सिरियाली विद्रोही नेताको असदलाई सत्ताच्युत गर्ने लक्ष्य रहेको भनाइ
एजेन्सी,
विश्वमा विद्रोही सेनाहरूले सिरियामा जबर्जस्त आक्रमण गर्दै राष्ट्रपति बशर अल–असदको शासनलाई उल्ट्याउने लक्ष्य राखेको उनीहरूका इस्लामिक नेताले शुक्रबार प्रकाशित एक अन्तर्वार्तामा बताएका छन् । सरकारले नियन्त्रण गरेको अन्य प्रमुख सहरहरूलाई कब्जामा लिएपछि इस्लामिक नेतृत्वमा रहेका विद्रोहीहरू होम्सको ढोकामा पुगेको एक युद्ध अनुगमनकर्ताले बताएका छन् । यदि विद्रोहीहरूले होम्स कब्जा गरे भने यसले विगत पाँच दशकदेखि सिरियामा शासन गरिरहेको असद परिवारको प्रमुख गढ भूमध्यसागरीय तटबाट राजधानी दमास्कसको शक्ति केन्द्रलाई काट्नेछ । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स वार मोनिटरका अनुसार शुक्रबार बिहानसम्म विद्रोहीहरू होम्सको किनारबाट पाँच किलोमिटर मात्र टाढा थिए । सन् २०११ मा गृहयुद्ध सुरु भएपछिको पहिलो पटक सिरियाको दोस्रो सहर अलेप्पो र रणनीतिक रूपमा अवस्थित हामा असदको नियन्त्रणबाट बाहिरिएको छ । हयात ताहरिर अल–शाम (एचटिएस) विद्रोही गठबन्धनका नेता अबु मोहम्मद अल–जोलानीले आक्रमणको लक्ष्य असदको शासन अन्त्य गर्नु रहेको बताए । ‘जब हामी उद्देश्यको बारेमा कुरा गर्छौं, क्रान्तिको लक्ष्य यो शासनलाई उखेल्नु हो । त्यो लक्ष्य हासिल गर्नका लागि हामीलाई उपलब्ध सबै साधनहरू प्रयोग गर्ने अधिकार छ,’ जोलेनीले सीएनएनलाई दिएको अन्तर्वार्तामा भने । टर्कीका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले शुक्रबार विद्रोहीहरूको प्रगति ‘कुनै घटनाबिना’ हुने आशा गरेको बताए ।सिरियाको कुर्दिश नेतृत्वको सेनाले शुक्रबार टर्की र विद्रोहीहरूसँग वार्ताका लागि खुला रहेको भन्दै आक्रमणले देशका लागि ‘नयाँ’ राजनीतिक वास्तविकताको घोषणा गरेको बताएको छ । नोभेम्बर २७ मा सुरु भएको आक्रमणलाई सञ्चालन गर्ने विद्रोही गठबन्धनको नेतृत्व एचटिएसले गरिरहेको छ । यो अल–कायदाको सिरियाली शाखामा आधारित छ तर हालका वर्षहरूमा आफ्नो छवि सुधार्न प्रयास गर्दै आएको छ ।अब्जर्भेटरीका अनुसार सिरियाली सेना र इरान समर्थित बलहरू ‘अचानक’ पूर्वी सिरियाको देइर एजोरबाट पछि हटेर मध्य सिरियातर्फ गएका छन् । त्यहाँ होम्स अवस्थित छ ।इजरायल र लेबनानी समूह हिजबुल्लाह बीचको युद्धमा युद्धविराम लागू भएकै दिन विद्रोहीहरूले उत्तरी सिरियामा आफ्नो आक्रमण सुरु गरे । हिजबुल्लाह रूस र इरानसँगै असद सरकारको महत्त्वपूर्ण समर्थक रहेको छ। विपक्षीलाई समर्थन गर्ने टर्कीले शुक्रबार सिरियाको अवस्थाबारे छलफल गर्न कतारमा रुस र इरानसँग यस सप्ताहन्तमा वार्ता गर्ने बताएको छ ।