प्रधानमन्त्री ओलिको भनाई नेपालमा झुटको खेती गर्नेको कमी छैन
रासंसा/काठमाण्डौ, मार्ग ११,
मुलुकमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अझै पनि मुलुकमा झुटको खेती गर्नेहरुको कमी नभएको टिप्पणी गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ सालयता मुलुकमा आमूल परिवर्तनको काम सुरु भएपनि त्यो पर्याप्त नभएको पनि बताए। उनले मुलुकमा कृषि क्षेत्रको आमूल परिवर्तन गर्नका लागि सरकारले ठोस कार्यक्रमका साथ अघि बढ्ने पनि जिकिर गरे। २०७२ सालयता एमाले नेतृत्वको सरकारले तीव्र गतिका साथ सुशासन र समृद्धिको बाटोमा मुलुकलाई अघि बढाएको लाजसरम नभएका बेइमान र झुटका खेती गर्नेहरुले भ्रम छर्ने गरेको प्रधानमन्त्री ओलीको जिकिर थियो। प्रधानमन्त्री ओलीले भने, ‘२०७२ सालभन्दा यताको अवधि भनेको तीव्र गतिका साथ देशलाई विकासको बाटोमा अगाडि बढाउन खोजिएको, सुशासन र समृद्धिको बाटोमा अघि बढाउन खोजिएको अवधि हो। तर तपाईँ हामी सबैलाई थाहा छ–कस्ता कस्ता शक्ति कतितिरबाट लागेका छन्। कति झुटको खेती गर्दछन्। कति बेइमानी कुराहरू फैल्याउँछन्। लाज सरम कति छोड्न सक्छन्, त्याग्न सक्छन्। तर पनि हामी एउटा ठूलो रिभोलुशन गरिराखेका छौं। तर रेभुलुशन पुगेको छैन। खासगरी कृषि क्षेत्रमा रेभुलुशन पुगेन। ’ प्रधानमन्त्री ओलीले २०५१ सालबाट एमालेले राष्ट्र निर्माणको अभियान सञ्चालन गरेको र अहिले समृद्धिको अभियानलाई तीव्रता दिएको समेत बताए।