बदाम उत्पादक कृषकलाई हलेसी तुवाचुङमा प्रोत्साहन रकम

Share to:

रासंसा/खोटाङ, पौष २७,

मुलुकमा हलेसी तुवाचुङ नगरपालिकाले धितुङका बदाम उत्पादक कृषकहरूलाई प्रोत्साहन स्वरूप रकम प्रदान गरेको छ । नगर प्रमुख बिमला राईले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने कृषकहरूलाई प्रोत्साहन रकम हस्तान्तरण गरेकी हुन् । नगरपालिकाले रैथाने बाली संरक्षण तथा प्रवद्र्धन अभियानअन्तर्गत पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गरेको हो । नगरपालिकाका कृषि शाखा प्रमुख रवीन भट्टराईका अनुसार पहिलो चरणमा वडा नं. २ डिकुवा र वडा नं. ८ धितुङका किसानलाई रकम वितरण गरिएको हो । धितुङका ९८ जना किसानलाई ३ लाख ९४ हजार र डिकुवाका ६ जना किसानलाई २१ हजार रुपैयाँ वितरण गरिएको छ । नगरपालिकाले पाँच मुरी बदाम उत्पादन गर्ने कृषकलाई २ हजार ५ सय रुपैयाँ र सोभन्दा बढी उत्पादन गर्नेलाई प्रतिमुरी ३ सय रुपैयाँका दरले उत्पादनमा आधारित प्रोत्साहन रकम प्रदान गरेको हो । वडा नं. ८ धितुङका ९८ घरधुरी कृषकले यस वर्ष कुल ९९७ मुरी बदाम उत्पादन गरेका छन् । यो तथ्यांक पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने कृषकहरूको मात्र रहेको छ । नगरपालिकाको नीति अनुसार पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रतिमुरी ३०० रुपैयाँका दरले प्रोत्साहन रकम दिइने नगर प्रवक्ता कमल गिरीले बताए । धितुङका किसानले ९९७ मुरी र डिकुवाका किसानले ५० मुरी बदाम उत्पादन गरेका छन् । ११ वडा रहेको नगरपालिकामा यस वर्ष करिब दुई हजार मुरी बदाम उत्पादन भएको अनुमान गरिएको छ । नगर प्रमुख विमला राईका अनुसार नगरपालिकाले बदाम र गहत खेती प्रवद्र्धनलाई विशेष प्राथमिकता दिएको छ । अब हलेसीमा चाहिँ केही महिनापछि लोकल बदम पाइन्न । भारतको आयतित बदम पाइन्छ । आगामी समयमा यहिको बदम ब्रान्डिङ गरेर बजारिकरण गरिने छ ।” हलेसीका कृषकले उत्पादन गरेका बदाम स्थानीय तथा बाहिरका व्यापारीले खरिद गरी हलेसी बजार, दिक्तेल, रभुवाघाट लगायतका माघे संक्रान्ति मेलामा बिक्री गर्ने गरेका छन् । प्रोत्साहान रकम हस्तान्तरणपछि मेयर राई लेख्नुहुन्छ, “हेर्दा बुवा आमाको उमेर सरहको हुनुहुन्छ । साच्चै कृषि कर्म उहाँहरुले नै धान्नु भएको छ । हामीले यो बर्ष बदम लाई उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम शुरु गरेका छौं । प्राय हाम्रो उत्पादन खोटाङ जिल्लाको धेरै बजार बस्तीमा पुग्ने गरेको छ । छिमेकी जिल्लाहरु उदयपुर, ओखलढुंगा, सोलुखुम्बु र केही भोजपुर पनि पुग्ने गरेको छ ।

Like