सम्यक महादान पर्व भक्तपुरमा मनाइयो

Share to:

रासंसा/भक्तपुर, माघ १,

मुलुकमा भक्तपुरका नेवारी बौद्ध समुदायले मंगलबार उल्लासका साथ सम्यक महादान पर्व मनाएको छ। भक्तपुरका नेवारी बौद्ध समुदायले भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार अर्थात् यथुबहीमा उल्लासका साथ दान कर्म गरी सम्यक महादान पर्व मनाएको हो। हरेक वर्ष माघ १ गते संक्रान्तिका दिन बौद्ध परम्पराअनुसार पर्व मनाउने चलन छ। पर्वमा सयौंको संख्यामा बौद्धमार्गीहरूले विभिन्न प्रकारका मिठाई, गेडागुडी, सागसब्जीलगायत दान गरेका थिए। पर्वको सञ्चालन चतुब्रह्म महाविहार अन्तर्गतको तधिछें खल हाल सम्यक महादान सहयोग समितिको व्यवस्थापनमा चल्दै आएको छ। तधिछें खलभित्रको परिवारमा जेष्ठताको क्रममा पर्व सञ्चालन गर्ने पालो दिइन्छ। जसअनुसार यस पटक पर्व सम्पन्न गर्ने पालो सप्त चन्द्र वज्राचार्यलगायत उनको परिवारको रहेको छ। भक्तपुरसँगै काठमाडौंमा १२ वर्षमा एक पटक र ललितपुरमा पनि पाँच वर्षमा एक पटक पर्व मनाउने गरिन्छ। पर्वका अवसरमा जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा चतुब्र्रम्ह महाविहार संघका कुल देवता हेबज नैरात्मालाई सर्वप्रथम भोज दान गरी लहरै मूल दीपंकर, बाहाछे दीपंकर, भौरबही दीपंकर, ययुबही दीपंकर र कुथुबही दीपंकरलाई भोजन चढाउने गरिन्छ। त्यसपश्चात् क्रमबद्ध रूपमा विराजमान गराइएका चार वटा सम्यक द्यो (सुवर्ण दीपंकरको मूर्ति), सुवर्ण चैत्य, स्थवीर आजु, मुल गुरुजु, गुरुजूहरू त्यससँगै लामबद्ध भएर बसेका सयौं बज्राचार्य, बुद्धाचार्य र शाक्य परिवारका सदस्यहरूलाई सम्यक दान दिने परम्परा रहँदै आएको छ।

Like