केन्द्रीय कारागारमा बायोग्यास योजना
रासंसा/नुवाकोट, पौष ०७,
मुलुकमा नुवाकोटको विदुर नगरपालिकाको खम्पाक्याम्पमा रहेको देशकै ठूलो क्षमताको केन्द्रीय कारागारको दिसाजन्य लेदोबाट बायोग्यास निकालिने सहमति भएको छ। विदुर नगरपालिकाको विभिन्न वडाबाट संकलित ढललाई प्रशोधन गरी स्वच्छ वातावरण निर्माण र बायोग्यास उत्पादनको उपयोग केन्द्रीय कारागारले गर्ने र त्यसको व्यवस्थापन विदुर नगरपालिकाले गर्ने सहमति भएको हो। मन्त्री यादवले यसको समन्वय र सहजीकरण विदुर नपाले गरेकोमा खुसी जनाउँदै खानेपानी मन्त्रालय उक्त योजनाहरूलाई सफल बनाउन सधैं तयार रहने मन्त्री यादवले प्रतिबद्धता जनाएका छन्। संघीय खानेपानी मन्त्री प्रदीप यादवसहितको टोलीले नुवाकोटको केन्द्रीय कारागार, विदुर र त्रिशूली गरी दुई वटा ढल निर्माण स्थल, फोहोर प्रशोधन स्थलको स्थलगत निरीक्षणपछि सो सहमति भएको हो। विदुर नपामा खानेपानी मन्त्री यादवद्वारा ढल व्यवस्थापन र बायोग्यास उत्पादन परियोजनाको स्थलगत अनुगमनसमेत भएको हो। विदुर नगरपालिका भित्र सञ्चालनको लागी निर्माणाधीन रहेको ‘विदुर ढल निर्माण आयोजना’ र ‘त्रिशूली ढल निर्माण आयोजना’ निर्माण कार्यको अनुगमन, निरीक्षण, आवश्यक निर्देशनसहित आयोजना सम्पन्न गर्नको लागी थप गृहकार्य तथा बजेटको श्रोत सुनिश्चित गराउन आफू क्रियाशील रहेको खानेपानी मन्त्री प्रदीप यादवले प्रतिबद्धता जनाए। आयोजनाको स्थलगत अवलोकन तथा निरीक्षणपश्चात् आयोजनाको बाँकी चरणको काम अघि बढाउन, ढल प्रशोधन स्थलको लागी जग्गाको प्रबन्ध मिलाउन, आवश्यक बजेटको श्रोत सुनिश्चित गराउनको लागी मन्त्रि यादवले प्रतिबद्धता जनाएका छन्। विदुर नपामा निर्माण भइरहेको दुई वटा ढल–नालीको व्यवस्थापन कार्यको पाइप लाइन विस्तार, ढल प्रशोधन र प्रशोधन भएको ढलबाट नुवाकोट खम्पाक्याम्पको केन्द्रीय कारागारको लागि बायोग्यास उत्पादन गर्ने संरचना निर्माणका सन्दर्भमा आफू सकारात्मक रहेको मन्त्री यादवले जनाएका छन्। स्थलगत अवलोकन गर्दै मन्त्री यादवले खानेपानी मन्त्रालयबाट नुवाकोटको विदुर नपामा निर्माण भइरहेको ढल प्रशोधनसहित केन्द्रीय कारागारको लागि बायोग्यास उत्पादन गर्ने संरचना निर्माण बारे स्थलगत अवलोकन गरि विदुर नपाका विभिन्न वडाको दिशाजन्य लेदो तथा ढल व्यवस्थापन गर्ने र बायोग्यास कारागारले प्रयोग गर्ने र विदुर नगरपालिकाले संरचनाको सञ्चालन व्यवस्थापन गर्ने सहमति गरिएको बताए। ढल व्यवस्थापनमार्फत विदुर नगरवासीलाई स्वच्छ वातावरणको पहुँच उपलब्ध गराउन खानेपानी मन्त्रालय अग्रसर रहेको मन्त्रि यादवको प्रतिबद्धता रहेको छ। विदुर नपा ६ मा ७ हजार भन्दा बढी कैदीबन्दी क्षमताको कारागार भवन संरचनाका साथै खेल मैदान, स्वास्थ्य केन्द्र, आगन्तुक भवन, सुरक्षा निकायको भवनलगायत उद्योग कारागारका रूपमा विकास गर्ने गुरुयोजना मुताबिकका संरचना निर्माण भइरहेको छ। २०८१ साल भदौ १५ गते उद्घाटन भई हालसम्म ७ सय कैदीबन्दी विभिन्न कारागारबाट स्थानान्तरण भई नुवाकोटस्थित केन्द्रीय कारागारमा सारी सकिएको छ। ‘बायोग्याससहितको ढल प्रशोधन प्रणाली निर्माण गर्न कारागार कार्यालय नुवाकोटको नाममा दर्ता कायम मध्येबाट ३० रोपनी जग्गा उपलब्ध गराइने जनाइएको छ। ‘कारागार कार्यालय, नुवाकोटको नाममा दर्ता कायम रहेको कित्ता नं ३७७, ३७८, ३७९ र ६६८ गरी कुल क्षेत्रफल ६ सय ४५ रोपनी जग्गा मध्ये ढल प्रशोधन केन्द्र निर्माणको लागि कित्ता नं. ३७८ र ६६८ को जग्गा मध्येबाट दक्षिण तर्फको करिब ३० रोपनी जग्गामा कारागार तथा विदुर नगरपालिकाको ढल प्रशोधन आयोजनाको प्रशोधन केन्द्र निर्माणको कार्य खानेपानी मन्त्रालय अन्तर्गतका निकायले यथाशीघ्र अघि बढाउनका लागि सबै निकायले आवश्यक कार्य प्रक्रिया अघि बढाउने निर्णय गरियो’ बैठकको निर्णयमा उल्लेख छ।