिहासमा गोरखा दरबार र राजवंश का साथै पशुपतिको मृगस्थलीमा भएको गोरख मन्दिर र त्यहाँ बाबाले गर्नुभएको १५ वर्षको ध्यानको कुरा पनि जोडिएर आउँछ । मृगस्थलीको गोरखा मन्दिर संरक्षण र ब्यबस्थापनको कमीमा बेवास्ता गरिएको अवस्था मा छ । बाबा मछिन्द्रनाथका अनन्य भक्त गोरखनाथ बाबा को महिमा नेपाल भारत लगायत विश्वभरि कै सनातन समुदायमा विशेष छ । गोरखा दरबार क्षेत्रमा गोरखकाली देवीको पीठ छ । यसै पीठलाई शाह वंशको कूलदेवी मानिन्छ । पौष कृष्ण अष्टमीमा गोरखालीको पूजा अर्चना गर्ने चलन रहन्छ । आज गोरखाको गोरखकाली मन्दिरमा विशेष पूजा अर्चना गरिन्छ । गौ रक्षा गर्नका लागि बाबा गोरख र गोरखकाली देवीको आशिष् नेपाली जनलाई थप चाहिएको छ । यसै गोरखकाली मन्दिरमा जमरा राखेर फूलपातीका दिन काठमाडौँ ल्याउने चलन सैयौं वर्ष देखि चलिआएको थियो । गणतन्त्र पछिका वर्षहरुमा यस्ता चलनहरुमा खासै वास्ता दिइएको छैन यद्यपि नेपाली भूमिको रक्षामा बाबा गोरख र गोरखकाली देवीको महत्त्व अतुलनीय रहेको छ ।
गुरु गोरखनाथ भन्नुहुन्छ– ‘‘देवलहरुको, देवालयहरुको यात्रा सुनो यात्रा हो” अर्थात् देवालयहरुको परिभ्रमण आदि आध्यात्मिक हिसाबले अर्थहीन छन् , शून्य बराबर छन् , निष्प्राण छन् –
देवल जात्रा सुंनि जात्रा, तीरथ जात्रा पाणीं ।
अतीत जात्रा सुफल जात्रा, बोलै अमृत वाणी ।
हुन त देवालयहरुको भूमिका, धर्म र संस्कृतिका हिसाबले अत्यन्तै महत्वपूर्ण छ तर यदि जात्रा छ किन्तु श्रद्धा छैन, भाव छैन र भक्ति छैन भने ‘‘देवल जात्रा” मात्र गरेर पनि के फाइदा हुन्छ र ? मूर्तिको पूजा चाहिं गर्ने मान्छेको पूजा नगर्ने ! देवालय धाउने तर घरलाई चाहिं देवालय बनाउन नसक्ने ! मन्दिरका देउताको पूजा गर्ने तर आफूमा देवत्व जगाउन नसक्ने ! सानो परिधि र परिसरमा ढुङ्गाले बनेका देउतालाई चाहिं फलफूल, नैवेद्य आदि चढाउने तर प्रत्येक मानवमा, पशुपंक्षीमा देवत्वको वास छ भनी नस्वीकार्ने ! एवं सेवा गर्न नसक्ने ! आदि यस्ता धार्मिक आडम्बरीपनलाई देखेर नै गुरु गोरखनाथले खडी भाषामा(प्राकृत भाषामा, जनभाषामा, देहाती भाषामा) ठाडो व्यङ्गय गर्नुभएको हो । बाबा गोरखनाथ र गोरखकाली भगवतीको अनन्त कालसम्म जय होस् ।
सामाजिक न्याय दिवस
नेपालमा सामाजिक न्याय र सुरक्षाका लागि ज्येष्ठ नागरिक, एकल महिला, अपाङ्ग, पिछडिएको समुदाय, लोपोन्मुख आदिवासी÷जनजाति, बालबालिका आदिका नाममा सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आएको अवस्था छ । उक्त सामाजिक सुरक्षा भत्ता वितरणमा आर्थिक सामाजिक स्तरीकरण नहुँदा जोखिममा परेका समुदाय र सबल समुदायका व्यक्तिले समान रूपमा सो सुविधा उपयोग गरेको अवस्था छ । नेपालको सामाजिक सुरक्षाका कार्यक्रमलाई पुनरावलोकन गरी सामाजिक न्यायमैत्री बनाउनु उपयुक्त हुने देखिन्छ । यसै गरी नेपालको विकास कार्यक्रमहरूले मूलधारमा नभएका जनसमुदाय र भौगोलिक क्षेत्रलाई मूलधारमा ल्याउने गरी समावेशी विकास गरेको अवस्था नदेखिँदा पनि यस विषयमा व्यापक विश्लेषण गरी विकास व्यवस्थापनमा समेत पुनरावलोकन हुनु जरुरी देखिन्छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (ILO) ले 10 जुन सन् २००८ मा निष्पक्ष विश्वव्यापीकरणको परिपक्ष्यमा सामाजिक न्यायको लागि ILO घोषणा सर्वसम्मतिले पारित गर्यो। यो अन्तर्राष्ट्रिय श्रम सम्मेलन द्वारा अपनाएको सिद्धान्त र नीतिहरूको तेस्रो प्रमुख सिद्धान्त थियो । सन् १९४४ को फिलाडेल्फिया घोषणा र सन् १९९८ को कार्य मा मौलिक सिद्धान्त र अधिकार सम्बन्धी घोषणा पछिको सबैभन्दा महत्त्वपूर्ण घोषणा मध्यको यस घोषणाले विश्वव्यापीकरणको युगमा आईएलओको जनादेशको समकालीन दृष्टिकोण व्यक्त गर्दछ। आइएलओ लगायत अन्य धेरै सामाजिक न्यायमा कार्यरत संस्था र नागरिक समाजहरूको पैरवीलाई कदर गर्दै २६ नोभेम्बर सन् २००७ मा संयुक्त राष्ट्र सङ्घको ६३ औँ महासभाले हरेक वर्ष फेब्रुअरीको २० तारिखमा सामाजिक न्याय दिवस मनाउने घोषणा गरेको थियो । ‘Empowering Inclusion: Bridging Gaps for Social Justice भन्ने नाराका साथ सन् २०२५ को सामाजिक न्याय दिवस मनाइँदै छ । समावेशीतालाई प्रवर्धन गर्दै सामाजिक न्यायको खाडल पुर्ने भन्ने अर्थ राख्दछ ।