१०० वर्षे चेपाङ दम्पतीलाई नयाँ घर प्रदान
रासंसा/मकवानपुर, माघ १०,
मुलुकमा घामपानी छिर्ने अत्यन्त साँघुरो छाप्रोमा बस्दै आएका १०० वर्षीय जयराम चेपाङ दम्पती चिटिक्क परेको शौचालयसहितको नयाँ घर पाउँदा दंग छन् । निःसन्तान जयराम दम्पतीलाई पोखरा घर भई अमेरिका बस्दै आएका कर्ण गुरुङको परिवारले पक्की घर बनाइदिएका हुन् । कार्पेट बिछ्याएको र बिस्तरासहितको दुई पलङ भएको कोठाभित्र छिर्दै जयरामले चेपाङ भाषामा भने, ‘किम दोती आसतेआया (घर पाउँदा खुसी लाग्यो) ।’ सधैं लँगौटी लगाइरहने जयरामलाई छिमेकीले कट्टु लगाइदिएका थिए । शरीरको माथिल्लो भाग ढाक्न खुइलिएको नीलो कमिज पनि लगाइदिएका थिए । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ की अभियन्ता रेखा लोप्चन तामाङको अगुवाइमा निर्माण गरिएको घरमा चेपाङ दम्पतीलाई पूर्वसहरी विकासमन्त्री रामकुमारी झाँक्रीले डोर्याउँदै प्रवेश गराइन् । वि.सं. १९८१ मा जन्मेका जयरामभन्दा १० वर्ष कान्छी पत्नी लक्ष्मी चेपाङले नयाँ घरमा बस्न पाइयो भन्दै सबैलाई नमस्कार गरिन् । कपालदाह्री सेताम्मे भइसकेका जयराम कुप्रेर बल्लतल्ल हिँड्छन् । ९० वर्षीया लक्ष्मी उनीभन्दा अलि फुर्तिली छिन् । जयरामले लक्ष्मीभन्दा पहिला पनि एक महिलासँग विवाह गरेका थिए । उनीबाट सन्तान भएन । उनी गाउँकै अर्कै पुरुषसँग विवाह गरेर गइन् । उनले छोडेपछि ५१ वर्षको उमेरमा जयरामले लक्ष्मीसँग विवाह गरेका थिए । उनीबाट पनि सन्तान जन्मेनन् । यी दम्पतीको रेखदेख भतिजा नाता पर्ने कोकिल चेपाङले गर्दै आएका छन् । चेपाङ दम्पतीले सामाजिक सुरक्षा भत्ताबाट खर्च चलाइरहेका छन् । ‘वृद्ध भत्ताले बचाएको छ,’ छिमेकी नरबहादुर चेपाङ भन्छन्, ‘पुगनपुगमा भतिज पर्ने कोकिलले भरथेग गर्दै आएका छन् ।’ जनता आवास कार्यक्रमको कार्यविधि गरिब र विपन्नमुखी नभएकाले संशोधन गरिनुपर्ने पूर्वमन्त्री झाँक्रीले बताइन् । ‘भूमि आयोग बन्छन्, तर चेपाङ, राउटे, वनकरिया जस्ता सीमान्तकृत र लोपोन्मुख समुदायका समस्या हल हुँदैन,’ उनले भनिन् । ३ लाख ७ हजार रुपैयाँमा निर्माण गरिएको घरमा सोलार पनि जोडिएको छ । पिउने पानीको धारा र पक्की शौचालय छ । उनीहरूलाई अभियन्ता रेखाले नगद २ लाख ४२ हजार रुपैयाँ पनि उपलब्ध गराएकी छन् । चेपाङ समुदाय बसोबास गर्दै आएको मनहरी बजारदेखि पैदल २ घण्टा दूरीको उक्त बस्तीमा सरकारको जनता आवास कार्यक्रमअन्तर्गत भवन निर्माणाधीन अवस्थामा भए पनि आफ्नो नाममा जग्गाको स्वामित्व नभएकाले उनीहरू उक्त कार्यक्रमबाट वञ्चित थिए । मकवानपुरको राक्सिराङ चेपाङ समुदाय बाहुल्य भएको पालिका हो । २०७८ को जनगणनाअनुसार मुलुकका २६ जिल्लामा बसोबास रहेको चेपाङ समुदायको जनसंख्या ८४ हजार ३ सय ६४ छ । मकवानपुरमा २३ हजार ६ सय ५०, चितवनमा ३५ हजार ६ सय ३७, धादिङमा १७ हजार १ सय ६० र गोरखामा ४ हजार २ सय ६८ चेपाङ छन् ।