पूर्वराजा ज्ञानेन्द्र शाहको भनाई ‘राप्रपा अध्यक्ष लिङ्देन असफलतिर
रासंसा/काठमाण्डौ, पौष २१,
मुलुकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्व क्षमतामाथि प्रश्न उठाउन सुरू गरिएको छ। स्थानीय तहको उपनिर्वाचनमा सबै स्थानमा जमानत जफत भएको तथा समान विचारधारा भएका पार्टी र समूहसँग एकता र मोर्चाबन्दी गर्न अस्वीकार गरेपछि अध्यक्ष लिङ्देनमाथि प्रश्न उठाउन सुरू गरिएको हो। हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा वरिष्ठ नेता पशुपति शमशेर राणाले स्थानीय तहको निर्वाचन परिणामले सिंगो राप्रपामा चिन्ता छाएको जनाएका थिए। लिङ्देन नेतृत्वमा आएपछि पार्टीलाई झन् क्षति पुगेकाे निष्कर्षसहित राप्रपाका केही केन्द्रीय नेताहरू केन्द्रीय समितिमा प्रस्तुत हुने भएका छन् । राप्रपाको आगामी माघ ११-१२ गते बस्न गइरहेको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको नेतृत्व क्षमतामा प्रश्न उठाउने गरी असन्तुष्ट पक्षले तयारी गरिरहेका छन्।त्यसपछि पार्टीभित्र नयाँ शिराबाट बहस सुरू हुन थालेको छ। ‘स्थानीय तहको उपनिर्वाचनमा जुन मत राप्रपाले पाएको छ, त्यसले सिंगो राप्रपा पंक्तिलाई निराश बनाएको छ, व्यक्तिगत रूपमा म त निकै नै चिन्तित छु,’ राणाले बैठकमा भनेका थिए। तर, अध्यक्ष लिङ्देन पक्षधर प्रवक्ता ज्ञानेन्द्रबहादुर शाहीले भने राप्रपाको मत नघटेको, बरू बढेको तर्क गरेपछि बैठकमा अन्य नेताले भने निकै आपत्ति जनाएका थिए। सो मत घटेको र बढेको बिषयमा केन्द्रीय कार्य सम्पादन समितिमा भने निकै बहस भएको जनाइएको छ। ती पदाधिकारीका अनुसार स्थानीय तहका निर्वाचनमा केन्द्रीय कमाण्डर अर्थात् अध्यक्ष लिङ्देन थिए। उनले आफ्नै गृहजिल्लामा भएको निर्वाचनमा जम्मा २६ मत मात्रै जोड्न सकेका छन्। ‘कतिसम्म भने राप्रपाको वडा समिति ५१ सदस्यीय हुन्छ तर अध्यक्षको गृह जिल्लाको वडाध्यक्षले जम्मा २६ मत मात्रै पाउँछन्, उसो भए ४९ सदस्यको मत राप्रपाको खोई त?,’ एक पदाधिकारीले प्रश्न गरेका छन्, ‘जुलुसमा सहभागी मात्रैले भोट हालेको भए पाँच सय मत नाघ्थ्यो तर कसैले हालेनन्, किन? यो प्रश्नको जवाफ अध्यक्षले अब केन्द्रीय समितिमा दिनुपर्छ।’ लिङ्देनको गृहजिल्ला झापास्थित जिल्ला कन्काई नगरपालिका-६ का वडाअध्यक्षका उम्मेद्वार केशवबहादुर ओझाले जम्मा २६ मत मात्रै ल्याएपछि लिङ्देनको नेतृत्वमाथि थप प्रश्न उठेको हो। त्यहाँ लिङ्देनले पार्टी प्रवक्ता तथा प्रदेश सांसद भक्ति सिटौलालाई चुनावी कमाण्डर बनाएका थिए। आफ्नै गृह जिल्लामा ५० मत कटाउने नसक्ने अध्यक्षले सिंगो पार्टीको नेतृत्व गरेकाले पनि पार्टीमा समस्या देखा परिरहेको उनीहरूको तर्क छ।
त्यसो त स्थानीय तहका ६ जना उम्मेदवारले त दोहोरो अंकमा पनि मत ल्याउन सकेनन्। जस्तो कि, तेरहथुमको लालिगुराँस-८ का वडाध्यक्षका उम्मेदवारले जम्मा ४ मत, ओखलढुंगा मोलुङ-५ का वडाध्यक्षले ३ मत, उदयपुर त्रियुगा-१२ का वडाध्यक्षले ७ मत, सुनसरी डाक्नेश्वरी-४ का वडाध्यक्षले ६ मत, महोत्तरी रामगोपालपुर-२ का वडाध्यक्षले २ मत, गुल्मी मुसिकोट-१ का वडाध्यक्षले ५ मत, जाजरकोट, कुसेँ गाउँपालाका-७ का वडाध्यक्षले ८ मत मात्रै पाएका थिए। उसो त, राप्रपाको सहरिया मतदाताको पनि आर्कषण कम भएको छ। कमल थापाको नेतृत्वको राप्रपा नेपालले काठमाडौं उपत्यकामा उल्लेखनीय मत प्राप्त गरेको थियो। उता, राजावादीका लागि सबैभन्दा राम्रो वडा मानिएको काठमाडौं-१६ मा वडाध्यक्षका उम्मेद्वारले जम्मा ७७४ मत ल्याएपछि सहरिया मत राप्रपाप्रति क्रमशः बिकर्षण देखिएको ठम्याई असन्तुष्ट नेताहरूको छ। तर, लिङदेन नेतृत्व हुँदा कीर्तिपुरमा पार्टीका उम्मेदवारले जम्मा ९९५ मत मात्रै प्राप्त गरे भने वडा अध्यक्षका उम्मेदवार ६४ मतमा सीमित हुन परेपछि राप्रपामा भाँडभैलो मच्चिएको छ। प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि राजावादीको शक्ति कमजोर हुँदै गएको आजबाट सुरू भएको केन्द्रीय समिति बैठकमा उल्लेख गरेका छन्। ‘२०७९ को तुलनामा सम्बन्धित ठाउँमा मतदाताहरुको बदलिँदो रुझान, जनप्रतिनिधिप्रतिको असन्तुष्टि र नयाँ भनिने दल र राजावादी शक्तिहरुको खस्किँदो अवस्थालाई बुझ्न भने यसले केही आधार दिन्छ,’ ओलीले आफ्नो राजनीतिक प्रतिबेदनमा उल्लेख गरेका छन्। अध्यक्ष लिङ्देनले कमल थापा नेतृत्वका राप्रपा नेपालसहित साना राजाबादी दलहरूसँग एकीकरण गरेर जानुपर्ने पार्टीभित्रको मतलाई दबाउने गरेको जनाइएको छ। लोकेन्द्रबहादुर चन्दको पहलमा मुख्यतयाः राप्रपा नेपाललाई एकीकरण प्रक्रियामा ल्याउनु पर्ने भनेर पहल गरे पनि लिङ्देन त्यसमा बाधक देखिएको उनीहरूको बुझाइरहेको छ। प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणा मात्रै होइन, पशुपति शमशेर राणाले समेत बृहत् पार्टी बनाउन एकीकरण प्रकिया सुरू गर्नुपर्ने धारणा राखे तापनि अध्यक्ष लिङ्देनले नमानेपछि कुनै प्रकिया अघि बढन नसकेको पदाधिकारीहरू नै बताउँछन्। ‘दिनदिनै जनमत खस्केर गएको अवस्था छ, जसका कारण उनको नेतृत्व पूर्णतयाः असफल भइसकेको छ,’ एक असन्तुष्ट पदाधिकारीले भने, ‘एकीकरण र मोर्चा गरेर भए पनि आन्दोलन अगाडि बढाऔं भन्दा उहाँ तयार हुनुहुन्न, पार्टी साँच्चै अनिर्णयका बन्दीको अवस्थामा पुगेको छ।’ उनका अनुसार माघ ११ गते देखी सुरू हुने केन्द्रीय समिति बैठकमा लिङदेनको नेतृत्व क्षमताका ’boutमा बहस हुने भने लगभग पक्का भएको छ। खासमा उपनिर्वाचनमा उम्मेदवारलाइ जिताउन देश दौडाहामा निस्केको भए तापनि २ मतसमेतमा सीमित हुनु परेपछि लिङ्देनमाथी प्रश्न बर्साउन खोजिएको एक नेताले बताए। कमल थापालाई साथ नदिएर लिङ्देनलाई साथ दिएकोमा पूर्वराा ज्ञानेन्द्र शाहले पनि पश्चताप गरिरहेको बुझिएको छ। पूर्वराजाले आफू निकटहरूसँग भन्ने गरेका छन्, ‘लिङ्देन नेतृत्वमा आएपछि पार्टीमा विभाजन भयो, अन्य दलसँग संवाद र सहकार्य गर्ने कार्य पनि गरिएन। न कुनै सरोकारवालाहरूसँग उनले सबन्ध नै बढाए, भएको जनमत पनि अहिले घटेको तथ्यांकमा देखिएको छ, मलाई लाग्दैन कि अब लिङ्देनको नेतृत्वमा मुद्दा स्थापित हुनेछ।’ गएको राप्रपा महाधिवेशनमा लिङ्देनसँग थापा पराजित भएका थिए। त्यसबेला थापाले खुलेरै निर्मल निवास (पूर्वराजा शाह)ले आफूलाई राप्रपा नेतृत्वमा पुग्न नदिन अभियान चलाएको बताएका थिए। राप्रपा अध्यक्षमा पराजित भएपछि थापाले पार्टी छोडेर राप्रपा नेपाल पुनर्गठन गरेका थिए। अनौपचारिक संवादमा पूर्वराजाले लिङ्देनबाट मुद्दा स्थापित त परै जाओस्, झन कमजोर हुँदै गएको गुनासो गर्ने गरेका छन्।