अन्तर्राष्ट्रिय बेलुन महोत्सव, पोखरामा आजबाट १५ देशका सहभागी हुँदै,
मिनबहादुर कुँवर/कास्की, पौष ०९,
मुलुकमा फेवातालको सिरान फेवाफाँटमा सोमबारदेखि अन्तर्राष्ट्रिय बेलुन महोत्सव हुँदै छ। महोत्सवमा हट एयर बेलनबाट ५ हजार मिटरसम्म उडान भरेर अन्नपूर्ण, माछापुच्छ्रे धौलागिरीलगायतका हिम शृंखला, फेवाताल, पोखरा बजारको अवलोकन गर्न सकिने गरी एकैपटक विभिन्न रंगका १७ वटा बेलुन उडान हुने महोत्सव हुन लागेको बेलुन नेपालका अध्यक्ष विक्रम बाडेले जानकारी दिए। महोत्सवमा बिहान ६ बजे अघिदेखि ९ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म हट एयर बेलुनमा उडेर अन्नपूर्ण हिम शृंखला, ताल, पोखरा बजार, फेवाको मुहान क्षेत्रका अवलोकन गर्न सकिने गरी तयारी गरिएको बेलुन नेपालका अध्यक्ष बाडेले बताए। बेलुका ७ बजेदेखि ८ बजेसम्म बेलुन नाइट ग्लो गरिने पनि उनले जानकारी दिए। पोखरा र समग्र नेपालको पर्यटन प्रबद्र्धन गर्न अन्तर्राष्ट्रिय हट एयर बेलुन महोत्सव हुन लागेको हो। महोत्सव फेवातालको सिरान पामे फाँटमा हुने गरी तयारी गरिएको आयोजकले बताएका छन्। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पुस ९ देखि १७ गते सम्म महोत्सव हुने छ। महोत्सवमा हरेक दिन सांगीतिक कार्यक्रम, फुड स्टल, मेला र विभिन्न खेलसमेत हुने आयोजकले बताएका छन्। राष्ट्रिय कलाकारहरू दीपक बज्राचार्य, राजु लामा, एलिना चौहान, कुमार सागर, कबिता नेपाली, काटुन क्रेज र स्थानीय कलाकारले प्रस्तुति दिने छन्। २०१८ देखि बेलुन नेपालले पोखरामा ब्यवसायिक हट एयर बेलुन उडान भर्दै आएको बेलुन नेपालका सञ्चालक सविन महर्जनले बताए। बेलुन नेपालले नियमित ३ वटा हट एयर बेलुनमा व्यावसायिक उडान गर्दै आएको छ। बेलुनमा उडानका लागि नेपालीलाई प्रतिव्यक्ति ११ हजार, सार्क मुलुकका पर्यटकलाई १ सय २० डलर र अन्य देशका पर्यटकलाई १ सय ५० डलर शुल्क लाग्ने आयोजकले बताएका छन्। महोत्सवमा नेपालसहित, अमेरिका, बेलायत, अष्टे«लिया, स्पेन लिथुआनिया, थाइल्यान्ड, जापान, इटाली लगायतका १५ देशका अन्तर्राष्ट्रिय बेलुन पाइलटहरूको सहभागिता रहने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए। बेलुनमा ३० देखि ४० मिनेट हावाको गतिमा उडान गरेर फेवा फाँटमा अवतरण हुने छ। अन्तर्राष्ट्रिय बेलुन महोत्सवको आयोजना गरेर नेपालकै पर्यटन प्रवद्धन गर्ने उद्देश्यले बेलुन महोत्सवको आयोजना गरिएको उनले बताए। अन्तर्राष्ट्रिय बेलुन फेस्टिभल आयोजना गर्न ६ करोड खर्च लाग्ने अनुमान आयोजकले गरेका छन्। फेस्टिभलले पोखरा र समग्र नेपालको पर्यटन प्रबद्र्धनमा भूमिका रहने पनि उनले बताए। देशकै पर्यटकीय राजधानी सहर पोखरा साहसिक खेलका लागि विश्वमै प्रख्यात छ। पोखरा प्याराग्लाइडिङ, अल्ट्रालाइट, जिपलाइन, बञ्जिजंप, स्काइड्राइभ, हटर एयर बेलुनलगायतका खेलकालागि प्रख्यात छ। बेलुन फेस्टिभलले पोखरा र नेपालकै पर्यटन प्रवद्धनमा महत्वपूर्ण रहने पोखरा पर्यटन परिषद्का निवर्तमान अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवन्धक योगेन्द्र कुँवरले लौरुखदेखि चंखपुरसम्म बेलुन उडानको मान्यता दिएका बताए। हट एयर बेलुन महोत्सव बीवाइडीको मुख्य प्रायेजानमा हुने आयोकले बनाएका छन्। महोत्सवलाई नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश लगायतले प्रबद्र्धन गरेको छ। पोखराको आकाशबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरी, निलगिरी, मनास्लु लगायतका हिमाल र तालहरूको अवलोकन गर्न सकिन्छ। हिमाल र तालको अवलोकन गर्दै हट एयर बेलुनमा उडान भर्न पाइने भएकोले पोखरा आउने पर्यटक हट एयर बेलुन मात्र होइन याराग्लाइडिङ, अल्ट्रालाइट, जीप लाइन लगायतका साहसिक खेलमा रमाउने गर्दछन्।