Share to:

रासंसा/काठमाण्डौ, पौष २०,

मुलुकमा प्रविधिको प्रयोग गरी सेवा प्रवाहमा सहजता ल्याउन, दोहोरो सुविधा हटाउने र लक्षित वर्गसम्म योजना तथा कार्यक्रमको पहुँच बढाउन बेनी नगरपालिकाले सबै घरपरिवारको विद्युतीय अभिलेखीकरण गरेको छ। ‘घरदैलो गरेर सबै नगरवासीको घरपरिवारको विवरण सङ्कलन गरेर सफ्टवेयरमा राखेका छौँ,’ उनले भने, ‘लक्षित समुदाय र आवश्यकता पहिचान गरेर कार्यक्रम सञ्चालन गर्न यो सूचना प्रणालीले सहयोग गरेको छ।’ कोही एकै व्यक्तिले दोहोरो, तेहोरो सुविधा पाउने र कसैले नपाउने अवस्थाको अन्त्य हुने नगर प्रमुख केसीले बताए। प्रणालीमा घरको तस्बिर, परिवारका सदस्य, उनीहरूको रोजगार, आर्थिक, शैक्षिक, स्वास्थ्य अवस्थालगायत ९२ किसिमका सूचना राखिएको छ। सबै घरपरिवारको विस्तृत विवरण रहेको आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याएको हो। यस्तो सूचना प्रणालीको प्रयोग गर्ने बेनी नगरपालिका नेपालकै पहिलो स्थानीय तह भएको नगर प्रमुख सुरत केसीले बताए। दश किसिमका व्यक्तिगत सूचनालाई गोप्य राखिएको छ। नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, सचिव र विषयगत शाखाका कर्मचारीको पहुँच हुने प्रणालीको विवरण अद्यावधिक गर्ने अधिकार पनि उनीहरूलाई नै दिइएको छ। सूचना प्रणालीको विवरण संकलन गर्ने क्रममा पहिचान भएका तीन सय ४० जना विपन्न महिलालाई संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सम्बोधन परियोजनामार्फत आयआर्जनमूलक क्रियाकलाप गर्न बीउपुँजी स्वरूप रु २७ हजारका दरले सहयोग गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बताए। यही प्रणालीका आधारमा बेनी नगरपालिकाको १० वटा वडाका सात हजार चार सय ४० घरमा क्युआर कोडसहितको विद्युतीय घर नम्बर प्रणाली लागू भइसकेको छ। यसबाट घरधनीको नाम र सम्पर्क नम्बरबाट घरको स्थान पहिचान गर्न सकिने छ। ‘सूचना प्रणालीको अधिकतम प्रयोग गरेर विकास आयोजना र कार्यक्रमलाई लक्षित समुदायको पहुँचमा पुर्‍याउने प्रयास गरेका छौँ,’ उनले भने, ‘योजना निर्माण र कार्यान्वयनका लागि आर्थिक सामाजिक जोखिम सूचना प्रणालीले सहयोग गरेको छ।’ युएनडिपीको आर्थिक सहयोगमा स्थानीय गैरसरकारी संस्था सङ्गममार्फत प्रत्येक बस्तीमा जनशक्ति परिचालन गरेर घरधुरीको विवरण संकलन गरिएको थियो। युएनडिपीले कोड फ्युजन कम्पनीमार्फत विकास गरेको सफ्टवयरको अवधारणा, डिजाइन र विवरण राख्ने काम नगरपालिकाका सूचना प्रविधि अधिकृत खिम खत्री नेतृत्वको कर्मचारीहरूले गरेका थिए। टहरामा बस्दै आएका सात घरपरिवारका लागि यस वर्ष घर बनाउने कार्यक्रम पनि यही सूचना प्रणालीबाट प्राप्त जानकारीका आधारमा बनाएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। सफ्टवयर निर्माण, घरधुरी सर्वेक्षण र प्रणालीमा प्रविष्ट गराउन रू ३९ लाख खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए। म्याग्दीको बेनी नगरपालिका, स्याङ्जाको पुतलीबजार नगरपालिका र सुर्खेतको पञ्चमुल गाउँपालिकामा आर्थिक सामाजिक जोखिम व्यवस्थापन सूचना प्रणाली प्रयोगमा ल्याउन युएनडिपीले सहयोग गरेको थियो। पुतलीबजार र पञ्चमूलभन्दा अघि बेनी नगरपालिको प्रणालीको विकास गरी प्रयोगमा ल्याइसकेको नगर प्रमुख केसीले बताए।

Like