जनकपुरको लगातार तेस्रो जित, पोखरा फेरि पराजित
रासंसा/काठमाण्डौ, मार्ग २०,
मुलुकमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा बिहीबार पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो। यससँगै पोखरा दोस्रोपटक पराजित बन्न पुगेको छ। जनकपुरका लागि लाहिरु मिलान्थाले सर्वाधिक ४५ रन बनाए। उनले ३२ बलमा ८ चौका सहित ४५ रन बनाए। उनले ओपनर आसिफ शेखसँग ७२ रनको अर्धशतकीय साझेदारी गरे। उनलाई माइकल लिस्कले ९.५ ओभरमा सागर ढकालको हातबाट क्याच आउट गराए। पहिलो खेलमा विराटनगरलाई ८ विकेटले हराएको जनकपुरले दोस्रो खेलमा कर्णालीलाई पनि ८ विकेटले नै हराएको थियो। टियु क्रिकेट मैदानमा पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा १४३ रन बनाउँदै जित निकालेको हो। पहिलो विकेटको रुपमा २.१ ओभरमा कप्तान अनिल शाह ३ बलमा १ रन बनाउँदै विपिन खत्रीको बलमा एलबीडब्ल्यु आउट भए। जनकपुरको लागि दोस्रो विकेटका रूपमा लाहिरु मिलान्थाको विकेट गयो। जनकपुरको तेस्रो विकेट आसिफ शेखको रूपमा गयो। उनले ३४ बलमा ३ चौकासहित ३३ रन बनाएर कुशल भुर्तेलको बलमा काउ कर्नरको बाउन्ड्रीमा विपिन खत्रीको हातमा क्याच भए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३८ रन बनाएको हो। पोखराका लागि माकर्स क्रिच्लेले सर्वाधिक ३५ रन बनाए। जेम्स निशाम ४० र हर्ष थाकर १३ रनमा अविजित रहे। जेम्सले २० बलमा ५ छक्कासहित ४० रन बनाए भने हर्षरले १४ बलमा १ चौका सहित १३ रन बनाए। पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र माइकल लिस्कले समान १/१ विकेट लिए। त्यस्तै दिनेश खरेल १० रन, कुशल भुर्तेल, दिलिप नाथ ११ रन, माकर्स किच्ले ३५ रन, र्यामन रेफर १७ रन, माइकल लिस्क २५ रन बनाउँदा रनारायण जोशी ५ र विपिन खत्री १ रनमा अविजित रहे। जनकपुरका लागि ललित राजवंशीले सर्वाधिक ३ विकेट लिए। जेम्स निसामले २ र किशोर र मोहम्मद मोसिनले १/१ विकेट लिए। बिहीबारको दोस्रो खेल सुदूरपश्चिम रोयल्स र काठमाडौं गुर्खाजबीच हुनेछ।