१४ लाख विद्यार्थीलाई २०५६ यता कक्षा ११ र १२ को एकैपटक मौका परीक्षा

Share to:

रासंसा/काठमाण्डौ, कार्तिक २५,

मुलुकमा कक्षा ११ र १२ मा २५ वर्षअघि र त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा २३ वर्षअघि भर्ना भएर फेल भएका विद्यार्थी मौका परीक्षामा सहभागी हुन पाउने भएका छन् । कक्षा ११ र १२ मा फेल भएका २०५६ सालदेखि र स्नातक तहमा फेल भएका २०५८ सालदेखिका विद्यार्थीले मौका परीक्षा दिन पाउने भएका हुन् । जति विषयमा फेल भएका विद्यार्थी पनि मौका परीक्षामा सहभागी हुन पाउने उनले जनाए । बोर्डका अनुसार कक्षा ११ र १२ मा फेल भएर पढाइ छाडेका विद्यार्थीको संख्या १४ लाख छ । जुन अहिलेको विद्यार्थी संख्या हेर्दा कक्षा १२ को तीन ब्याचभन्दा पनि बढी हुन्छ । आवेदन फाराम भर्ने विद्यार्थी संख्याका आधारमा परीक्षा तालिका सार्वजनिक गरिने शर्माले बताए । राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीलाई कक्षा ११ र १२ को परीक्षा आवेदन फाराम भर्न सूचित गरेको छ । आगामी मंसिर २७ सम्म आवेदन फाराम बुझाउन सकिने बोर्डले जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले २०५६ देखि २०७७ सम्म रजिस्ट्रेसन गरेका विद्यार्थीले परीक्षा आवेदन फाराम भर्न पाउने बताए । अङ्कन प्रणालीमा कुनै विषयमा अनुत्तीर्ण, अनुपस्थित वा अक्षराङ्कन (ग्रेडिङ) पद्धतिमा तोकिएको ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले अन्तिम एक पटकका लागि परीक्षामा सहभागी हुन पाउने अवसर दिन लागिएको बोर्डले जनाएको छ । सम्बन्धित विद्यालय/क्याम्पसले आफ्ना विद्यार्थीहरूको परीक्षा आवेदन फाराम संकलन गरी बोर्डमा बुझाउन आग्रह गरिएको छ । प्रयोगात्मक विषय मात्र बाँकी रहेका विद्यार्थीले पनि सबै मौकामा आवेदन दिन सक्नेछन् । बोर्डले अतिरिक्त विषयमा परीक्षा दिन चाहने परीक्षार्थीले कक्षा ११ र १२ मा बढीमा सय/सय गरी कुल दुई सय पूर्णाङ्कको परीक्षा दिन पाउने व्यवस्था गरेको छ । एक संकायको विद्यार्थीले अर्को संकायका विषयमा समेत परीक्षा दिन पाउने बोर्डले जनाएको छ । पुराना विद्यार्थीको परीक्षा पुरानो पाठ्यक्रमअनुसार नै सञ्चालन हुने र पूर्णाङ्कसमेत साविक बमोजिम नै हुने बोर्डले जनाएको छ । त्यस्तै यसअघि त्रिभुवन विश्वविद्यालयले वार्षिक प्रणालीतर्फ २०५८ र सेमेस्टरतर्फ २०६९ को सीमा कटेका विद्यार्थीलाई मौका परीक्षाको अवसर दिने निर्णय गरेको थियो । शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा असोज पहिलो साता बसेको बैठकले उक्त निर्णय गरेको हो । गत चैतमा त्रिविले आगामी शैक्षिक सत्रदेखि स्नातक तहको परीक्षामा नेपाली भाषामा पनि प्रश्नपत्र‍ तयार गर्ने निर्णय गरेको थियो । त्रिविका प्रश्नहरू अंग्रेजी भाषामा मात्रै सोधिँदै आएकामा यो वर्षदेखि नेपालीमा पनि सोधिने भएको हो । हाललाई शिक्षाशास्त्र, मानविकी तथा सामाजिक शास्त्र, व्यवस्थापन र कानुन संकायतर्फ स्नातक तहको परीक्षामा नेपाली र अंग्रेजी दुवै भाषामा प्रश्नपत्र तयार गरिने भएको हो । बैठकले त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानुन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय गरेको हो । परीक्षासम्बन्धी तयारी परीक्षा नियन्त्रण कार्यालय र सम्बन्धित डिन कार्यालयले गरेको रजिस्ट्रारको कार्यालयले जनाएको छ । त्यस्तै त्रिवि परीक्षा सुधार समितिले जुनसुकै तहको परीक्षामा (एआई) प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने निर्णयसमेत गरेको छ । उक्त व्यवस्थाअनुसार यस वर्ष प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागू हुनेछ । परीक्षामा प्रश्नपत्र अंग्रेजी भाषामा मात्रै सोधिँदा समस्या उत्पन्न भएको र त्यही कारण धेरै विद्यार्थी अनुत्तीर्ण हुने गरेको भन्दै संसद्मा पनि प्रश्न उठेको थियो ।

Like