ह्यारिसलाई पराजित गर्दै ह्वाइटहाउसमा ट्रम्पको पुनरागमन, राष्ट्रपति पौडेलले दिए बधाई
रासंसा/काठमाण्डौ, कार्तिक २२,
मुलुकमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड जे ट्रम्पको दोस्रोपटक पुनरागमन भएको छ । डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै ट्रम्प ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ट्रम्प पहिलोपटक सन् २०१६ मा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई हराउँदै अमेरिकाको ४५औं राष्ट्रपतिमा निर्वाचित भएका थिए । अमेरिकाको इतिहासमा यसअघि तेस्रोपटकसम्म राष्ट्रपति उम्मेदवारमा २२औं राष्ट्रपति ग्रोभर क्लेभेलान्डले यो इतिहास रचेका थिए । उनी सन् १८८४ मा अमेरिकाको राष्ट्रपतिमा पहिलोपटक निर्वाचित भएका थिए । तर, सन् १८८८ मा भएको निर्वाचनमा उनी पराजित भए । सन् १८९२ मा भएको निर्वाचनमा भने ग्रोभर फेरि राष्ट्रपति पदमा निर्वाचित भएका थिए । १ सय ३२ वर्षपछिको इतिहास दोहो¥याउँदै ट्रम्प एक कार्यकालयको ग्यापमा फेरि दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनी दोस्रोपटक स्न २०२० मा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग पराजित भएका थिए । तेस्रोपटक सन् २०२४ मा पुनः महिला उम्मेदवार ह्यारिसलाई हराउँदै ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचन अभियानका क्रममा दुई हत्या प्रयासका बाबजुद ऐतिहासिक पुनरागमन गर्दै ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका छन् । अमेरिकी इतिहासमा ट्रम्पले दुईपटक नै महिला उम्मेदवारलाई पराजित गर्न सफल भए । ट्रम्पले राष्ट्रपति उम्मेदवार हुनका लगि चाहिने २ सय ७० इलेक्टोरल मतको लक्ष्य पार गरेका छन् । पहिलो कार्यकालमा ट्रम्पले पपुलर भोट ल्याउन नसके पनि निर्वाचित भएका थिए भने यसपटक भने पपुलर भोटमा पनि ट्रम्प अगाडि देखिएका छन् । पहिलाको दाँजोमा ट्रम्पले ‘ब्याटलग्राउन्ड स्टेट्स’ भनिने महत्वपूर्ण राज्यहरूमा ठूलो विजय प्राप्त गर्नुका साथै लगभग अमेरिकाभरि नै पहिलेको दाँजोमा धेरै मत प्राप्त गरेका छन् । राष्ट्रपतिको यस जितले अमेरिकामा महिला उम्मेदवारलाई निर्वाचन जित्न अझै पनि कठिन हुने देखिएको छ । ह्यारिसले निर्वाचन जित्न नसक्नुमा पहिलो कारण उनी महिला भएकाले धेरै अमेरिकी मतदाताले उनलाई रुचाएनन् । दोस्रो उनी अश्वेत वर्ण भएका कारण पनि मतदाताले रुचाएको पाइएन । राष्ट्रपति पदसँगै सिनेट र तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्समा पनि ट्रम्पको रिपब्लिकन पार्टीले डेमोक्र्याटिक पार्टीलाई निकै पछि छाड्यो । यसरी हेर्दा अमेरिकामा ट्रम्प नेतृत्वमा बलियो सरकार बन्ने देखिएको छ । अब ट्रम्पले यसअघि डेमोक्र्याटिक पार्टीका राष्ट्रपति जो बाइडेनका पालामा लागू गरिएका कार्यक्रमहरू उल्टाउनसक्ने देखिन्छ । ट्रम्पले सिनेट र तल्लो सदनमा बहुमत हासिल गर्दा यसअघि लागू भएका कानुन उल्टाएर संकुचित कानुन ल्याउन सक्नेछन् । ट्रम्पले आप्रवासी नीतिमा परिवर्तन गर्ने प्रतिबद्धता जनाइसकेका छन् । गैरकानुनी रूपमा अमेरिका छिरेकामाथि बाइडेनको कार्यकालमा कडा कारबाही हुन सकेन । सीमा सुरक्षा पनि चिन्ताको विषय हो । ट्रम्पले यसलाई कडाइका साथ प्रतिबन्ध लगाउने कुरा गरेका छन् । उनले सबैभन्दा पहिला अमेरिका र अमेरिकीको कुरा गरेका छन् । अमेरिकन फस्र्ट अर्थात् अध्यागमनको अन्त्य गरेर अमेरिकी र उनीहरूका परिवारको सुरक्षालाई पहिलो प्राथमिकता दिनेमा ट्रम्पको जोड रहँदै आएको छ । कर नीति, सरकारी खर्च, व्यापार र आप्रवासनसम्बन्धी मुद्दालाई ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा पनि एजेन्डा बनाउँदै आएकाले कंग्रेसमा आफ्नो पक्ष पल्लाभारी हुँदा कानुन उल्टाउनसक्ने उनलाई सुनौलो अवसर हुनसक्नेछ । ट्रम्पले निर्वाचन जित्नुमा स्विङ राज्यमा आफ्नो पकड जमाउनसक्नु पनि हो । स्विङ हुने मतदाता भएका राज्यमा ट्रम्पले आफ्नो प्रभाव जमाउन सक्दा उनी हावी भए । सातवटा स्विङ स्टेटबाट रिपब्लिकन पार्टीका ट्रम्पलाई राष्ट्रपति बन्न ५१ इलेक्टोरल मत आवश्यक थियो भने डेमोक्र्याटिककी ह्यारिसलाई ४६ इलेक्टोरल मत चाहिन्थ्यो । यसपटक ट्रम्पले पाएको समर्थन सन् २०१६ को जितभन्दा ठूलो छ । यी क्षेत्रमा बारम्बार भ्रमण र लक्षित अभियानहरू चलाएर ट्रम्पले डेमोक्र्याटिक मतदातालाई पनि आफूतिर ताने । देशमा भेदभाव अन्त्य हुने, देश बलियो र ठूलो हुनेछ भन्ने ट्रम्पको बोलीमा उनीहरूले दम देखे । अमेरिकामा यस निर्वाचनमा स्विङ स्टेटका रूपमा रहेका पेन्सिलभेनिया, नर्थ क्यारोलिना, जर्जिया, नेभाडा, विस्कन्सिन, मिसिगन र एरिजोना थिए । ट्रम्पले जर्जिया र उत्तरी क्यारोलिनाजस्ता प्रमुख स्विङ राज्यहरू सफलतापूर्वक कब्जा गरे, जुन उनको चुनावी सफलताका लागि आवश्यक थियो । ६ वटा स्विङ अर्थात् ब्याटलग्राउन्ड राज्यमध्ये ह्यारिसले पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिनमा मात्रै जित हात पारेको भए निर्वाचन जित्ने निश्चित थियो । तर, ह्यारिसले ती राज्यमा आफ्नो पकड कायम गर्न सकिनन् । साथै, अन्तिम समयमा आएर राष्ट्रपति निर्वाचनमा लड्नका लागि अदालतले बाटो खोलिदिएपछि ट्रम्पले रिपब्लिकन पार्टीबाट उम्मेदवारी दिएका हुन् । डेमोक्र्याटिक पार्टीबाट सुरुमा जो बाइडेन आफैं अघि सरेका थिए भने अन्तिम समयमा बाइडेनले ह्यारिसलाई ठाउँ छाडेका थिए । पहिलो कार्यकालमा ट्रम्पले डेमोक्र्याटहरू र केही रिपब्लिकनको चर्को आलोचना खेप्नुपरेको थियो । ४ वर्षअघि राष्ट्रपतिबाट बिदा भएसँगै ट्रम्पलाई विभिन्न मुद्दा लागे । उनीविरुद्ध संघीय र राज्यका अदालतमा फौजदारी मुद्दा दायर भएका थिए । ट्रम्प फौजदारी मुद्दा सामना गर्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । पोर्नस्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएर यौन सम्बन्ध राखेको आरोप ट्रम्पमाथि छ । यस मुद्दामा दोषी ठहर भएका उनलाई यसै महिनाको अन्त्यमा सजाय सुनाइँदै छ । उनलाई अदालतले ३४ वटा मुद्दामा दोषी ठहर गरिसकेको छ । युद्धको वातावरणमा ट्रम्पले कस्तो भूमिका खेल्लान् ? अमेरिकी राष्ट्रपतिमा ट्रम्पको विजय भएसँगै विश्व राजनीतिमा कस्तो हलचल आउला भनेर अड्कल बाजी हुन थालेका छन् । कूटनीति, अर्थनीति र राजनीतिक प्रभाव कस्तो बन्ला भनेर धेरैले विश्लेषण गरिरहेका छन् । विदेश नीतिमा राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकाल पहिलाजस्तै हुने आँकलन गरिएको छ । अहिले विश्वमा दुई ठाउँमा युद्ध भइरहेको छ । डेमोक्र्याटहरूले त्यस्तो कदमले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बलियो बनाउने बताउने गरेका छन् । यसले पनि के संकेत गर्छ भने अमेरिकाले युक्रेनलाई गर्दै आएको सहयोगमा भारी कटौती गर्ने देखिन्छ । जसले नेटोसँग आबद्ध भएका राष्ट्रसमेत संकटमा पर्ने देखिन्छ । पहिलो हो रुस र युक्रेनबीच २ वर्षअघिदेखि चलिरहेको युद्ध र अर्को इजरायल र लेबनानबीचको युद्ध । दुईवटा युद्धमध्ये रुस र युक्रेनबीच चलिरहेको युद्धमा युक्रेनलाई अमेरिकाले सहयोग गरिरहेको छ । अब ट्रम्प आएपछि युक्रेनलाई गरेको सहयोग कटौती हुनसक्ने देखिन्छ । किनकि उनले २४ घण्टाभित्रै संवादमार्फत रुस–युक्रेन युद्ध अन्त्य गर्ने बताएका छन् । अर्को युद्ध हो, इजरायल र गाजामा चलिरहेको युद्ध । यसअघि पनि ट्रम्पले आफू इजरायलको समर्थक भनेर घोषणा नै गरिसकेका छन् । त्यसैले, यस युद्धमा भने थप सहयोगको घोषणा ट्रम्पले गर्नसक्ने देखिन्छ । यद्यपि, उनले युद्ध अन्त्य गर्छु पनि भनिरहेका छन् । पहिलो कार्यकालमा ट्रम्पले बेइजिङसँग ‘व्यापार युद्ध’ सुरु गरेका थिए । त्यसबेला उनले ‘चीनले अनुपयुक्त व्यापार अभ्यास गरेको र बौद्धिक सम्पत्ति चोरी गरेको’ आरोप लगाएका थिए । अब पनि उनले पहिलाको आफ्नो नीतिमा कुनै पनि परिवर्तन गर्ने देखिँदैन । उनको नीति विदेशबाट आउने अधिकांश सामग्रीमा १० देखि २० प्रतिशत कर लगाउने योजना रहेको बताइसकेका छन् । चीनबाट आयात गरिने सामानहरूमा ६० प्रतिशत कर लगाउने ट्रम्पको योजना छ ।मतदातालाई सम्बोधन गर्दै ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महŒवपूर्ण दिनका रूपमा सम्झने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो चारवर्षे कार्यकाल अमेरिकाका लागि स्वर्णयुग (गोल्डेन एज) हुने दाबी गरे । रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड जे ट्रम्पले फ्लोरिडामा आफ्नो चुनावी अभियानको मुख्यालयमा उपस्थित नागरिकलाई सम्बोधन गरेका छन् । चुनावी नतिजा आफ्नो पक्षमा आउने सम्भावना निकै बलियो भएपछि ट्रम्प आफ्ना समर्थकलाई सम्बोधन गर्न फ्लोरिडा पुगेका थिए । ‘यो अमेरिकाका लागि स्वर्णयुग हुनेछ,’ ट्रम्पले भने, ‘यो अमेरिकी जनताका लागि ठूलो विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान् बनाउन सक्षम बनाउँछ, अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’ दुवै सदनमा रिपब्लिकन पार्टीको सम्भावित जितलाई संकेत गर्दै ट्रम्पले सो अभिव्यक्ति दिएका हुन् । भान्सले पनि सम्बोधन गर्दै यो जित ठूलो राजनीतिक पुनरागमन भएको बताए । ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीका ‘न्यु स्टार’ भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गजबका मान्छे हुन् ।’ उनले आफ्नी पत्नी मेलानियाको पुस्तकको प्रशंसा गर्दै भने, ‘उनले निकै राम्रो गरेकी छन् ।’ सम्बोधनका क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । ट्रम्पले आफ्ना मतदातालाई धन्यवाद दिँदै भने, ‘हामीले त्यो गरेर देखायौं, जुन मानिसहरूलाई असम्भव लागिरहेको थियो ।’ उनले सम्बोधनका क्रममा देशको सबै समस्या समाधान गर्ने बताए । उनले भने, ‘एकपटक अमेरिका फेरि महान् बन्नेछ ।’ उनले अलास्का, नेवादा र एरिजोनामा जित हासिल गर्नु आफ्ना लागि महत्वपूर्ण कुरा भएको बताए । ‘यो अविश्वसनीय छ, म अमेरिकी नागरिकको परिवार र उनीहरूको भविष्यका लागि लड्नेछु,’ ट्रम्पले भने, ‘आगामी ४ वर्ष अमेरिकाका लागि महत्वपूर्ण छ ।’ श्रीमती मेलानियाका साथै परिवारका सदस्यलाई धन्यवाद दिएका उनले जेडी भान्सलाई उपराष्ट्रपतिका रूपमा प्रस्तुत गरे । अमेरिकी रिपब्लिकन नेता डोनाल्ड जे ट्रम्पले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति कमला ह्यारिसमाथि विजय प्राप्त गरेको बताउँदै विश्वका नेताहरूले उनको प्रशंसा गरेका छन् । राष्ट्रपतीय निर्वाचनको मत परिणाम’bout औपचारिक रूपमा घोषणा भइनसकेको भए पनि उनलाई बधाई दिनेक्रम सुरू भएको हो । भोन डेर लेयेनले ट्रान्सएटलान्टिक एजेन्डामा सँगै भएर एक बलियो काम गर्ने पनि इच्छा व्यक्त गरेकी छन् । त्यसैगरी, उत्तर एटलान्टिक सन्धि संगठन (नाटो)का प्रमुख मार्क रुटले ट्रम्पलाई बधाई दिँदै उनको सत्तामा पुनरागमनले गठबन्धनलाई ‘बलियो’ राख्न मद्दत पुग्ने बताएका छन् । युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयेनले ट्रम्पलाई बधाई दिँदै वासिङ्टन र ब्रसेल्सले ‘बलियो ट्रान्सएटलान्टिक एजेन्डा’मा मिलेर काम गर्ने आशा व्यक्त गरेकी छन् । ‘म डोनाल्ड जे ट्रम्पलाई हार्दिक बधाई दिन्छु’, एक्समा उनले भनेकी छन्, ‘ईयू र अमेरिका असल मित्रभन्दा माथि एकअर्काका भरपर्दा सहयोगी पनि हुन्, हामी हाम्रा जनताबीचको साँचो साझेदारीमा बाँधिएका छौं, जसले ८० करोड नागरिकलाई एकतामा बाँधेको छ ।’ फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंले राष्ट्रपति ट्रम्पलाई बधाई दिँदै भनेका छन्, ‘हामीले आगामी ४ वर्षसम्म सम्मान र महत्वाकांक्षाका साथ उहाँसँग काम गर्न तयार छौं, तपाईंको र मेरो सम्बन्धले थप शान्ति र समृद्धिका लागि विश्वासको लेखाजोखा गर्नेछ ।’ त्यसैगरी, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई ‘प्रभावशाली विजय’का लागि बधाई दिँदै आफ्नो कार्यकालले युक्रेनमा न्यायोचित शान्ति ल्याउने विश्वास व्यक्त गरेका छन् । ‘म राष्ट्रपति ट्रम्पको विश्वव्यापी मामिलामा शक्तिका माध्यमबाट शान्ति दृष्टिकोणको प्रतिबद्धताको सराहना गर्छु, यही सिद्धान्तले युक्रेनमा न्यायोचित शान्ति ल्याउनसक्छ,’ जेलेन्स्कीले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ । परिणाम ट्रम्पको पक्षमा देखिएसँगै चीनले अमेरिकासँग ‘शान्तिपूर्ण सहअस्तित्व’को आशा गरेको बताएको छ । ‘हामी पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै पक्षको हितका लागि सहकार्यको सिद्धान्तमा आधारित चीन–अमेरिका सम्बन्धलाई निरन्तरता दिनेछौं,’ चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नियमित ब्रिफिङमा भनेका छन्, ‘हामी अमेरिकी जनताको रोजाइको सम्मान गर्छौं ।’ इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई पूर्वअमेरिकी नेताका लागि ऐतिहासिक पुनरागमन र अमेरिका–इजरायल गठबन्धनको नयाँ सुरुवात भएको बताएका छन् । नेतन्याहूको कार्यालयद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, ‘इतिहासको सबैभन्दा ठूलो पुनरागमनका लागि बधाई ! ह्वाइटहाउसमा तपाईंको ऐतिहासिक पुनरागमनले अमेरिकाका लागि नयाँ सुरुवात प्रदान गर्छ र इजरायल र अमेरिकाबीचको महान् गठबन्धनप्रति एक शक्तिशाली पुनः प्रतिबद्धता प्रदान गर्छ, यो ठूलो विजय हो ।’ उनले अगाडि भनेका छन्, ‘उहाँको नेतृत्व हाम्रो गठबन्धनलाई बलियो बनाउन फेरि महत्वपूर्ण हुनेछ, म नाटोमार्फत शक्तिका माध्यमबाट शान्तिलाई अगाडि बढाउन उहाँसँग फेरि काम गर्न उत्सुक छु ।’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको राष्ट्रपति पदमा विजयी भएकामा डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘मेरा मित्र डोनाल्ड ट्रम्पलाई ऐतिहासिक चुनाव जितेकामा हार्दिक बधाई †’ मोदीले अगाडि लेखेका छन्, ‘तपाईंको अघिल्लो कार्यकालका सफलताजस्तै म भारत–अमेरिका व्यापक वैश्विक र रणनीतिक साझेदारीलाई अझ सुदृढ पार्न हाम्रो सहयोगलाई अगाडि बढाउन उत्सुक छु, आउनुहोस् हामीसँगै हाम्रा जनताको हित, विश्वव्यापी शान्ति, स्थिरता र समृद्धिका लागि काम गरौं ।’ राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड जे ट्रम्पलाई बधाई दिएका छन् । बुधबार सामाजिक सञ्जाल एक्समा बधाई दिँदै राष्ट्रपति पौडेलले नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा आफू विश्वस्त रहेको बताएका छन् । राष्ट्रपति पौडेलले लेखेका छन्, ‘संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका रूपमा दोस्रो कार्यकालका लागि तपाईंलाई सफलताको शुभकामना ! तपाईंको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा म विश्वस्त छु ।’ प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार राष्ट्रपतिले ट्रम्पलाई दिएको शुभकामना सन्देशमा ‘तपाईंको नेतृत्वमा विश्व शान्ति कायम हुनेछ भन्ने अपेक्षा छ’ भनेका छन् ।