अब सीआईबीले एसपी र इन्सपेक्टर मुछ्रिएको ‘हनी ट्र्याप’को अनुसन्धान गर्ने
रासंसा/काठमाण्डौ, कार्तिक २३,
मुलुकमा ललितपुरको भैंसेपाटी प्रहरी प्रभागकी तत्कालीन प्रहरी निरीक्षक (इन्सपेक्टर) बिनुकुमारी शाही जोडिएको ‘हनी ट्र्याप’ प्रकरणमा नेपाल प्रहरीका एसपी कमल थापा पनि जोडिएपछि प्रहरी प्रधान कार्यालयले थप अनुसन्धानका लागि सीआईबीलाई जिम्मेवारी दिएको छ । सीआईबीले मंगलबारदेखि नै यस विषयमा अनुसन्धान थालिसकेको छ । एक जना व्यापारीलाई बलात्कार मुद्दामा फसाउने भन्दै प्रहरीसहितको मिलेमतोमा ३० लाख रुपैयाँ असुली गरेको घटनाको अनुसन्धान अब केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गर्ने भएको छ । गम्भीर प्रकृतिको घटनाको अनुसन्धान गर्दै आएको सीआईबीले हनी ट्र्याप’boutको घटना अनुसन्धान गर्न लागेको यो पहिलोपटक हो । प्रहरी प्रधान कार्यालय र ललितपुर प्रहरीले बनाएको छानबिन समितिको निचोडलाई समेत आधार बनाएर अनुसन्धान हुनेछ,’ सीआईबीका प्रमुख एआईजी थापाले भने । सीआईबीका प्रमुख एआईजी दीपक थापाले यस प्रकरणको ‘नेक्सस’ विभिन्न जिल्लासँग जोडिएकाले मंगलबारदेखि नै सीआईबीका तर्फबाट अनुसन्धान थालिएको बताए । यस घटनामा पक्राउ परेका सबै जना र अनुसन्धानका अहिलेसम्मका फाइल झिकाएर अनुसन्धान सुरु गरिएको उनको भनाइ छ । सीआईबीका एसपी होबिन्द्र बोगटीले यो घटना अनुसन्धान गर्न एक टोली बनाइएको र टोलीले काम थालिसकेको जानकारी दिए । प्रहरी प्रधान कार्यालयले गरेको जाँचमा पनि केही नयाँ तथ्य खुलेको र ती सबै विषयमाथि जाँच थालिएको ब्युरोका अधिकृतहरूको भनाइ छ । संगठित अपराधमा प्रहरीले प्रतिवादीहरूलाई ६० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । ललितपुर प्रहरीले एक महिनाभन्दा बढी समय लगाएर उनीहरूमाथि अनुसन्धान गरिसकेको छ । ललितपुर प्रहरी प्रमुख एसएसपी शेखर खनालले अनुसन्धानका लागि पक्राउ परेका चारै जना व्यक्ति र मिसिल बुधबार सीआईबीलाई पठाएको बताए । ‘संगठित अपराधको कसुरमा हामीले पनि अनुसन्धान गरिरहेका थियौं तर यसमा सिनियर अफिसरको पनि संलग्नता र अन्य जिल्लामा पनि घटना भएको कुरा आएकाले हामीले सीआईबी पठाएका हौं,’ ललितपुर प्रहरी प्रमुख एसएसपी खनालले भने । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यस प्रकरणमा अहिले चार जना प्रहरीको हिरासतमा छन् । ९ असोजमा पक्राउ परेका प्रहरी प्रभाग भैंसेपाटीका सहायक हबलदार महेन्द्र हमाल, सुनसरी इटहरीकी सुष्मा विक, ताज स्लाम र भीमादेवी थापामाथि आपराधिक लाभ र संगठित अपराध मुद्दामा प्रहरीले अनुसन्धान गरिरहेको छ । इन्सपेक्टर शाही मुछिएको ‘हनी ट्र्याप प्रकरण’मा एसपी थापा पनि मुछिएपछि उनलाई यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालबाट अनुसन्धानका लागि भन्दै प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाइएको थियो । प्रहरी प्रधान कार्यालयकै उजुरी तथा छानबिन शाखाले एसपी थापामाथि छानबिन गरेको थियो । सो शाखाले पनि आफ्नो फाइल सीआईबीलाई बुझाएको हो । युवती प्रयोग गरेर बलात्कार मुद्दामा फसाउन खोजेको यस प्रकरणमा नाम जोडिएपछि प्रहरी प्रधान कार्यालयले एसपी थापालाई दसैं बिदालगत्तै फिर्ता बोलाएको हो । यस घटना’bout छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरहरि अधिकारीको नेतृत्वमा समिति गठन गरेको थियो । डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी थापामाथि पनि अनुसन्धान गर्न सुझाव दिएको थियो । बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख रुपैयाँ दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन एसपी थापा र स्लामबीच भेटघाट भएको सीसीटिभी फुटेजसमेत समितिले फेला पारेको थियो । उनीहरूबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेस्टुरेन्टमा ७ असोज साँझ साढे ६ बजे भेट भएको थियो । त्यहाँ उनीहरूबीच करिब आधा घण्टा भेटघाट भएको फुटेजसमेत समितिले प्राप्त गरेको थियो । हनी ट्र्याप प्रकरणका मुख्य योजनाकार स्लाम र एसपी थापाबीच ७ असोजमा एकपटक फोनमा कुराकानी भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।सुनसरीमा एसपी हुँदादेखि नै थापासँग स्लामको सम्बन्ध राम्रो थियो । त्यस्तै, एसपी थापा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुख भएका बेला प्रहरी निरीक्षक शाही पनि कञ्चनपुरमै कार्यरत थिइन् । त्यसैले पनि एसपी थापामार्फत नै ‘विश्वासिलो’ ठाउँको खोजी गर्दै स्लामको समूह शाही नेतृत्वको भैंसेपाटी प्रहरी प्रभाग पुगेको थियो । स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ । सोही चिनजानमा एसपी थापाको सिफारिसमा उनीहरू भैंसेपाटी पुगेको प्रहरीको भनाइ छ । प्रहरी निरीक्षक शाही कार्यरत भैंसेपाटी प्रहरी प्रभागमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि पनि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुनु शंकास्पद रहेको पनि समितिले प्रतिवेदनमा उल्लेख गरेको छ । सो समितिले प्रहरी निरीक्षक शाहीलाई निलम्बन गर्न सिफारिस गरेपछि शाही निलम्बनमा परिसकेकी छन् । निलम्बनपश्चात पक्राउ पुर्जी जारी भएपछि प्रहरी निरीक्षक शाही ‘फरार’ छिन् । हिरासतमै रहेकी सुष्मा विक हनी ट्र्यापमा व्यवसायीलाई फसाउन प्रयोग भएकी युवती र स्लाम हनी ट्र्यापको मुख्य योजनाकार रहेको प्रहरीको दाबी छ । उनकै योजनामा बलात्कारमा फसाइदिने भन्दै एक व्यवसायीबाट ३० लाख रुपैयाँ असुलिएको आरोप छ । व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्रै इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँ माग भएको थियो । पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि कुरा मिलेको थियो । जसअनुसार १३ लाख र ७ लाख रुपैयाँ गरेर दुईपटकमा भीमादेवीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको थियो । यसरी असुल गरिएको रकम भीमादेवीको खातामा जम्मा गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेका सहायक हबलदार हमालबाहेक अन्य तीन जनाले यसअघि इन्सपेक्टर शाहीसँग चिनजान नभएको बताएका छन् । हिरासतमा रहेका स्लाम र फरार रहेका इटहरीका दर्शन पोखरेलले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको पाइएको प्रहरी अधिकारीहरू बताउँछन् । ती व्यवसायीसँगको सम्बन्ध’bout थाहा पाएपछि उनीहरूले सुष्मालाई प्रयोग गरेर रकम असुल गरेको प्रहरीको निष्कर्ष छ । यस समूहले इटहरीदेखि काठमाडौंसम्मका व्यवसायीलाई हनी ट्र्यापमा पारेको प्रहरीको आशंका छ । व्यवसायीलाई हनी ट्र्यापमा पार्न युवतीलाई अनेक माध्यमबाट सम्पर्क गर्न लगाउने र शारीरिक सम्बन्ध भएपछि रकमको ‘बार्गेनिङ’ गर्ने र रकम नदिए बलात्कारको उजुरी हाल्न लगाउने यस समूहको धन्दा नै भएको प्रहरीको भनाइ छ । एक वर्षअघि दरबारमार्गको बलात्कार घटनामा पनि हाल पक्राउ परेका स्लामकै भूमिका रहेको हुनसक्ने आशंका गरिएको छ । सीआईबीले दरबारमार्ग बलात्कार घटना’bout समेत अनुसन्धान थालेको छ ।