चितवनमा पनि रवि र छविविरुद्ध पक्राउ पुर्जी जारी
रासंसा/चितवन, मार्ग ०७,
मुलुकमा सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी भएको छ। उनका अनुसार रवि र छविसहित १० जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। शुक्रबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालले पक्राउ पुर्जी जारीका लागि अनुमति दिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिए। चितवनको साहारा चितवन बहुउद्देश्य सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा बचतकर्ताले लामिछाने र जोशीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए। सहकारी पीडितले रवि र छवि सहित जिवि ग्रुप कम्पनीका सेयर धनी विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, नेचर नेष्ट प्रालीका शेयरधनी दीपक लामा, स्प्रिङ उड रियल स्टेटका शेयरधनी भगवती बम्जन,नेचर हर्बस इन्टरनेशनल प्रालिका शेयरधनी कविता तामाङ र राम बहादुर खनाल विरुद किटानी जाहेरीमा दिएका थिए। बुधबार सहकारी पीडितले रवि र छविसहित १० जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएका हुन्। साहरा चितवन सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिमा १० करोड ८० लाख १८ हजार १५१ लाख रुपैयाँ गएको देखिएको छ। यसअघि असोज ८ गते साहारा सहकारीको बचत रकम हिनामिना प्रकरणमा जीबी राईसहित १७ जना विरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भइसकेको छ। यसअघि बचत कर्ताको ३७ करोड ६५ लाख ६४ हजार ५ सय ४६ रुपैयाँ हिनामिना गरेको ठहर गर्दै प्रहरीले १७ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको थियो। साहारा सहकारीबाट नेचर हर्बस इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ५९७, जीबी ग्रुप अफ कम्पनीमा ९ करोड २७ लाख ५० हजार ८५४ र स्प्रिङ उड रियल स्टेट ६ करोड ८१ लाख ८८ हजार ७०३ र नेचर नेस्ट प्रालिमा ६ करोड ५१ लाख १० हजार ३२२ गरेर ४३ करोड १४ लाख ४९ हजार ९२७ रुपैयाँ गएको भन्दै पीडितले पुरक जाहेरी दिएका हुन्। जिल्ला प्रहरी कार्यालयमा एक वर्षअघि पीडितले रकम हिनामिना गरेको आरोपमा त्यतिखेर १४ जना विरुद्ध उजुरी दिएका थिए। त्यसपछि चितवन अदालतले असोज ९ गते प्रतिवादीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई आदेश दिएको थियो। अनुसन्धानका क्रममा देखिएका थप ३ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दायर गरेको थियो। साहारा सहकारीमा ६ हजार ३३४ बचत कर्ता छन्। त्यसमध्ये जिल्ला प्रहरी कार्यालयमा ४४६ जनाले सो रकमको माग सहित उजुरी दिएका थिए। साहाराको सफटवेयरमा हेर्दा ५२ करोड ३२ लाख ८५ हजार ३०८ रुपैयाँ पैसा हिनामिना भएको देखिन्छ। तर, हालसम्म उजुरी १४ करोड ६७ लाख ७७२ रुपैयाँको माग दाबी गर्न कोही नआएको सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्तिराज लुइँटेलले जानकारी दिए। प्रतिवादी बनाइएका मध्ये रवि, छवि, हिरासतमा छन् भने कुमार रम्तेल आषिश आनन्द र छत्रमणी भट्टराई कारागार छन्। सरकारी वकिल कार्यालय चितवनले कुमार रम्तेलसंग बयान लिइसकेको छ। पोखरा कारागारमा रहेका रम्तेलले आफू जिबि राईको कर्मचारी भएकाले जिबिले भने अनुसार काम गरेको बयानमा बताएका थिए। गोर्खा मिडियाको ग्लोबल आईएमई बैंकमा रहेको खातामा जम्मा भएको रकममध्ये ४७ करोड बराबरको कारोबार शङ्कास्पद रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। तर सो रकमको कारोबार के कसरी को सँग गएको हो सोको विवरण माग गरिएकोमा प्राप्त नहुँदै अनुसन्धान प्रतिवेदन प्राप्त भएकाले मुलुकी संहिता २०७४ को दफा ३५ अनुसार पुरक अभियोगमा पेश गर्ने बताइएको छ। कार्यालयले यसअघि राई सहित १७ जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा ५४ बमोजिम ठगी भएको रकमको बिगो जाहेरवालालाई दिलाई दिन माग गर्दै मुद्दा पेश गरेको छ। उनीहरुलाई कार्यालयले सम्पत्ति शुद्धीकरण तर्फ पनि प्रतिवादी बताएको छ।