दुई न्यायाधीशको गोली हानी हत्या

Share to:

एजेन्सी/इरान, माघ ५,

विश्वमा इरानको सर्वोच्च अदालतका दुई प्रमुख कट्टरपन्थी न्यायाधीशहरूको शनिबार गोली हानी हत्या गरिएको छ । मारिनेमा मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रजिनी छन् । आईआरजीसी-सम्बद्ध फार्स न्यूजका अनुसार आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेका थिए । आक्रमणमा एकजना न्यायाधीशका अंगरक्षक घाइते भएका छन् । आक्रमणकारी इरानी सर्वोच्च अदालतमा कर्मचारी भएको जनाइएको छ । तर, न्यायिक मिडिया सेन्टरले आक्रमणकारी बाहिरबाट अदालत परिसरमा छिरेको जनाएको छ । तर इरानी सर्वोच्च अदालतमा निकै कडा सुरक्षा हुने गर्छ । दुवै न्यायाधीशहरू सन् १९९८ मा राजनीतिक बन्दीहरूको सामूहिक मृत्युदण्डको मुद्दामा संलग्न थिए । न्यायाधीशहरूलाई गोली प्रहार गरेसँगै आक्रमणकारीले आत्महत्या गरेको इरानी सरकारी सञ्चारमाध्यम इर्नाले जनाएको छ । यो इरानी वरिष्ठ अधिकारीहरूमाथि भएको दुर्लभ आक्रमण हो । ‘प्रारम्भिक अनुसन्धानमा आक्रमणकारीको सर्वोच्च अदालतमा मुद्दा भएको देखिएको छैन । न त उनी अदालतका कुनै शाखाका ग्राहक नै थिए,’ न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ, ‘यस आतंकवादी कार्यका दोषीहरूलाई पहिचान गर्न र पक्राउ गर्न अनुसन्धान सुरू गरिएको छ ।’ इरानको न्यायपालिकाका प्रवक्ता असगर जहांगिरले इरानी सरकारी टेलिभिजनसँग गोली हान्ने व्यक्तिले न्यायपालिकामा ‘घुसपैठ गरेको’ बताए । उनका अनुसार आक्रमणकारीले न्यायाधीशको हत्या गरिएको अदालतमा काम गरेका थिए ।सन् २००५ अगस्टमा मसुद मोकादसीको तेहरानमा गोली हानेर हत्या गरिएको थियो । त्यतिबेला उनले एक प्रभावशाली पत्रकारको मुद्दा हेरिरहेका थिए । इरानी सर्वोच्च अदालतका धेरै शाखाहरू देशभर फैलिएका छन् । यसले तल्लो अदालतले गरेका निर्णयको पुनरावेदन गर्ने गर्छ । रजिनीलाई यसअघि पनि निशाना बनाइएको थियो । मोटरसाइकलमा सवार आक्रमणकारीहरूले सन् १९९९ जनवरीमा गाडीमा विस्फोटक पदार्थ प्रहार गरेपछि उनी घाइते भएका थिए ।

Like