भुटानी राजाको जन्मभूमि काठमाण्डौमा चार घण्टा
रासंसा/काठमाण्डौ, मार्ग २२,
मुलुकमा भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले भारतको औपचारिक भ्रमणबाट स्वदेश फर्कने क्रममा शुक्रबार काठमाडौं आएर साढे चार घण्टा बिताएका छन्। नयाँ दिल्लीबाट शुक्रबार ‘ट्रान्जिट भिजिट’ पारेर वाङचुक रानी जेत्सुन पेमासहित काठमाडौं आएका हुन्। काठमाडौंमा साढे चार घण्टाजति बिताएर उनी स्वदेश फर्किएका हुन्। विमानस्थलबाट भुटानी शाही दम्पती स्वयम्भूनाथ गएका थिए। उनीहरू विमानस्थलबाट तीनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, छाउनी हुँदै स्वयम्भू पुगेका थिए। त्यहाँ स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले उनीहरूको स्वागत गरेका थिए। त्यसपछि वाङचुक दम्पतीले स्वयम्भूमा पूजा गरे, तस्बिर खिचाए अनि त्यहीबाट काठमाडौं उपत्यकाको दृश्यावलोकन गरे। भुटानी राजा वाङचुक रानीसहित नयाँ दिल्लीबाट विशेष उडान (स्पेसल फ्लाइट) मा काठमाडौं आएका थिए। बिहान करिब १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका भुटानी राजालाई विमानस्थलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले स्वागत गरेकी थिइन्। झन्डै एक घण्टा स्वयम्भूमा बिताएका वाङचुक दम्पती त्यसपछि बौद्ध गएका थिए। उनीहरू स्वयम्भूबाट भगवान पाउ, शोभा भगवती, सोह्रखुट्टे, जयनेपाल हल, ल्होत्से चोक, ज्ञानेश्वर, गौशाला, चाबहिल हुँदै एक बजेतिर बौद्ध पुगेका थिए। परराष्ट्र मन्त्रालयले भुटानी नरेशको यो भ्रमणलाई निजी भनेको छ। ‘यो भ्रमणमा उहाँले कुनै किसिमको राजनीतिक वा कूटनीतिक भेटघाट तथा वार्ता गर्नुभएन’, परराष्ट्र मन्त्रालयका उपसचिव शुभांग पराजुलीले भने, ‘एक बौद्धमार्गीले आफ्नो धार्मिक आस्था बोकेर नेपाल आउनुभयो। बौद्ध धार्मिक स्थलहरूको दर्शन गर्नुभयो। पूजाअर्चना गर्नुभयो, अनि फर्कनुभयो।’ बौद्धनाथमा पनि वाङचुकले पूजाअर्चना गरे। त्यहाँ झन्डै एक घण्टा बिताएका भुटानी नरेश दम्पती दिउँसो साढे दुई बजेतिर त्रिभुवन विमानस्थलबाट भुटानतर्फ लागेका थिए। विमानस्थलमा भुटानी शाही दम्पतीको स्वागत गरेकी परराष्ट्रमन्त्री देउवा बिदाइका लागि पनि विमानस्थल पुगेकी थिइन्। अहिले ४४ वर्षमा हिँड्दै गरेका भुटानी राजा वाङचुक नेपालमा जन्मिएका हुन्। सन १९८० को फेब्रुअरी २१ मा उनी काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूती गृहमा जन्मिएका थिए। बुबा राजा जिग्मे सिंगे वाङचुकको औपचारिक बिहे हुनुअगावै जिग्मे खेसर नामग्याल वाङचुक जन्मिएको बताइन्छ। यसैले उनको नेपालसँग जन्मको नाता छ। उनी राजा भइसकेपछि पहिलो पटक नेपाल आएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ। सन् २००६ देखि उनी भुटानको राजा छन्। उनको २००८ मा राज्याभिषेक भएको थियो। गत दसैंताका पूर्वराजा ज्ञानेन्द्र भुटानको निजी भ्रमणमा जाँदा विभिन्न खाले राजनीतिक आशंका गरिएका थिए। भुटानी राजा आफ्नो जन्म स्थान र पवित्र बुद्धभूमि दर्शनका लागि आएको हुन सक्ने परराष्ट्र मन्त्रालयको बुझाइ छ। उनी भुटानी राजवंशका पाँचौं शासक हुन्। भुटानी राजपरिवारको नेपाली पूर्वराजपरिवारसँग सम्बन्ध रहेको मानिन्छ। जिग्मे जन्मदा परोपकार प्रसूति केन्द्रमा पूर्वराजा ज्ञानेन्द्र शाहले रेखदेखको वातावरण मिलाइदिएको दरबारनिकटहरू बताउने गर्छन्। नेपाल र नेपाली भाषी समाजमा भने भुटानी राजदरबारको आलोचना हुने गरेको छ। भुटानमा वर्षौंदेख बसोबास गर्दै आएका लाखौंको नेपाली भाषीलाई लखेटेर नेपालमा शरणार्थी बन्न बाध्य पारेकाले त्यहाँको दरबारको आलोचना हुने गरेको हो। भारतले भुटानी शरणार्थीलाई स्वदेश फर्काएर पुनःस्थापनामा सहयोग गर्नुको सट्टा नेपालभित्र पस्न सघाएको भन्दै उसको आलोचना हुने गरेको छ। भारतले यो समस्या समाधानमा कहिल्यै चासो पनि दिएन। शरणार्थीलाई फर्काउन भुटानी राजाले वातावरण नबनाएपछि अमेरिका लगायत पश्चिमा देशहरूले संयुक्त राष्ट्रसंघीय शरणार्थी आयोगको सहयोगमा आफ्नो देशमा लगेर व्यवस्थापन गर्न सघाए। अहिले पनि नेपालको पूर्वी क्षेत्रमा भुटानी शरणार्थी छन्। उनीहरू सकेसम्म स्वदेश फर्कन र नभए तेस्रो देशमा गएर बस्न चाहन्छन्। भुटानी दरबारलाई भारतको नियन्त्रणमा रहेको ‘पोपट’ शासकका रूपमा पनि लिइन्छ। भुटानबाट लाखौं नेपालीभाषी हिन्दुलाई लखेट्दा भारतले भुटानी दरबारकै पक्ष लिएको टिप्पणी हुँदै आएको छ। परराष्ट्र मन्त्रालयले भुटानी राजा वाङचुक नेपाल आउने खबर पाएपछि सुरक्षा व्यवस्था चुस्त पार्न लगाएको थियो। गत बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर सुरक्षा प्रबन्धका लागि नेपाली सेनाले पूर्वाभ्यास गरेको थियो।