निम्बार्काचार्यको जीवनी र गुरु नानक

डा. के. बि. सम्राट
सुदर्शनो द्वापरान्ते कृष्णाज्ञप्तो जनिष्यति।
निम्बादित्य इति ख्यातो धर्मग्लानिं हरिष्यति।।
ॐ नमो नारायण वा श्रीमन नारायण हरी हरी ।
भूरिदा भूरि देहिनो, मा द्रभं भूर्या भर । भूरि घेदिन्द्र दित्ससी ।
भूरिदा त्यसि श्रुतः पुरुत्रा शूर वृत्रहन् ।
आनो भजस्व राधसी ।।
ॐ नारायणाय विद्यहे । वासुदेवाय धीमहि । तन्नो विष्णु प्रचोदयात् ।।
त्वमेव माता च पिता त्वमेव। त्वमेव बन्धुश्च सखा त्वमेव।
त्वमेव विद्या द्रविणं त्वमेव । त्वमेव सर्वं मम देव देव ।।
शान्ताकारं भुजगशयनं पद्यनाभं सुरेशं ।
विश्वाधारं गगनसदृशं मेघवर्णं शुभाङ्गम् ।।
लक्ष्मीकान्तं कमलनयनं योगिभिध्र्यान गम्यम् ।
वन्दे विष्णु भवभयहरं सर्वलोकै कनाथम् ।।
कृष्णाय वासुदेवाय हरये परमात्मने । प्रणत क्लेशनाशाय गाविन्दाय नमोनमः ।।
श्री राम जय राम जय जय राम । ॐ नमः शिवायः ।
ॐ हं हनुमते नमः । ॐ नमो नारायण वा श्रीमन नारायण हरी हरी । ॐ त्र्यम्बकं यजामहे सुगन्धिंपुष्टिवद्र्धनम् ।
उर्वारुकमिव बन्धनान्मृत्योर्मुक्षीय माऽमृतात् ।।
ॐ भूर्भुवः स्व तत्सवितुर्वरेण्यं भर्गो देवस्य धीमहि धियो यो नः प्रचोदयात् । ॐ गं गणपतये नमः । ॐ कालिके नमः ।
ॐ ह्रीं श्रीं क्रीं परमेश्वरी कालिके स्वाहा । ॐ ह्रीं ह्रीं श्री लक्ष्मी वासुदेवाय नमः ।
गुरु निम्बार्काचार्यको प्रारम्भिक नाम नियमानन्द हो। यमुनाको तटवर्ती ध्रुवीय क्षेत्रमा गुरु निम्बार्काचार्यले आश्रमवासी भई निवास गर्दाको समयको कुरा हो, एक दिन एक जना दण्डी संन्यासी गुरुको आश्रममा आए। दण्डी स्वामी र जगद्गुरुका वीचमा लामो समयसम्म आध्यात्मिक विचार-विमर्श भयो। दुबैले सूर्यास्त भएको पनि ख्यालै गरेनन्। दण्डी स्वामी फर्किनलाग्दा गुरु निम्बार्काचार्यले स्वामीलाई भोजन गर्न अनुरोध गरे, तर सूर्यास्त भइसकेको हुँदा दण्डी स्वामीले भोजन गर्न नमिल्ने बताए। दण्डी संन्यासीहरू प्राय: सूर्यास्तपछि कहिल्यै पनि भोजन गर्दैनन्। साँझको अतिथि भोजन नगरी फर्कने अवस्था प्राप्त भएपछि श्रीनिम्बार्काचार्यलाई ठूलो चिन्ता भयो। भगवानले गुरुको वर्तमान समस्या समाधान गर्नका निमित्त प्रकृतिको नियमलाई समेत परिवर्तन गरेर अद्भुत लीलाको सिर्जना गर्नुभयो। आश्रम नजिकै रहेको निमको रुखमा भगवान् सूर्यदेव प्रकाशित हुनुभयो र अस्ताई सकेका सूर्यनारायण पुनः उदीयमान हुनुभयो। भगवानको अपार करुणाको प्रत्यक्ष दर्शन गरी आचार्यको हृदय गदगद भयो। भगवानको करुणाप्रति कृतज्ञता प्रकट गर्दै उनले अतिथि दण्डी सन्यासीलाई भोजन गराउने अवसर प्राप्त गरे र अतिथिलाई भोजनादिबाट सम्मान गरेपछि मात्र सूर्यास्त भयो। भगवानको यस असीम करुणा प्राप्त भएकाले श्रीनिम्बार्काचार्यको एउटा सिद्धका रूपमा ख्याति प्राप्त भयो। परिणामतः यिनको नाम निम्बादित्य(निम्ब = निमको रुख र आदित्य = सूर्य) अथवा निम्बार्क(निम्ब =निमको रुख र अर्क = सूर्य)का रूपमा प्रसिद्ध भयो। श्रीमद्भागवत यस सम्प्रदायको मुख्य ग्रन्थ हो। गुरु निम्बार्कचार्यको मतमा ब्रह्मभन्दा जीव पृथक् पनि छ र ब्रह्म र जीवको ऐक्यभाव पनि छ।
जगद्गुरु श्रीनिम्बार्काचार्यकी माताको नाम जयन्ती देवी र पिताको नाम श्रीअरुण मुनि थियो। यिनलाई भगवान् सूर्यको अवतार मानिन्छ। कसैकसैले यिनलाई भगवान् नारायणको सुदर्शन चक्रको अवतार पनि मान्दछन् तथा अन्य एउटा मतमा यिनको पिताको नाम श्रीजगन्नाथ हो भन्ने पनि सुनिन्छ। वर्तमान अन्वेषकहरूले विभिन्न प्रमाणका आधारमा यिनको जीवन-काल ईशाको ११औं शताब्दी हो भनेर प्रमाणित गरे पनि यिनका भक्तजन यिनको जन्मकाल द्वापरयुगलाई मान्दछन्। गुरु निम्बार्काचार्यको जन्म दक्षिण भारतको गोदावरीको तटमा अवस्थित वैदूर्यपत्तन नामक नगर नजिकैको अरुणाश्रममा भएको थियो। एउटा किंवदन्ती के छ भने यिनको व्रतबन्धसंस्कारका समयमा स्वयं देवर्षि नारदले निम्बार्काचार्यलाई श्रीगोपाल-मन्त्रको दीक्षा प्रदान गर्नु भएको थियो तथा श्रीकृष्णोपासना गर्ने उपदेशसमेत दिनु भएको थियो। त्यसैले निम्बार्काचार्यका गुरु देवर्षि नारदलाई मानिन्छ र नारदका गुरु श्रीसनकादि ब्रह्मपुत्रहरूलाई मानिन्छ। त्यसैले गुरु निम्बार्काचार्यको निम्बार्क सम्प्रदायलाई सनकादि सम्प्रदाय पनि भन्ने गरिन्छ र यिनको मतलाई द्वैताद्वैतवाद भनिन्छ। श्रीनिम्बार्काचार्यको मतअनुसार यो मत अत्यन्त प्राचीन कालसित सम्बद्ध छ, कुनै नयाँ र नौलो मत होइन। उनले आफ्नो भाष्यमा नारद र सनत्कुमारको नामको उल्लेख गर्दै के सिद्ध गरेकाछन् भने यो मत सृष्टिको प्रारम्भदेखि नै प्रचलित छ।
निम्वार्क सम्प्रदायका विनम्र अनुयायीहरूले निम्वार्क सम्प्रदायका प्रमुख संस्थापक हंस भगवानलाई माने पनि असलमा आचार्य निम्बार्क नै निम्बार्क सम्प्रदायका संस्थापक हुन् । आचार्य शङ्करले आरम्भ गरेको अद्वैतवाद बाहेक रामानुज, निम्वार्क, मध्व, बल्लभ तथा चैतन्यबाट आरम्भ भएका वैष्णव सम्प्रदायहरूको नामले नै तिनका संस्थापकको भौतिक उपस्थिति प्रमाणित गर्छ । यद्यपि धेरैजसो आचार्यहरूले विनम्रताका कारण आफ्नो सिद्धान्तको जस आफ्ना पूर्ववर्ती आचार्यहरूलाई दिएका छन् । एउटा दर्शनशास्त्रको विद्यार्थीका रूपमा पङ्क्तिकारले दार्शनिक सिद्धान्तहरूको आधुनिक उपयोगिताको तत्थ्य केलाउँदा निम्बार्कले निर्माण गरेको द्वैतद्वैतवाद बढी व्यावहारिक लाग्छ । एउटा तत्व नै परमात्मा, जीव र जडजगतका रूपमा प्रत्यक्षको विषय बनिरहेको छ । जीव र जगत् परमात्मामा आश्रित छन् तर यिनको स्वतन्त्रता परमात्मासँग जोडिएको छ । असलमा, यी तीनैवटा तत्वहरू जीवजगतको दृष्टिकोणले मनन गर्दा त्रि-सत्तात्मक छ भने परमात्माका दृष्टिकोणले प्रज्ञापित गर्दा अद्वैत छ । यसरी सत्ता द्वैतअद्वैतमय छ । हरेक वर्ष कार्तिक पूर्णिमाका दिन आचार्य निम्बार्कको जन्मजयन्ति मनाउने गरिन्छ । परम्परागत निम्बार्कीहरूले आचार्य निम्बार्कको यस पटक ५०२०औं जन्मजयन्ति मनाउँदै छन् भने दर्शनशास्त्रका इतिहासकारहरूले भने आचार्य निम्बार्कको समय १२औँ शताब्दिको अन्त्यतिर भएको जिकिर गरेका छन् । यी दुवै कुरामा एउटा समानता छ- आचार्य निम्बार्क भौतिक व्यक्ति थिए र उनले राधाकृष्णको भक्तिलाई प्रमुख बनाएर द्वैतद्वैतवाद नामक दार्शनिक सिद्धान्त प्रतिपादन गरेका थिए । ‘सत्ता वा परमतत्वलाई अद्वैत, एक, द्वैत वा अनेको सीमाभित्र बाँध्न सकिन्न’- आचार्य निम्बार्कको यो अभिमत वर्तमान विश्वका समस्याहरूको दीगो समाधानका लागि साँच्चिकै उपयोगी छन् । व्यक्ति व्यक्तिगत परिचय (Identity) राखेर परमतत्वसँग तदात्मकताको अंगका रूपमा स्थापित हुनु महत्वपूर्ण हुन्छ । एकमा बहुलता र बहुलतामा एकताको यस्तो अप्रतिम सिद्धान्त अन्य कुनै आचार्यहरूले प्रस्तुत गरेका छैनन् । अन्य दार्शनिक अभिमतहरू एकल वा द्वी-फक्लेटे छन् ।
नेपालमा पनि निम्बार्कका अनुयायीहरूको लगभग २ लाख ५० हजारको संख्यामा उपस्थिति रहेको अनुमान गरिन्छ । निम्बार्कहरूको पूर्वदेखि पश्चिमसम्म भौतिक उपस्थिति देखिन्छ र राधाकृष्णका मन्दिरहरू, गुरूकुलहरूआदि संचालन गरेको तथा विभिन्न सामाजिक तथा सांस्कृतिक क्रियाकलापमा संलग्न रहेको देखिन्छ ।
नेपालमा निम्बार्क सम्प्रदायको पहिलो आगमनको तिथिमिति र व्यक्तिबारे कुनै आधिकारिक जानकारी छैन । लिखित र भौतिक व्यक्तिको कुरा गर्दा पश्चिम नेपालको स्याङ्जा जिल्लामा वि.सं. १०६० तिर जम्मिएर भारतको वृन्दावनका हरिप्रिया शरणजीबाट निम्बार्क सम्प्रदायमा दीक्षित भई सन् नेपाल फर्किएर स्याङ्जाकै केलादीघाटलाई आफ्नो साधनाको केन्द्र बनाएर निम्बार्क सम्प्रदायको आधिकारिक आश्रम कायम गरी निम्बार्क सम्प्रदायको प्रथम नेपाली गुरूका रूपमा निम्बार्क सम्प्रदायको आधिकारिक दीक्षा दिने पहिलो व्यक्ति नेपाल भूषण भगवत् शरण (भवानीशङ्कर सिग्देल) नै भएको तत्थ्य निर्विवादित छ । यदि भगवत् शरण बाहेक कसैले आफूलाई नेपालमा पुरोधाका रूपमा प्रस्तुत गर्छ भने छल हो । असलमा, ठ्याक्कै तिथिमिति थाहा नभए पनि भवानीशङ्करले नै वि.स. १९९० ताकातिर नेपालमा निम्बार्क सम्प्रदायको जग बसालेको मान्न सकिन्छ । आधुनिक भारतको उदय (सन् १९४७) पूर्व नै नेपालमा निम्बार्क सम्प्रदायका अनुयायीहरूको गहिरो उपस्थिति प्रमाणित गर्नका लागि भारतीय राजस्थान राज्यको अजमेर जिल्लामा रहेक निम्बार्क आचार्यका पीठधीशहरूले काली गण्डकीमा मात्र पाइने शालीग्रामलाई निम्बार्क सम्प्रदायको प्रमुख आराध्य सर्वेश्वर भागवानका रूपमा पूजाआजा गर्दै आएकोले सिद्ध हुन्छ । उपरोक्त सर्वेश्वर (शालीग्राम) सत्ययुगमा उत्पन्न भएका ब्रह्माका मानसपुत्र सनकादि ऋषिहरूले पूजा गरेको र त्यसै आचार्य परम्पराबाट नै वर्तमान आचार्यले सेवा गरिरहेको मानिन्छ । निम्बार्कीहरू बाहेक प्रमुख आराध्यका रूपमा शालीग्रामको सेवा गर्ने अन्य कुनै आचार्य छैनन् ।
त्यसपछि नेपालमा नै रहेर निम्बार्क सम्प्रदायलाई आफ्नो आध्यात्मिक मार्ग बनाउनेहरू र सोही सम्प्रदायमा दीक्षित गर्ने गुरूहरूमा ओखलढुंगाका राधिका दास, केलादीका भगवत्शरणका शिष्य धरणी धर, तुलसीशरण, गोपालशरण, माधवशरण, रुक्मिणीशरण प्रमुख रहेका छन् । यसैगरी नेपालमा विभिन्न ठाउँमा मन्दिर वा आश्रम बनाएर भारत वा नेपालका स्वनामधन्य निम्बार्की गुरूहरूबाट दीक्षा प्राप्त गर्ने र निम्बार्क सम्प्रदायको शिक्षा अगाडी बढाउनेहरूमा लक्ष्मीशरण (पर्वत) जगन्नाथशरण, केशवशरण, खेमराज केशवशरण तथा आजभोलि चाहिँ प्रा, हरिशरण, प्रा. मुकुन्दशरण, नेपाली प्रथम जगद्गुरूका रूपमा चर्चित बालसन्त मोहनशरण, भारतको वृन्दावनमा रहेर विश्वभरि निम्बार्क सम्प्रदायको प्रचारप्रसार गर्ने गोपालशरण र उहाँका नेपाली शिष्यहरूमा नन्दकिशोर भारद्वाजआदि गौसेवाका माध्यमबाट प्रसिद्ध छन् । नेपालमा निम्बार्कीहरूको राम्रो उपस्थिति छ । नेपालका सबैजसो प्रमुख शहरहरूमा निम्बार्कीहरूले स्वेकीय उपासना पद्द्यतिको अवलम्बन गर्दै श्रीराधाकृष्णको उपासना गरिरहेका छन् । अनेकौँ आश्रम, गुरुकुल तथा अन्य मध्यमहरूबाट वैदिक सनातन धर्मको निरन्तरता सुनिश्चित गरिरहेका छन् । नेपालमा निम्बार्कीहरूको बलियो उपस्थितिका कारक प्रथम नेपालीगुरू भगवत् शरणजीलाई (स्व. २०३६) स्मरण नगर्ने हो भने नेपालमा निम्बार्क सम्प्रदाय र तिनका अनुयायीहरूप्रति अन्याय हुने छ । यस अर्थमा, भगवत् शरणजी निम्बार्क सम्प्रदायका नेपाली संस्थापक (first man) हुन् ।
चार वैष्णवसम्प्रदायहरूमा आचार्य निम्बार्क सनकसम्प्रदायका संस्थापक हुन् र यिनले नारद मुनिबाट श्रीराधाकृष्णको उपासना मन्त्र प्राप्त गरेका थिए । चार सम्प्रदायमा आचार्य निम्बार्कलाई “सुदर्शन चक्र”को अवतारका रूपमा सम्मान गरिन्छ । आचार्य निम्बार्क एकान्तप्रिय, साधना प्रिय र आफ्ना उपास्यदेव राधाकृष्णका साधक थिए । उनले वेदान्त दशस्लोकी तथा श्रीकृष्णस्तवराज जस्ता केही साना ग्रन्थहरूको प्रणयन गरेका छन् । वेदान्त दशश्लोकी सम्भवत: सबैभन्दा वेदान्तसूत्रको संक्षिप्तमा गरिएको टीका हो । जे-होस्, आचार्य निम्बार्कले बाल्यकालमै घर त्यागेर गोवर्धन पहाडसंगै जोडिएको निमगाउँमा आएर तपस्या गरेको र सोही ठाउँमा उनको परीक्षा लिन ब्रह्माले एउटा ब्राह्मणको भेष बनाई सांझका वेला भिक्षा मागेकोमा नियमानंदले आश्रमस्थित नीमको रूखमा तपोवलले सूर्य स्थापनागरि भोजन गराएकोले उनी निम्बार्क भएका हुन् भन्ने साम्प्रदायिक मान्यता रहेको छ । निम्बार्क सम्प्रदाय एउटा प्रायोगिक दार्शनिक विचार धारा हो जुन हंस भगवानदेखि आरम्भ भएको भन्ने मान्यता छ । हाल विश्वभरि निम्बार्क सम्प्रदायका अनुयायी फैलिएका छन् । भारतको मथुरा-वृन्दावन एसको मुख्य केन्द्र हो भने राजस्थानको अजमेर (सलेमवाद) मा एसको भारतीय केन्द्र रहेको छ । नेपाली मूलका अनेकौं सन्तहरूले हाल पनि भारतका विभिन्न ठाउँमा निम्बार्क सम्प्रदायका गुरुको रूपमा सेवा गरिरहेका छन् जसमा हरिब्यास निकुन्जका महन्त मुरारी बाबालाई म सम्झन्छु । कथाकार त असंख्य नै छन् भन्न मिल्छ ।
गुरू नानक देव (१४६९-१५३९) को जन्म हालको पाकिस्तानको नानकाना भन्ने ठाउंमा हिन्दू खत्री परिवारका कल्याण चन्द दास र माता त्रिप्ताबाट भएको थियो । उनका वाबु तेस गाउँका मुखिया थिए । उनले १६ वर्षको उमेर देखि आध्यात्मिकतामा अभिरुचि देखाउन आरम्भ गरेका थिए भने र उनले लेखेको गुरु ग्रन्थ-सहिवका आधारमा शिखपन्थको स्थापना भएको हो । गुरु नानकका दूई छोराहरू मध्ये देवचन्द्रले हिन्दूसनातनधर्मकै अंगका रूपमा उदासीन सम्प्रदायको विकास गरे भने उनका दोस्रा छोराले शिख धर्म नै खडा गरे । शिख धर्मको मूल थलो भारत र पाकिस्तानको पंजावप्रान्त हो । गुरुद्वारा एसको आराधना थलो हो तर देवचन्द्रजीले भने नानकमठको स्थापना गरे । काठमाडौँको नयाबजारमा गुरुनानक कैलाश जाँदा तीन दिन निवास गरेर स्थापित गरेको नानक मठ छ । ललितपुर्को कुपन्डोलमा एउटा भव्य गुरुद्वारा छ जसका संचालक स्याङ्गजाको ब्राह्मण परिवारबाट धर्मपरिवर्तन गरी शिख बनेका रामसिंहले गर्छन् । विराटनगर, बीरगंज, नेपाल गंजमा शिखहरूको बसोवास छ भने उनीहरू कृषिसहित अन्य व्यवसायमा संलग्न छन् । नेपालमा करिव ५ हजार शिखहरू रहेको अनुमान गरिन्छ भने केहीले “आफुलाई पंजावी ठानेर नागरिकतामा समस्या गर्ने” रहेको छ । हाल विश्वभरी करिव २ करोड शिखहरू रहेको अनुमान गरिन्छ भने भारतपछि सबैभन्दा बढी शिखहरूको वसोवास क्यानाडामा छ । हाल नेपालका लागि भारतीय राजदुत श्री मंजीव पुरी पनि सिखसम्प्रदायका छन् र यिनकै पहलमा एउटा किताव “सिख हेरिटेज अफ नेपाल” हालै भारतीय दुतावासले प्रकाशित गरेको छ । हाल गुरु नानक देवको ५५$ सौं जन्मउत्सव चलिरहेको छ ।