माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड
भुपेन्द्र वली/पाल्पा, माघ १,
मुलुकमा माघे सक्रान्तिमा पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्र धाम रिडीमा कालीगण्डकी स्नान र ह्षिकेशव भगवानको दर्शन गर्ने भक्तजनहरुको भिड लागेको छ । माघे सक्रान्तिमा कालीगण्डकीमा स्नान गरी ह्षिकेश पुजाआजा गरेका अन्जानमा गरेका पाप नाश हुने र मृत्युपछि स्वर्गमा बास हुने जनबिश्वास रहेको छ । रुरु क्षेत्र धाम धार्मिक मेला हेर्न र कालीगण्डकी स्नान गर्न पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही जिल्ला सहित भारतबाट समेत आउने गर्दछन् । रुरु क्षेत्र धाममा बनेको नेपालको नमूना ३ मुखे पुल पनि मेलाको विशेष आर्कषण बनेको छ । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लालाई जोड्ने पुलमा भक्तजनहरु फोटो खिच्ने, भिडियो बनाउन युवायुवतीहरुको भिडभाड रहेको छ । रुरु क्षेत्र धाम रिडीमा जेठी, माईली र कान्छी सक्रान्तिको रुपमा परम्परादेखि तिन दिन धार्मिक मेला लाग्ने गर्दछ । रुरु क्षेत्र धाम नेपालको चार धाम मध्ये एक धाम भएकाले धार्मिक महत्व रहेको ह्षिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्सुराम भट्टराईले बताए । धार्मिक मेलामा रुकुम, रोल्पा, डोल्पा, मनाङ, मुस्ताङबाट ल्याएका काम्लो, कम्मल, राडी, पाखी, बिक्रीका लागी राखिएको छ । बास बनेका सरसमान, डोको नाम्लो, डाला, पाथी, काइयो समेत किनबेच मेला हुने गर्दछ । जुम्ला र कालिकोट लगायत जिल्लाबाट ल्याएका ओखर र घाँजी गुल्मीको गुड, पाल्पाको सुन्तला मेलाका आर्कषण बनेको छ ।