पूर्व पश्चिम राजमार्ग दुम्किबासमा पुल भासिँदा अवरुद्ध

Share to:

रासंसा/नवलपुर, पौष २६,

मुलुकमा पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दुम्किबासमा पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको छ। शुक्रबार साँझ सवा ५ बजे पुल भासिँदा राजमार्ग अवरुद्ध बनेको इलाका प्रहरी कार्यालय दुम्किवासका प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले बताए। नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले वैकल्पिक बाटो निर्माण गर्नुपर्ने भएकाले सडक सञ्चालन हुन केही समय लाग्ने बताए। ‘डाईभर्सन बनाउनुपर्ने हुन्छ। कम्तीमा ६/७ घन्टा लाग्न सक्छ,’ पोखरेलले भने। उनका अनुसार पुल भासिएपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ। वैकल्पिक बाटो बनाएर यातायात सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए। ‘केही समय लाग्छ। हामी विकल्प खोज्दै छौं,’ उनले भने। सडक डिभिजनको टोली पुगेर वैकल्पिक बाटोको सम्भाव्यता खोजिरहेको उनको भनाइ छ। क्षमताभन्दा बढी सामान बोकेको लरी पुल पार गर्न खोज्दा भासिएको थियो। बुधबारदेखि नै दाउन्नेमा सडकको खराब अवस्थाका कारण यात्रुहरूले सास्ती खेप्नु परेको थियो। पुल भासिएपछि सो मार्ग हुँदै यात्रा गर्ने यात्रुहरूले थप सास्ती भोग्नु परेको छ।

Like