‘आफ्नो लगानी भए पो टिभीको माया हुन्छ’ अदालतमा रविलक्षित बहस

Share to:

मिनबहादुर कुँवर/कास्की, पौष १७,

मुलुकमा सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा अहिले कास्की जिल्ला अदालतमा बहस जारी छ । बुधबार सरकारी वकिलहरूले बहस सिध्याएका छन् । नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहित उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, जिल्ला सहन्यायायधिवक्ताहरू शान्तिदेवी शर्मा र विपिनराज तिवारीले बहस गरेका थिए । उनीहरूले प्रतिवादीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने आ–आफ्नो दलिल प्रस्तुत गरे । सूर्यदर्शन सहकारी अपचलनमै जोडिएका यसअघिका प्रतिवादीहरूलाई पनि जिल्ला अदालतले पुर्पक्षमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको र माथिल्ला न्यायालयबाट पनि सोही आदेश सदर भएकोले अहिलेका प्रतिवादीलाई पनि पुर्पक्षमा पठाउनुपर्ने जिकिर उनको थियो । रविसहित ४ जना सहकारी सदस्य नभए पनि सहकारीको रकम अपचलनमा गम्भीर बदनियत गरेका र बाँकी ३ जना सहकारीको पदाधिकारी भएर पनि पदीय दायित्व पूरा नभएको उनले तर्क गरेका थिए । नायव महान्यायाधिवक्ता रेग्मीले रकम अपचलनमा सबैको बदनियत देखिएकोले पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने बताए । ‘जानी बुझी, योजना बनाई, गम्भीर तरिकाले षड्यन्त्र बनाइ काम गरेको देखिन्छ । बचतकर्ताको रकम अपचलनमा भूमिका सबै जनाको बदनियत देखिएको छ,’ उनले भने, ‘त्यस कारण थुनामै राखेर मुद्दा पुर्पक्ष गर्नुपर्छ ।’ जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पीडितको बचत फिर्ताकै लागि अनुसन्धान गरेर अभियोगपत्र दायर गरेकोले अदालतबाट सोही अनुसार आदेश हुनुपर्ने बताइन् । ‘बचतकर्ताहरूले थोपा थोपा गरेर जम्मा गरेको रकम यहाँ उपस्थित गराइएका प्रतिवादीहरू समेतको मिलेमतोमा हिनामिना भएको छ । हिनामिना भएको रकम जसरी पनि बचतकर्तालाई फिर्ता दिलाउनुपर्छ भनेर मुद्दा अनुसन्धान प्रक्रिया पूरा गरी ल्याएका हौँ,’ उनले भनिन् । उपन्यायाधिवक्ता प्रकाश गौतमले प्रतिवादीहरूलाई थुनामा नराखे मुद्दामै नकारात्मक प्रभाव पर्ने जिकिर गरे । ‘सहकारीका नाममा चेक काटेको छ । ऋण लिएको छैन भन्ने अनि चेक काट्ने ? करोडौँ रकम हिनामिना भएको छ,’ उनले भने, ‘प्रतिवादीहरूलाई थुनामा नराख्दा मुद्दामा नकारात्मक प्रभाव पर्ने भएकोले थुनामै राख्नुपर्छ ।’ काफ्लेले निकै दुख गरेर बचतकर्ताले जम्मा गरेको सहकारीको रकम खाइमासेको हुँदा पीडितलाई फिर्ता भराउन पनि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउनुपर्ने जिकिर गरिन् । ‘गाईभैँसी पालेर, मोही आफू र आफ्ना छोराछोरीलाई खुवाएर, दुध, दही र घ्यू बेचेर सन्तानको उज्ज्वल भविष्यको लागि बचत गरेको रकम जसरी हिनामिना भयो । त्यो रकम बचतकर्ताले फिर्ता पाउनैपर्छ । त्यो पाउन सातै जनासहितका प्रतिवादीलाई थुनामा राखेर मुद्दा पुर्पक्ष गर्न जरुरी छ,’ उनले थपिन् । बिहीबार अभियोजनकर्ताको तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन् । सहायक न्यायाधिवक्ता विपिनराज तिवारीले बचतकर्ताको रकम लगेर खोलिएको टिभी अहिले बन्द हुनुमा आफ्नो लगानी नहुनु नै भएको तर्क पेस गरे । ‘आफूले एक रुपैयाँ पनि लगानी नगरेका तर नेपालको सबैभन्दा महँगो टिभी सञ्चालन गर्छु भनेर कुनै अनुसन्धान र अध्ययन नगरीकन बचतकर्ताको विभिन्न सहकारीको अर्बौँ रकम लगिएको छ । टिभी पनि बन्द छ,’ उनको दलिल छ, ‘आफूले लगानी गरेको भए पो माया हुन्छ, जनताको रकम कसलाई माया हुन्छ ? टिभीमा लगेर बचतकर्ताको रकम डुबाएका छन् । अपचलन गरिएको रकम प्रतिवादी सहितका व्यक्तिहरूले फिर्ता गर्नै पर्छ ।’

Like