देशभरका शिवालयमा शतबीज छर्नेको घुइँचो, बाला चतुर्दशी पर्व मनाइदै

Share to:

रासंसा/काठमाण्डौ, मार्ग १५,

मुलुकमा आज बाला चतुर्दशी पशुपतिनाथसहित मुलुक भरका शिवालयमा शतबीज छर्नेको घुइँचो लागेको छ। विशेषगरी पशुपतिनाथमा बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको हो। शतबीज छर्नुअघि हिजो साँझ उनीहरुले पितृको सम्झनामा दीप तथा महादीप बालेर रातभर जाग्राम बसेका थिए। मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा शतबीज छरेमा पितृको उद्धार हुने तथा जन्ममृत्युको चक्रबाट मुक्त हुने धार्मिक मान्यता छ।पशुपतिनाथमा आउन नसक्नेहरुले नजिकैका शिवालयमा बत्ती बालेर त्यहीँ शतबीज छर्ने गरेका छन्। पञ्चांगका अनुसार शनिबार बिहान १० बजेर १ मिनेटसम्म मात्र चतुर्दशी तिथि छ। त्यसपछि औँसी तिथि लाग्छ। रातभर जाग्राम बस्ने र भोलिपल्ट ब्रम्हामुर्हतमा बागमतीमा बत्ती बगाउने परम्परा छ। यसपछि स्नान गरी पशुपतिनाथ क्षेत्रमा शतबीज छर्ने गरिन्छ। शतबीजमा धान, जौ, गहुँ र कागुनुजस्ता अन्नसहित केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती निबुवा, बिमिरो, अमला आदि मौसमी फल र विभिन्न किसिमका फूल समावेश गरिएको हुन्छ।

Like