कांग्रेसले भनेकै ‘बीआरआई फ्रेमवर्क’ तयार, प्रधानमन्त्री आज चीन जाँदै
रासंसा/काठमाण्डौ, मार्ग १७,
मुलुकमा प्रधानमन्त्री केपी शर्मा ओली चारदिने औपचारिक भ्रमणका क्रममा सोमबार चीन जाँदैछन्। गठबन्धनका दलबीच बीआरआई कार्यान्वयनमा ‘मध्यमार्गी बाटो’ अपनाएर ओली चीन जान लागेका हुन्। बीआरआई कार्यान्वयनको सम्झौताका विषयलाई लिएर कांग्रेस र एमालेबीच लामै छलफल चलेको थियो। बीआरआई कार्यान्वयनका सम्बन्धमा नेपाल–चीनबीच हुने प्रस्तावित समझदारीका सम्बन्धमा कांग्रेसले प्रस्ताव गरेकै नाममा अन्ततः सहमत जुटेको हो। चीनलाई पठाइएको दस्तावेजमा सन् २०१७ मा भएको बीआरआईसम्बन्धी समझदारीको विषयको चर्चा गरिएको छ। त्यसअन्र्तगत विद्युत्, शिक्षा, पर्यटन स्वास्थ्य, पूर्वाधार निर्माणलगायत कयौं विषयमा सहकार्य गर्न सकिने उल्लेख छ। चीन भ्रमणको मिति तय भएसँगै बीआरआई मोडालिटीबारे छलफल गर्न प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडा, कांग्रेसका महामन्त्री गगन थापा र अधिवक्ता सेमन्त दाहाल सदस्य रहेको कार्यदल बनाइएको थियो। चिनियाँ राजदूतावासमा शनिबार बुझाइएको यससम्बन्धी डकुमेन्टमा नयाँ सम्झौताको नाम कांग्रेसले प्रस्ताव गरेअनुसार नै ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राखिएको छ। फ्रेमवर्कको प्रावधानलाई एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘अनुमोदन’ गरेर मस्यौदा चीनको परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ। ज्ञवालीले भनेका छन्, ‘फ्रेमवर्क अन बीआरआई कोअपरेसनमा सहमति निर्माण गर्न सफल हुनु भएकोमा सम्माननीय प्रधानमन्त्री र नेकां सभापति मा. शेरबहादुर देउवालाई बधाई ! यो चीनसँग नेपालको विकास साझेदारी नयाँ उचाइमा उठाउने र बाह्य सम्बन्धमा सिंगै राष्ट्रको एकीकृत धारणा निर्माण गर्ने महŒवपूर्ण प्रस्थानबिन्दु हो।’ एमाले उपमहासचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्– कांग्रेस र एमालेको सहमतिमा तयार पारिएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ लाई नेपाल–चीनबीच विकास साझेदारी र बाह्य सम्बन्धमा एकीकृत धारणा निर्माण गर्ने महŒवपूर्ण प्रस्थानबिन्दु हुनेछ।’ सत्ता साझेदार प्रमुख दुई दलबीच सहमति कायम गरी परराष्ट्र मन्त्रालयले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ प्रस्ताव चीनलाई बुझाएको भोलिपल्ट पूर्वमन्त्री ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्। चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा नेपालले चीनलाई आफ्नो तर्फबाट अन्तिम प्रस्ताव बुझाएको थियो। यस प्रस्तावमा चिनियाँ धारणा सार्वजनिक भइसकेको छैन। चिनियाँ राजदूत छन सोङ चीन प्रस्थान गरेका छन् भने परराष्ट्रमन्त्री आरजु राणा चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गरी शनिबारै स्वदेश फर्किएकी छन्। सोमबारै प्रधानमन्त्रीसँगै मन्त्री राणा पनि भ्रमणमा जाँदै छन्। यसअघि चीनले बीआरआई कार्यान्वयन योजना प्रस्ताव गरी त्यसमा हस्ताक्षरका लागि पहल गरिरहेको थियो। चिनियाँ प्रस्तावको जवाफमा नेपालले फरक नाम र व्यहोरा प्रस्ताव गरेको हो। प्रधानमन्त्री ओली हिमालयन एयरलाइन्सको चार्टर विमानबाट चीन जाँदैछन्। मंसिर १७ देखि २० गतेसम्म हुने प्रधानमन्त्रीको भ्रमण टोलीमा सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहनेछन्। प्रधानमन्त्री ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। साथै, उनले नेपाल–चीन बिजनेस फोरमले आयोजना गर्ने कार्यक्रममा सम्बोधन गर्नेछन्। बेइजिङस्थित नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली सहभागी हुनेछन्। भ्रमणको चौथो दिन बिहीबार नेपाल फर्किने कार्यक्रम छ। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार चीनका प्रधानमन्त्री ली छ्याङसँग औपचारिक रूपमा द्विपक्षीय भेट वार्ता गर्ने कार्यक्रम छ। सोही द्विपक्षीय वार्तामा दुई मुलुकबीचका एजेन्डाहरूमा छलफल हुने तथा सहमति र सम्झौतामा हस्ताक्षर हुनेछन् । प्रधानमन्त्री ओलीले मंगलबारै चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। उनले चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्त गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्रीको कार्यतालिका
सोमबार
बिहान ११ बजे काठमाडौंबाट उड्ने
बेलुकी साढे ५ बजे बेइजिङ पुग्ने
मंगलबार
चीनका प्रधानमन्त्री ली छ्यानसँग औपचारिक भेटवार्ता
चीनका राष्ट्रपति सी चिनफिङसँग औपचारिक भेटवार्ता
चिनियाँ जनकंग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग भेटवार्ता
बुधबार
पेकिङ विश्वविद्यालयमा सम्बोधन
नेपाल–चीन बिजनेस फोरमको कार्यक्रमलाई सम्बोधन
बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रममा सहभागी
बिहीबार
स्वदेश फर्किने