व्यवस्था उल्टाउने र बचाउने दुवै शक्ति प्रदर्शनमै, सत्तापक्षदेखि प्रतिपक्षसम्म सडकमा
रासंसा/काठमाण्डौ, मार्ग ०६,
मुलुकमा केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारविरुद्ध प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू सडक संघर्षमा ओर्लिएका छन् । गत असार १७ गते दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमालेबिच भएको ७ बुँदे सहमतिको जगमा ओली नेतृत्वको सरकार बनेको हो । विपक्षीहरूले सरकारको कडा आलोचना गरिरहेको समयमा सत्ता पक्ष, त्यसमा पनि सरकारकै नेतृत्व गरिरहेको दल नेकपा एमाले स्वयं शक्ति प्रदर्शन गर्ने अवस्थामा पुगेको छ । एमालेले ७ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको हो । सरकारविरूद्ध फैलाएको अफवाह तथा अराजकतालाई चिर्न जागरण सभा गर्न लागिएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन् । प्रतिनिधि सभाका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा एमाले नै सरकारमा सामेल भएको अवस्थामा विपक्षी दलहरूको आकार तुलनात्मकम रूपमा निकै सानो छ । यद्यपि, विपक्षी दलहरूले सरकारलाई विभिन्न मुद्दामा निसाना बनाउँदै आएका छन् । सरकारको गलत कामप्रति खबरदारी गर्न विपक्षी दलहरूले सदन र सडक प्रयोग गर्ने अभ्यास लोकतान्त्रिक मुलुकमा हुन्छ । तर शान्ति सुरक्षा, जनताका माग पूरा गर्ने ठाउँमा बसेको सत्तापक्ष नै शक्ति प्रदर्शनमा उत्रिनु राम्रो नभएको राजनीतिक विश्लेषकहरू बताउँछन् । यद्यपि सरकारबारे प्रश्न उठेपछि त्यसको जवाफ दिने विश्वव्यापी परम्परा भएको एमाले नेताहरूको तर्क छ । प्रमुख प्रतिपक्ष दल माओवादीले आफ्नो नेतृत्वको तत्कालीन सरकारले खोलेका भ्रष्टाचारको फाइल बन्द गर्न, जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त गरी प्रतिगमनतर्फ जान सरकार उद्यत रहेको आरोप लगाउँदै आएको छ । सत्ताबाट बाहिरिएको माओवादीले कात्तिक १० गते राजधानीमा पहिलोपटक ओली सरकारविरुद्ध खबरदारी सभा गर्यो । ‘जनता असन्तुष्ट छन् भन्नेखालको कुरा खडा गर्न खोजिएको छ तर जनता प्रमुख दलप्रति नै विश्वास र भरोसा गर्छन् । उनीहरूबाटै सुधारको अपेक्षा गर्छन् भन्ने सन्देश दिन जरूरी छ,’ एमाले महासचिव पोखरेलले गत हप्ता जागरण सभाको औचित्यबारे प्रस्ट पार्दै भनेका थिए । एमालेले उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला कमिटीको आयोजनामा दरबारमार्गमा सभा गर्न लागेको संयोजक डा.राजन भट्टराईले जानकारी दिएका छन् । ‘ओली सरकार बनेको पहिलो दिनदेखि नै राम्रो काम गरेन । यो सरकार सुशासन, सामाजिक न्याय, समृद्धिको पक्षमा देखिएको छैन भन्ने कुरा सरकारको पछिल्ला गतिविधिले नै पुष्टि गर्दै लगेको छ’, माओवादीका उपमहासचिव हरिबोल गजुरेलले भने, ‘माओवादी नेतृत्वको सरकारले गरेका राम्रा कामको विपक्षमा ओली सरकारले गतिविधि गरिरहेको छ ।’ प्रमुख प्रतिपक्ष दल माओवादीले आफ्नो नेतृत्वको तत्कालीन सरकारले खोलेका भ्रष्टाचारको फाइल बन्द गर्न, जनयुद्ध, जनआन्दोलनबाट प्राप्त उपलब्धि समाप्त गरी प्रतिगमनतर्फ जान सरकार उद्यत रहेको आरोप लगाउँदै आएको छ । सत्ताबाट बाहिरिएको माओवादीले कात्तिक १० गते राजधानीमा पहिलोपटक ओली सरकारविरुद्ध खबरदारी सभा गर्यो । कात्तिक २६ गते बसेको माओवादी पदाधिकारी बैठकले पालिकास्तरको आन्दोलन सशक्त बनाउन सबै प्रदेशलाई निर्देशन दिएको छ । उनले वर्तमान सरकार जनताको पक्षमा नबनेको पनि बताए । ‘भ्रष्टाचारी, विचौलिया पक्षमा उभिएको सरकार हो यो । प्रतिगमनतर्फ सरकार गइरहेको छ भन्ने पार्टीको निष्कर्ष छ,’ उनले भने, ‘प्रतिगमनकारी सरकारविरुद्ध पालिकास्तरमा आन्दोलनलाई थप सशक्त बनाउन सबै प्रदेशलाई जिम्मा दिइएको छ ।’ समाजवादी मोर्चामा रहेको नेकपा एकीकृत समाजवादीले पनि नेताहरूको कार्यविभाजन टुङ्गिएपछि आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेको छ । असारमा भएको १० औँ महाधिवेशनपछि आन्तरिक विवादमा अल्झिएको एकीकृत समाजवादी अब रफ्तारमा अगाडि बढ्ने उपाध्यक्ष जगन्ननाथ खतिवडाले दाबी गरे । आ–आफ्ना बदमासी ढाकछोप गर्न ओली सरकार बनेको आरोप लगाउँदै उनले आगामी बैठकले जनजीविका, सुशासन र विकासको पक्षमा आन्दोलनको कार्यक्रम ल्याउने जानकारी दिए । आन्दोलनलाई थप प्रभावकारी बनाउन आगामी केन्द्रीय समिति बैठकले ठोस योजना र कार्यक्रम ल्याउने गजुरेलले बताए । साथै केन्द्रीय समिति बैठकपछि समाजवादी मोर्चालाई समेत प्रभावकारी बनाउने उनले जानकारी दिए । ‘हामी अब एमालेबाट अलग भएको औचित्य पुष्टि गर्ने गरी आन्दोलनको कार्यक्रम ल्याउन तयारीमा छौँ । नेताहरूको कार्यविभाजन टुङ्गिएपछि पार्टीको बैठक बसेर विस्तृत योजना बनाउँछौँ’, खतिवडाले भने । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टी पनि चरणबद्ध आन्दोलनमा छ । रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । मोर्चामै आवद्ध रहेको अर्को दल नेपाल कम्युनिस्ट पार्टीले पार्टी स्थापनाको अवसर पारेर मंसिर ८ गते काठमाडौँ लगायत देशैभरि कार्यक्रम गर्दैछ । काठमाडौँमा नेकपा बागमती प्रदेश समितिले कार्यक्रम गर्न लागेको नेता अनिल शर्मा विरहीले जानकारी दिए । केही दिनअघि रातोपाटीसँग कुरा गर्दै महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भव्य रूपमा कार्यक्रम गर्ने बताएका थिए । मुलुक अहिले निकै जटिल अवस्थामा रहेकाले सम्पूर्ण देशभक्त, वामपन्थी शक्ति एक ठाउँमा उभिनुपर्नेमा उनको जोड थियो । केन्द्रीय समिति बैठकपछि आन्दोलनको कार्यक्रम ल्याउने विप्लवले जानकारी दिएका थिए । समाजवादी मोर्चाका संयोजक समेत रहेका उनले आगामी दिनमा मोर्चालाई प्रभावकारी बनाएर लैजाने विषयमा शीर्ष नेताहरूसँग छलफल भइरहेको बताएका थिए । ‘राजनीतिप्रति लगभग आस गुमाउन लागेको पुस्ताले देशप्रति पनि आस गुमायो भने त्यसले निम्त्याउने दुर्घटना भयङ्कर हुनेछ । यस्तो विषम परिस्थितिमा गन्तव्यमा पुग्ने बाटो नभेटाएको सरकार देशको चौथो राजनीतिक शक्ति र यसको नेतृत्वलाई राजनीतिक प्रतिशोधको आधारमा कारबाहीको प्रक्रिया अगाडि बढाउनलाई नै आफ्नो अस्तित्व र सफलताको मानक मान्दैछ’, रास्वपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । सहकारी ठगीको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ परेपछि सो पार्टी पनि चरणबद्ध आन्दोलनमा छ । रास्वपाले मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । यता अहिलेको व्यवस्थाविरुद्ध पृथक आन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टी विगत ९ महिनादेखि सडक आन्दोलनमा छ । सरकारसमक्ष ४० बुँदे माग राखी गत वर्ष फागुनदेखि राप्रपा संघर्षमा होमिएको छ । कर्णाली र सुदूरपश्चिम जागरण अभियानमा निस्किएका राप्रपाका नेता अर्को हप्ता काठमाडौँ फर्किंदै छन् । अहिलेसम्म भएका आन्दोलनको समीक्षा गरी राप्रपाले आगामी कार्यसम्पादन समिति बैठकबाट थप कार्यक्रम ल्याउने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । विवादित व्यवसायी दुर्गा प्रसाईं र उनका समर्थकले काठमाडौँबाटै गणतन्त्रको विकल्पमा चरणबद्ध आन्दोलन गर्दै आएका छन् । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ नामक अभियानमार्फत् गरिएको आन्दोलनमा सरकारले हस्तक्षेप गर्दै आएको छ । दुई दिनअघि प्रधानमन्त्री तथा एमालेका अध्यक्ष ओलीले कम्बोडियाको टेलिकममा ठुलो लगानी गरेको विवादास्पद भिडियो सामाग्री प्रसारण भएपछि प्रसाईं पक्राउ परेका छन् । मंगलबार पक्राउ परेका उनलाई हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले सात दिनको म्याद दिएको छ । प्रसाईं पक्राउको विरोधमा उनका समर्थकले काठमाडौं केन्द्रित आन्दोलनको तयारी गरेका छन् । ‘सरकारसमक्ष ४० बुँदे माग राखेर गत वर्षदेखि हामी आन्दोलनमा छौँ । हाम्रो मागप्रति सरकारले कुनै सुनुवाइ गरेको छैन । जागरण अभियानको क्रममा अहिले हामी सुदूरपश्चिममा छौँ । आगामी दिनमा कार्यसम्पादन समिति बैठक बसेर आन्दोलनलाई थप सशक्त बनाउने गरी कार्यक्रम ल्याउँछौँ’, श्रेष्ठले भने ।