रविलाई तपाईंको अनुभव पछि काम लाग्छ भन्दै न्यायाधीश मुस्कुराएर
मिनबहादुर कुँवर/कास्की, पौष ३,
मुलुकमा अभियोग दायर नभएका कारण अदालतमा लामो बहस थिएन । रवि लामिछाने पक्षका वकिलले थुनामा राख्न नपर्ने पूर्ववत् बहस दोहोर्याए भने पीडित र सरकारी वकिलहरूले अनुसन्धान प्रतिवेदन भर्खर प्राप्त भएकाले म्याद थप अनिवार्य भएको तर्क तेर्स्याए । बहस लामो नभएपनि रवि र न्यायाधीशबिच सानो तर रोचक संवाद चलेको थियो ।
न्यायाधीश: स्वास्थ्य अवस्था कस्तो छ ? किन अस्पताल बस्न मान्नुभएन ?
रवि: स्वास्थ्य अवस्था ठिकै छ, अस्पताल बस्नुपर्ने अवस्था छैन श्रीमान् ।
न्यायाधीश: केही भन्नु छ ?
रवि: एउटा प्रश्न सधैँ अनुत्तरित भयो श्रीमान् । म थुनिएपछि के प्रमाण प्राप्त भयो ? यदि नथुनिएको भए के प्रमाण लोप हुने थियो होला ? मैले बुझ्न सकेको छैन ।
न्यायाधीश: (मुस्कुराउँदै) तपाईंको अनुभव पछि काम लाग्छ । अहिलेलाई पुनः म्याद थप्नुपर्ने भयो ।
रवि: म्याद थप भएपनि श्रीमान्को मुस्कानले राहत हुँदो रहेछ ।
यही संवाद पछि रवि लामिछानेसहित कास्की प्रहरीको हिरासतमा रहेका ५ जनालाई ४ दिन म्याद थपिएको छ । उनीहरुविरुद्धको अनुसन्धान प्रतिवेदन प्रहरीले सोमबार सरकारी वकिल कार्यालयलाई बुझाइसकेको छ । अन्तिम पटक म्याद थपिएका कारण म्याद सकिँदासम्म सरकारी वकिलले अभियोगपत्र दायर गरिसक्नुपर्ने बाध्यकारी अवस्था छ । प्रहरीले सूर्यदर्शन सहकारी ठगीमा ५१ जनालाई प्रतिवादी बनाएको छ भने १ अर्ब ५१ करोड बिगो दाबीसहितको राय दिएको छ । उक्त रायसहितको प्रतिवेदन हेरेर सरकारी वकिल कार्यालयले निर्णय लिने छ ।