माओवादी आगामी स्थानीय निर्वाचनमा २५० पालिका जितेर पहिलो पार्टी बन्छ – अध्यक्ष प्रचण्ड
रासंसा/काठमाण्डौ, माघ ५,
मुलुकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय तहको निर्वाचनमा कम्तीमा २५० पालिका जितेर माओवादी केन्द्रलाई पहिलो पार्टी बनाउने बताएका छन् । नेकपा माओवादी केन्द्रले मोरङको ग्रामथान गाउँपालिका ५ तेतेरियामा गरेको धन्यवाद ज्ञापन कार्यक्रम तथा खबरदारी सभालाई सम्बोधन गर्दै प्रचण्डले २०७९ को स्थानीय तह निर्वाचनमा तेस्रो बनेको माओवादीलाई यस पटक ग्रामथानवासीले पहिलो बनाएर पालिका अध्यक्षमा जिताउनु रणनीतिक महत्वको विषय भएको उल्लेख गरेका हुन् गत मङ्सिर १६ गतेको स्थानीय तहको निर्वाचनबाट पूर्वले माओवादी केन्द्रलाई नयाँ उचाइँमा उठाउने सन्देश दिएको उल्लेख गर्दै उनले मोरङको ग्रामथान गाउँपालिका र उदयपुरका दुई वटा जिताउनुका साथै अन्य वडामा पनि मत सङ्ख्या बढाएर पूर्वले विरोधीहरूलाई ठुलै जवाफ दिएको बताए। ‘विरोधीहरूले अब माओवादी कमजोर भयो, एक्लै चुनाव लड्न सक्दैन भनेर अफवाह फैलाइरहेको बेला पूर्वले माओवादीलाई सङ्ख्या र लोकप्रिय मत दुबैमा पहिलो पार्टी बनाएको छ,‘ उनले भने, ‘यो एउटा पालिकाको मात्रै विजय होइन, यो देशैभरि विशेष सन्देश दिने रणनीतिक महत्वको जीत हो ।’ प्रचण्डले भने, ‘हामीले २०७९ को निर्वाचनमा १२२ पालिकामा प्रमुख तथा अध्यक्ष जितेका थियौँ, अब ग्रामथान थपिएपछि यो सङ्ख्या १२३ पुगेको छ । आगामी स्थानीय तह निर्वाचनमा २५० भन्दा बढी पालिकामा जीत हात पारेर माओवादी पहिलो पार्टी बन्छ, यो हामीलाई उपनिर्वाचनले दिएको महत्त्वपूर्ण सन्देश हो ।’ उनले ग्रामथानबासीले माओवादीलाई ठुलो गुण लगाएको उल्लेख गर्दै यहाँका जनताका लागि आफ्नो निवास खुला रहने र जनताको समस्या समाधानका लागि प्रतिबद्ध भएर लाग्ने बताए । केन्द्रीय समिति बैठकको दस्ताबेजमा आफूले ग्रामथानको नामै उल्लेख गरेर देशभरि विजयको सन्देश प्रवाह गरिएको जानकारी पनि उनले गराए । उनले आफ्नो पार्टी ओरालो यात्रामा लागेका बेला कहिले कांग्रेस र कहिले एमालेसँग सहकार्य गर्दै केही कमजोरी पनि गरेको उल्लेख गर्दै अब आफ्नै बलबुतामा अघि बढ्ने जिकिर गरे । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्त्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘दोस्रो पटक सरकारको नेतृत्व गर्दा हामीले राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गर्न सक्यौँ भने नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व पनि गर्यौँ ।’ देशमा माओवादी केन्द्रकै कारण आम उत्पीडित जनताले अधिकार पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यसलाई कार्यान्वयन गर्दै देशबाट भ्रष्टाचारको जरा उखेलेर भ्रष्टाचारीलाई लखेट्नका लागि फेरि एक माओवादी केन्द्रलाई बहुमत दिन आग्रह गरे । ‘हामीले २०६४ मा जनताको मत पाएर पनि पार्टीलाई एकताबद्ध राख्न सकेनौँ, जनताको विश्वास कायम राख्न नसकेकै हौँ,’ उनले भने, ‘त्यति बेलाको जनमत र आजको जस्तो हाम्रो सुझबुझपूर्ण चेतना र शैली मिल्यो भने अब हामी नेपाललाई राजनीतिक परिवर्तनको पूर्ण अनुभूति गराउने छौँ, हामी धेरै कुरा सम्झेर तपाईंहरुसमक्ष आएका छौँ, तपाईँहरूलाई पनि २०६४ साल सम्झिदिन अपिल गर्दछु । आफूले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको प्रमुख बनाएपछि नेपाल लोडसेडिङमुक्त भएको उल्लेख गर्दै अहिले ‘चोरलाई चौतारो, साधुलाई सुली’ भनेजस्तै सरकारले उनै कुलमानलाई निकाल्न खोजेको भन्दै आपत्ति व्यक्त गरे । आफ्नो नेतृत्वको सरकारले विभिन्न क्षेत्रमा सुधारको थालनी गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विश्वविद्यालयमा योग्यताका आधारमा जिम्मेवारी दिने मेरिटोक्रेसीको थालनी, कर्मचारीतन्त्रमा हाम्रो होइन राम्रो मान्छेलाई जिम्मेवारी दिने र बेथिति गर्नेमाथि दण्डित गर्ने प्रक्रियाको सुरुवात, वर्षौदेखि रोकिएका शिक्षा ऐन, निजामति ऐन जस्ता कानुन निर्माणलाई अगाडि बढाउने लगायतका महत्त्वपूर्ण काम अघि बढाइएको बताए । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढङ्गले बढाउँदा पार्टी र आन्दोलनमा नै पुनर्जागरण सुरु भएको स्पष्ट गरे । उहाँले माओवादीनिकटका कर्मचारीहरूलाई माओवादीपन देखाउन आग्रह गर्दै भने– ‘अन्यायमा नझुक्ने, अन्याय नगर्ने, आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचारका विरुद्ध कठोर रूपमा प्रस्तुत हुने, पार्टीले अघि सारेको सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डालाई बल पुर्याउँदै समाजवादको भ्रूण रोप्ने फौजको रूपमा तपाईँहरू अघि बढ्नुपर्छ । यसमा दृढतापूर्वक अघि बढ्नुहोला ।’ गत मङ्सिर १६ गते भएको स्थानीय तह उपनिर्वाचनमा यो पालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको थियो । गत भदौ २९ गते अध्यक्ष प्रचण्डले नै ग्रामथान पुगेर पहिलो चुनावी सभालाई सम्बोधन गरेका थिए । उपनिर्वाचनमा माओवादी केन्द्रले पालिका अध्यक्ष जितेपछि मतदातालाई धन्यवाद ज्ञापन गर्न अध्यक्ष प्रचण्ड दोस्रो पटक यो पालिकामा आएका हुन् ।